नेपाल भूपरिवेष्ठिट मुलुक भएकाले रहस्यमयी डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरा नै यहाँका प्राकृतिक देन हुन्। सगरमाथादेखि माछापुछ्रेसम्म सेफोक्सुन्डोदेखि रारासम्म अनि लुम्बिनीदेखि पोखरा हुँदै थुप्रै सम्पदाले सज्जित छ, नेपाल। यस अर्थमा नेपाल पर्यटकीय दृष्टिकोणबाट मनमोहक रहेकामा शंका छैन। एकाध घण्टामै मौसमको अकल्पनीय परिवर्तन, सयौँ जातजातिका रिवाज र संस्कृति अनि मान्छेभन्दा पनि बढी देवीदेवताका मन्दिर यहाँ पर्यटक लठ्याउन काफी छन्।
तर विडम्बना, यो प्रचुर सम्भावनाको भरपुर उपयोग गर्न नेपाल चुकिरहेको छ। भर्खरै पोखरेली पर्यटन व्यवसायीले गरेका गुनासाले पनि हामी यस्तो अवसर गुमाइरहेका छौँ भन्ने पुष्टि हुन्छ। जनसंख्या वृद्धि, आम्दानीमा आइरहेको परिवर्तन र घुमफिरप्रति बढ्दो अभिरुचिका कारण पर्यटक प्रत्येक वर्ष बढ्नुपर्ने हो तर यो सामान्य प्रवृत्ति पनि पोखराको पर्यटकीय क्षेत्रमा भने लागु भएन। जसले पर्यटन व्यवसायीलाई चिन्तित तुल्याउनु स्वाभाविक हो। र, यो अवस्था पोखराका निम्ति मात्र होइन समग्र देशकै निम्ति हो।
नेपाल यस्तो भाग्यमानी देश हो जसको उत्तरमा रहेको चीन र बाँकी तीन दिशामा भारत विकासको तीव्र गतिमा लम्किरहेका छन्। यी दुवै देशका जनसंख्या अर्बभन्दा माथि छ। आर्थिक हिसाबले यी मुलुक तीव्र गतिमा अगाडि बढिरहेका छन्। यी मुलुकमा आर्थिक गतिविधि बढेसँगै घुमक्कड मानिस पनि बढेका छन्। यी दुई यस्ता मुलुक हुन् जहाँका लाखौँ मानिस प्रत्येक दिन विश्व भ्रमणमा भइरहेका हुन्छन्। जसले विश्व पर्यटन व्यवसायमा ठूलै योगदान पुर्याइरहेका छन्।
नेपाल सबैभन्दा नजिकको देश हो। कौतुकमय दृश्यले संसारलाई लोभ्याउने सामथ्र्य राख्छ। केही दिनमै मुख्य मुख्य थलोहरू घुम्न र दृश्यावलोकन गर्न सकिन्छ । तर पनि यहाँ यी दुई देशका अपेक्षा गरे जति पर्यटक आइरहेका छैनन् । अझ विशेषगरी केही वर्षमै विश्वकै पहिलो अर्थतन्त्र हुने प्रक्षेपण गरिएको चीनका नागरिक त बुद्ध भूमि भएका कारण पनि नेपाल घुम्न भनेपछि मरिहत्ते गर्छन् । तर पनि उनीहरूको उल्लेख्य भ्रमण हुन सकेको छैन । पहिलो कुरा त नेपाल आउने चिनियाँ संख्या बढ्न सकेको छैन । अझ त्यसमाथि नेपाल आउनेमध्ये पोखरा कति पुग्छन् भन्ने व्यवस्थित तथ्यांक पनि कतै छैन । यो अवस्थाले पोखराका पर्यटन व्यवसायीलाई चिन्तित तुल्याएको छ।
कारण पनि पत्ता लगाएका छन् पोखरेलीले। चिनियाँहरू नेपाल आउन विमानमा जति भाडा तिर्नुपर्छ, त्यति भाडाले थाइल्यान्ड, भियतनाम, कम्बोडिया र श्रीलंका डुल्न पुग्दोरहेछ। अर्थात् नेपाल आउँदा विमानलाई मात्र तिर्नुपर्ने करिब एक लाख रुपियाँले अरू सबै मुलुक घुम्न पुग्ने भएपछि पर्यटकहरू त्यतै आकर्षित हुनु कुनै अनौठो विषय पनि रहेन। अझ अचम्म त काठमाडौँ आइसकेपछि पनि यहाँबाट पोखरा जान नेपालीका लागि भन्दा निकै बढी तिर्नुपर्छ। त्यसैले महँगो यात्रा रुचिमा नपर्नु कुनै अनौठो विषय भएन।
पर्यटक आकर्षित गर्ने विभिन्न उपाय हुन्छन्। यो क्षेत्र आतिथ्यतासँग जोडिएकाले प्रत्येक गतिविधि निगरानीयोग्य हुने गर्छ। एउटा गाइडले बोल्ने शैलीदेखि होटलको रिसेप्सनमा बस्नेको मन्द मुस्कानसमेतले धेरै फरक पार्छ। त्यसैले पर्यटकलाई जति खुसी तुल्यायो र आकर्षित गर्न सक्यो उति उति उनीहरूको संख्या बढ्ने हो। जसमध्ये यात्रालाई सहज, सुविधाजनक र कम खर्चिलो तथा गुणस्तरीय बनाउनु पनि उत्तिकै आवश्यक छ। यसका लागि नेपालले चिनियाँ पर्यटकलाई लक्षित गरेर हवाई भाडामा पुनर्विचार गर्नु उत्तम उपाय हुनेछ।
पर्यटन व्यवसायलाई केही व्यक्तिको नाफा/घाटासँग मात्र जोडेर हेर्नेहरू पनि धेरै छन्। खासमा यो रोजगारीको ठूलो क्षेत्र पनि हो। विश्वलाई आफ्नो मुलुक चिनाउने महŒवपूर्ण उद्योग हो। त्यसैगरी मुलुकको अर्थतन्त्रलाई दरिलो बनाउने माध्यमसमेत हो। यी यावत् पक्षलाई विचार गरी पर्यटकलाई, अझ विशेष गरेर चिनियाँ पर्यटकलाई आकर्षित गर्नेखालका प्याकेजहरू ल्याउनुपर्छ। अनि नेपाल आउने यस्ता पर्यटकलाई पोखरा, लुम्बिनीलगायतका प्रसिद्ध थलो घुम्न प्रेरित गर्नुपर्छ। स्मरणीय छ, चीन र भारतका एक÷एक प्रतिशत मात्र स्तरीय पर्यटक नेपाल आउनु भनेको दुई करोडभन्दा बढी स्तरीय पर्यटक आउनु हो। यस्तो अवस्था सिर्जना गर्न सकियो भने हामीले अरू पर्यटक भित्रिएनन् भनेर चिन्ता गर्नै पर्दैन।
प्रकाशित: १६ जेष्ठ २०८१ ०६:०५ बुधबार