विश्वकै प्रदूषित सहरको सूचीमा राजधानी काठमाडौँ पहिलो नम्बरमा रहेको समाचार प्रकाशित भएपछि अधिकांश सर्वसाधारणले सरकार, राजनीतिक नेतृत्व र मेयरलाई बधाई दिए। कम्तीका एक क्षेत्रमा भए पनि राजधानीलाई पहिलो नम्बरमा पुर्याएको भनेर उनीहरूले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्।
जनस्वास्थ्यलाई गम्भीर असर पार्ने यो विषयमा सरकार र सम्बद्ध निकाय गम्भीर नभएकामा सर्वसाधारणको यो आक्रोश जायज छ। हुन पनि प्रदूषण नियन्त्रणमा विभिन्न नीतिगत व्यवस्था भए पनि तिनको कार्यान्वयन अत्यन्त कमजोर छ। शरीरका अधिकाश अंगलाई असर पार्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षहरूमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको संख्या बढेका छन्। राजधानीमा मात्र बर्सेनि पाँच हजारभन्दा बढी मानिसको मृत्युको कारक रहेको वायु प्रदूषण समाधानको प्रभावकारी समाधान खोजी हुन सकेको छैन। वायु प्रदूषणले मानिसको सरदर आयुमा समेत कटौती गरेको विभिन्न अध्ययनले देखाएका छन्। केही वर्षअघि प्रकाशित स्टेट अफ ग्लोबल एयरको प्रतिवेदनअनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार जनाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत ५ वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्ष उमेरमाथिका रहेको अध्ययनले देखाएका छन्। यी तथ्यांकले वायु प्रदूषण कति भयावह बन्दै गएको छ भन्ने देखिन्छ।
यो समस्या समाधानको खोजी गर्दा यसका कारकको पहिचानसहित नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ। भौगोलिक अवस्थितिका कारण काठमाडौँ उपत्यकामा उत्सर्जन हुने प्रदूषण तथा धुलो र धुवाँका कण जमिनको तहभन्दा माथि तैरिरहन्छन्। वायु प्रवाहको अभाव तथा पानी नपर्दाका अवस्थासम्म उपत्यका खाल्डोको वायुमण्डलमा यी विषाक्त कण रहिरहन्छन्। यसरी भौगोलिक हिसाबले राजधानी खाल्डोमा वायु प्रदूषणको जोखिम उच्च रहँदै आएको छ। यसबाहेक, राजधानीमा भारतको विभिन्न ठाउँबाट हावाको बहावसँगै प्रदूषित हावा पनि भित्रिने गरेको छ। त्यो हिसाबले यो समस्या स्थानीय मात्र नभै सीमापारिको गतिविधिसँग समेत जोडिएको छ।
सीमापारका गतिविधि र राजधानी खाल्डोको भौगोलिक अवस्था हाम्रो नियन्त्रणमा नभए पनि प्रदूषण बढाउनमा हाम्रा आफ्नै गतिविधी मुख्य जिम्मेवार छन्। तिनलाई तत्काल नियन्त्रण गर्न सकिन्छ। विशेषगरी डिजेलमा आधारित सवारी साधनले गर्ने उत्सर्जन, वनमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणको प्रमुख कारण मानिँदै आएको छ। यसैगरी राजधानी सहरका बाटा सधैँ निर्माणाधीनका बहानामा र धुलाम्य छन्।
प्रभावकारी नियमन तथा कम उत्सर्जन गर्ने सवारी साधनलाई प्रोत्साहन गरेर सवारी साधनले गर्ने उत्सर्जन घटाउन सकिन्छ। विद्युतीय गाडीको प्रयोग पछिल्ला दिनमा बढेको छ। तर ठूलाखाले सार्वजनिक बसहरूलाई विद्युतीय बनाउन ठोस पहल हुन सकेको छैन। अझै पनि राजधानीमा प्रदूषणकारी इँटा उद्योग सञ्चालनमा छन्। यिनलाई प्रतिस्थापन गर्न जरुरी छ। जनचेतना तथा नागरिक स्तरको हस्तक्षेपबाट वन डढेलो पनि नियन्त्रण गर्न सकिन्छ। अझै पनि खेतबारीमा सुकेका घाँसपात बाल्ने कार्य आमप्रचलन जस्तै रहेको छ। यसलाई पनि नियमनकारी व्यवस्था र सचेतनामार्फत रोक्न सकिन्छ। प्रदूषण गर्ने व्यक्ति, कलकारखाना तथा निकायमाथिको कमजोर अनुगमन, कानुनको अपर्याप्त कार्यान्वयन, नागरिकमा प्रशस्त जानकारी अभाव आदिका कारण वायु प्रदूषण न्यूनीकरण जटिल बनेको छ।
सार्वजनिक सरोकार र जनस्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध राख्ने यो विषयमा गरिने खेलाँची कुनै पनि हालतमा सह्य हुन सक्दैन। यी विषयमा तीन तहको सरकार, निजी व्यवसायी तथा उद्योगीहरू एवं नागरिक समाज र समाचार माध्यमलगायत सबै सरोकारवालाले घनीभूत र सार्थक छलफल गर्न आवश्यक छ। नागरिक स्तरको चासो र चिन्ताले यो समस्या समाधनमा सहयोग पुग्छ। सँगसँगै, वायु प्रदूषण व्यवस्थापन राजनीतिक दल र सरकारको प्राथमिक विषय बन्न सकेको छैन। यो पनि अर्को चिन्ताको विषय हो।
वायु प्रदूषण नियन्त्रणको सवालमा विभिन्न ऐन तथा नीतिगत व्यवस्था तर्जुमा नगरिएका होइनन्। काठमाडौँ उपत्यकाका लागि उपत्यकास्तरीय वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासमेत लागु गरिएको छ। तर तिनको कार्यान्वयन अत्यन्त कमजोर छ। यो सन्दर्भमा तीन तहकै सरकारले तत्काल कार्ययोजना बनाएर तिनको प्रभावकारी कार्यान्वयन गर्न अत्यावश्यक भैसकेको छ। राजनीतिक नेतृत्वको प्रतिबद्धता, नागरिक समाजको सचेतना र खबरदारी सँगसँगै समग्र समाजले यो चुनौतीलाई सम्बोधन गर्न ढिलो गर्नु हुँदैन। गम्भीर हुने र ठोस प्रयास गर्ने सबैभन्दा उपयुक्त समयचाहिँ अहिल्यै हो।
प्रकाशित: २७ चैत्र २०८० ०६:०५ मंगलबार