coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

थारू जनमतमाथिको अपमान

यतिबेला नेपालको राजनीतिमा देखिएका विसंगति र विकृतिले क्रमशः सीमा पार गरिरहेका छन्। धेरै राजनीति गर्नेहरू स्वयं भ्रष्टाचारमा संलग्न देखिएका छन्।  बिचौलिया र तस्करसँग मिलेमतो गर्नुलाई आफू÷आफूबीच प्रतिस्पर्धाको विषय बनाउँदै आएका छन्। नेतृत्वमा सधैँ आफू मात्र हाबी हुने परम्परा बसाल्न रुचि देखाउँदै आएका छन्। रातारात गठबन्धन र कित्ता फेर्नुलाई सामान्य तुल्याएका छन्। नेतृत्वलाई राणाहरूभन्दा पनि तल गिरेर वंशमा सार्ने प्रपञ्च गर्दै आएका छन्। र, यी सबैको एकसूत्रीय मनसाय भनेको आफू मात्र सत्तामा रहने, आफैँलाई मात्र शक्ति चाहिने र बाँकी सबै भुसुना हुन्, केही गर्न सक्दैनन् भन्ने नै हो।

यतिखेर यस्तो रोगले नेपालका साना÷ठूला, लोकतान्त्रिक-गैरलोकतान्त्रिक, केन्द्रीय÷क्षेत्रीय, क्रान्तिकारी-पहिचानवादी, राजावादी÷गणतन्त्रवादी सबै सताइएका छन्। यो रोगले थलै पारेकोचाहिँ यतिबेला नागरिक उन्मुक्ति पार्टी हो। जसको विवाद छताछुल्ल भएको छ। विशेषगरी न्यायालयबाट हत्यारा सावित भइ कारागार जीवन व्यतीत गरिरहेका बेला राष्ट्रपतिबाट माफी पाएर उन्मुक्ति पाएका रेशम चौधरी र पार्टी अध्यक्षसमेत रहेकी  उनकी पत्नी रञ्जिता श्रेष्ठबीचको लडाइँ यतिबेला जगहँसाइको विषय बनेको छ। साथै राजनीतिप्रतिको भद्दा मजाक पनि।

जानकारीअनुसार रेशम निवर्तमान सत्ता गठबन्धन अर्थात् नेपाली कांग्रेससँग मिलेर जान चाहिरहेका छन् तर रञ्जिताको मत भने वर्तमान सत्ता गठबन्धन अर्थात् एमाले-माओवादीसँग मिलेर जाने पक्षमा छ । उनीहरूका यिनै दुई ध्रुवीय लाइनका आधारमा पार्टीको एउटा पंक्ति अर्थात रेशमको समूहले सुदूरपश्चिम प्रदेश सरकारमा आफैँ सहभागी भएर कांग्रेस नेतृत्वको सरकारलाई साथ दिएको छ भने रञ्जिता समूहले वर्तमान सत्ता गठबन्धनलाई विश्वासको मत दिएको छ। अनि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकारमा सामेल हुन तथा विश्वासको मत दिन नहुने अडान राख्दै आएको छ। यसरी हेर्दा रञ्जिता वर्तमान सत्ता गठबन्धनसँग मिलेर संघीय मन्त्री हुन चाहन्छिन्। उता रेशममा भने आफू सरकारमा जान नपाउने भएकाले केन्द्रीय सरकारभन्दा पनि प्रदेश सरकारमा सहभागी हुने रहर देखिन्छ। भलै उनको दलका केही नेताले उनी कांग्रेसको लोभलालचमा फसेको बताउँदै आएका छन्। सोमबार मात्र रेशमले आफूहरूलाई मार्नेसमेतको धम्की दिएको रञ्जिता पक्षधरले दाबी गर्दै आएका छन्।

नागरिक उन्मुक्ति पार्टीको जन्म टीकापुर घटनासँग जोडिएको छ। थारू समुदायले थरुहट–थारूवान प्रदेशको माग गर्दै पश्चिम नेपालको कैलाली–कञ्चनपुर क्षेत्रमा आन्दोलन गरेका बेला आन्दोलनकारीको आक्रमणमा परी २०७२ भदौ ७ गते एक नाबालक र सात जना सुरक्षाकर्मी मारिएका थिए। न्यायालयले घटनाका नाइकेका  रुपमा रेशम चौधरीलाई ठहर गर्‍यो। उता थारू समुदायमा भने आफ्नो समुदायको नेतालाई षडयन्त्र गरेर फसाइएको भन्दै आक्रोश उत्पन्न भयो । सत्तासँगको यही प्रतिरोध र अधिकारप्राप्तिका लागि भन्दै खुलेको पार्टी हो नागरिक उन्मुक्ति। रेशम दम्पतीको नेतृत्वमा खुले पनि यो दलप्रति आमथारू समुदायको सहानुभूति रहँदै आएको छ।

त्यसैले यतिबेला सत्ता–राजनीतिका खातिर पार्टीभित्र श्रीमान् र श्रीमतीबीचको झगडाले सर्वसाधारणबीच जुन रमिता देखाइरहेको छ, त्यो समग्र थारू समुदायमाथिको अपमान छ। उनीहरूको अधिकार प्राप्तिको भोकमाथिको लात हो, वर्षौँदेखि जेलिएको अन्यायबाट मुक्ति पाउने समुदायको आशामाथिको तुषारापात हो। तर, यसको बिजारोपण भने पहिल्यै भइसकेको थियो। स्वभाविकरुपमा थारू समुदायले पीडित मानेका रेशमले न्याय पाउनुपर्ने थियो। तर, यसका लागि आफ्नै श्रीमतिलाई राजनीतिक नेतृत्वको बागडोर दिनु, बुबालाई टिकट दिलाउनु परम्परागत नातावाद राजनीतिकै निरन्तरता थियो। नाम नागरिक उन्मुक्ति भने पनि यो पार्टीले परिवारवादबाटै मुक्त हुन सकेन।

सबैलाई हेक्का हुनुपर्छ, रेशम र रन्जिताको आजको राजनैतिक हैसियत निमार्णमा थारू समुदायको रगतपसीना र बलिदानीको देन छ। त्यसैले  जारी अराजनीतिक हर्कत उनीहरूले तत्काल बन्द गर्नुपर्छ। थारू समुदायप्रति माफी माग्नुपर्छ र संरचनात्मक विभेद भोगिरहेको यो समुदायको अधिकार प्राप्तिका लागि आफूलाई प्रतिबद्ध तुल्याउनुपर्छ। नत्र कालान्तरमा नागरिक उन्मुक्ति पार्टीको अवसान मात्र होइन, थारू समुदायको राजनीतिक विवेकमाथि पनि शंका बढ्नेछ र अन्ततः आज प्राप्त उपलब्धि  पनि गुम्ने खतरा निम्तिने छ।

प्रकाशित: २१ चैत्र २०८० ०६:२५ बुधबार

Download Nagarik App
Download Nagarik App