२४ वैशाख २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

स्वयं अनुशासनहीन त्रिवि

एउटा परीक्षाको नतिजा प्रकाशित हुन कति समय लाग्ला? यहाँ ११ महिनामा पनि अझै परीक्षाफल प्रकाशन भएको छैन। हो, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रथम वर्षको परीक्षा गत वैशाखमा लिइएको थियो। घुमिफिरी अर्को वैशाख आउने बेला भइसक्यो तर परीक्षाको नतिजा भने सार्वजनिक हुन सकेको छैन। यसबाटै थाहा हुन्छ कि त्रिविको वर्तमान गति कस्तो छ भन्ने।

यस्तो अवस्थाले मुलुकका हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड हुन पुगेको छ। खासमा स्नातक चार वर्षभित्रमा पूरा गर्नुपर्छ। विद्यार्थी, अभिभावक, शिक्षक सबै यही समयावधिको क्यालेन्डरअनुसार योजना बनाउँछन् तर त्रिविकै कारण परीक्षाफल नै प्रकाशित नभएपछि सबैको क्यालेन्डरले काम नगर्ने भयो। सोझो अर्थमा भन्दा चार वर्षे स्नातकको अवधि बढेर ६ वर्षेमा पुग्ने भयो। यसबाट खेर गएको सुनौलो समय आर्थिक भारको क्षति कसले पूर्ति गर्छ?

कुनै पनि संगठित निकायको कतिबेला के गर्ने भन्ने योजना हुन्छ। यसरी बनाइने आवधिक योजनाअनुसार सबै काम सञ्चालन हुने गर्छन्। मुलुककै सबैभन्दा जेठो विश्वविद्यालय जुन कुनैबेला नेपालको गौरवलायक संस्था थियो, यसको पनि पूर्वयोजना नहुने कुरै भएन। तर किन त्रिविले योजना पछ्याउन सकिरहेको छैन? मुख्य प्रश्न यो हो। अनि यसरी योजना पछ्याउन नसक्नु नालायकी हो कि होइन? यो अर्को गम्भीर प्रश्न। तेस्रो महत्त्वपूर्ण प्रश्नचाहिँ त्रिविको अक्षमताका कारण विद्यार्थी, अभिभावक तथा सिंगो राष्ट्रमाथि पर्न गएको असरको जिम्मेवारी कसले लिन्छ?

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले समयमै परीक्षाको नतिजा सार्वजनिक गर्न नसक्नुमा जनशक्ति अभावलाई दोष देखाएको छ। त्रिविले साउनदेखि कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गर्नु परीक्षाफल प्रकाशनमा ढिलाइको अर्को कारण बताइएको छ। ठीक छ, २६६ मध्ये २२२ जनामात्र कार्यरत छन् रे, के यो संख्या कम हो? अर्कोतिर परीक्षा जस्तो महत्त्वपूर्ण विषयमा कर्मचारी अभावलाई दोष दिएर पन्छन् मिल्छ? कर्मचारी विद्यार्थीले अभाव गराइदिएको हो?, अभिभावकले राख्न नदिएका हुन्? सरकारले नदिएको हो भने यो तारतम्य मिलाउने अभिभारा पनि त्रिविकै हो कि होइन? ‘मकै खाने भालु, कुटाइ खाने कालु’ भनेझैँ त्रिवि वा अन्य पक्षको कमजोरीको सजायचाहिँ विद्यार्थीलाई दिन मिल्छ? तर विडम्बना, यतिबेला विद्यार्थी र अभिभावक आफूले नगरेको गल्तीको सजाय भोगिरहेका छन्।

जहाँसम्म त्रिविले अतिरिक्त सेवासुविधा कटौती गरेपछि काम प्रभावित भएको गुनासो छ, त्यो त्रिविको अर्को लापरबाही हो। आफ्ना कर्मचारीलाई उसले जिम्मेवारीअनुसार काम लगाउन नसकेको प्रमाण हो। जिम्मा दिएको काम पूरा गराउन सक्नु नेतृत्वको खुबी हो। तलव भत्ता खाएर बसेपछि जिम्मेवारी दिएको काम पूरा गर्नैपर्छ। अतिरिक्त सेवासुविधा दिए त्यही काम भ्याउने, नत्र नभ्याउने पनि कहीँ हुन्छ? खासगरी नेपालका कर्मचारी दिनभर गफ गरेर वा व्यक्तिगत काम गरेर बस्छन्। अनि जे तोकिएको वा जिम्मेवारीको काम हो, त्यो गर्नचाहिँ अतिरिक्त पैसा माग्ने चलन व्याप्त छ। त्रिवि पनि यो रोगबाट अछूतो छैन। दिनभर कामको चाप देखाउने अनि अतिरिक्त भत्ता/सुविधाका लागि दबाब सिर्जना गर्ने परिपाटी नेपालको सन्दर्भमा पुरानै हो। त्यसैले जे कामका लागि राखिएको हो, त्यही काम गराउन नसक्नु त्रिवि नेतृत्वको अक्षमताको अर्को ज्वलन्त उदाहरण हो।

उसै त नेपालको शिक्षा ‘गरिखाने’ खालको नभएको र प्रमाणपत्र मात्र उपलब्ध हुनेखालको भएको भन्न्ने व्यापक आलोचना छ। त्यसमाथि प्राज्ञिक थलो हुनुपर्ने त्रिवि राजनीतिक दलका शिक्षक, कर्मचारी र विद्यार्थीका आआफ्नै स्वार्थका कारण थिलथिलो बनेकाले प्रत्येक दिन स्तरीयता ओरालो लाग्दो छ। यही कारण विश्वास टुट्दा विद्यार्थी प्रत्येक दिन पढ्ने बहानामा विदेश हान्निइरहेका छन्। तर पनि त्रिवि भने सच्चिनु र सुध्रनुको सट्टा विवादित बन्दै जानु दुःखद पक्ष हो।

यतिबेला प्राध्यापक केशरजंग बराल नयाँ उपकूलपतिका रूपमा त्रिवि भित्रिएका छन्। लय गुमाएको त्रिविलाई सही पथमा ल्याउन उनलाई निकै कठिन छ। खासमा नेतृत्व चाहिने यस्तै अप्ठेरो परिस्थितिलाई काबुमा ल्याउन पनि हो। त्यसैले बरालले बरालिएको त्रिविलाई सही मार्गमा डोर्‍याउन सक्छन् कि सक्दैनन्, त्यसैमा त्रिविको मात्र हैन, बरालको समेत भविष्य जोडिएको छ। अर्थात् त्रिविमा व्याप्त दर्जनौँ चुनौती चिरेर उनी अघि बढ्न सके भने यसले आफ्नो गरिमा फर्काउन सक्छ। यस्तै पारा कायम रहिरह्यो भने यसलाई डुब्नबाट कसैले बचाउन सक्दैन। त्यतिबेला सबै सँगै डुब्नेछन्। यसर्थ पनि यी चुनौती पार गर्नु बरालका लागि अग्निपरीक्षा सावित हुनेछ।

प्रकाशित: ४ चैत्र २०८० ०५:४२ आइतबार

Download Nagarik App
Download Nagarik App