२४ वैशाख २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

नेपाललाई चिकित्सा पर्यटनको केन्द्र बनाऔं

बंगलादेशका मोहम्मद समिमको घरदेखि नेपालको लहान करिब ८ सय किलोमिटरको दूरीमा पर्छ। तर यो दूरी उनका लागि अब धेरै भएन किनकि लहानमा आँखाको उपचार स्तरीय, त्यो पनि सस्तोमा हुने सुनेपछि उल्टै खुसी भएर आए । आफ्नै देश मात्र हैन, भारतका विभिन्न अस्पतालमा समेत राम्रो उपचार हुन नसकेपछि उनी यहाँ आएका हुन्। यतिखेर उनी लहानले आफूलाई आँखाको ज्योति फर्काएरै पठाउने अगाध विश्वासले हौसिएका छन्।

उनी मात्र हैन, आँखाको ज्योति फर्कने विश्वासका कारण अन्य १८ जना बंगलादेशी नागरिक पनि लहान आएका छन्। जसमा १७ वर्षीय समिमदेखि विभिन्न उमेर समूहका व्यक्ति छन्। समिमले मोतियाविन्दुको शल्यक्रियापछि बायाँ आँखाबाट प्रष्ट देख्न थालेका छन्। जुन प्रयास भारतका विभिन्न अस्पतालमा सफल भएको थिएन। यही कारण पनि उनी र उनी जस्ता दृष्टि हासिल गर्न चाहनेका लागि लागि लहानको आँखा अस्पताल संसार देखाउने ‘भगवान’ सावित हुन सकेको छ।

यो लहानको त्यही सगरमाथा चौधरी आँखा अस्पताल हो जसले यसअघि पनि नेपालीको मात्र नभई हजारौँ भारतीयको समेत मनमुटु जितिसकेको छ। जहाँ भारतका विभिन्न अस्पतालमा सम्भव नभएको उपचार सफल हुन्छ। आँखाको शल्यक्रियाका लागि नेपाल, भारत र बंगलादेशमा मात्र हैन, विश्वमै अब्बल मानिन्छ यो अस्पताल। यही कारण पनि विश्वभरका आँखा बिरामीका लागि समस्याबाट मुक्ति मिल्ने तीर्थस्थल हुने क्रममा छ यो अस्पताल।

करिब ६० प्रतिशत भारतीय उपचार गराउन आउने यो अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध हुने जटिल शल्यक्रियासमेत हुने गरेको छ। त्यसैगरी भारतका अस्पतालमा ३०–३५ हजार लाग्ने उपचार यहाँ मात्र १२ सय रुपियाँमा उपलब्ध छ। नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित यो अस्पताल गैरनाफामूलक भएकाले पनि सस्तोमा गुणस्तरीय सेवा दिन सकिएको हो।

नेपाल गरिबी, विपन्नता, अभाव र हरेक पक्षमा अरूको भर पर्नुपर्ने मुलुकका रूपमा परिचित छ विश्व मानचित्रमा। तर केही यस्ता क्षेत्र छन् जसमा गर्व गर्ने हैसियत राख्छ। त्यस्तै एक क्षेत्रमध्ये एउटा आँखाको उपचार पनि हो । सन्दुक रुइत विश्व प्रसिद्ध आँखा चिकित्सक हुन् जसले हजारौँ मानिसलाई संसार देख्ने बनाएर लोभलाग्दो पुण्य कमाएका छन्। एकातिर सन्दुक जस्ता विशेषज्ञ अर्कोतिर लहानस्थित सबैको विश्वास जित्न सफल अस्पताल, र अन्य यस्तै पक्षको संयोजन गरेर थप अस्पताल निर्माण वा विस्तार गर्ने हो भने आँखा उपचारको केन्द्र नै बनाउन सकिन्छ नेपाललाई। जुन संकेत लहानको अस्पतालले देखाइसकेको छ।

यतिबेला आँखा उपचारका लागि आउने भारतीयको बढ्दो संख्याले अस्पताल सेवाको प्रशंसा मात्र बढेको हैन, त्यहाँको आम्दानी पनि केही वृद्धि हुन सकेको पक्कै छ। साथै आउने/जाने, बस्ने/खाने, औषधि/उपकरण किन्ने जस्ता कारण स्थानीय बजारको आर्थिक कारोबारसमेत वृद्धि हुन पुगेको छ। होटल/पाहुना घर चल्न सकेका छन्। जसलाई स्थानीय स्तरमा चिकित्सा पर्यटनले पारेको सकारात्मक प्रभावका रूपमा बुझ्न सकिन्छ।

असम्भव कुराको पछि लाग्नु भन्दा जे सम्भव छ, त्यसैमा टेकेर अघि बढ्नु बुद्धिमानी हुनेछ। अन्य रोगको उपचार गर्न नेपालीहरू विदेश हान्निइरहेका बेला आँखाको उपचार गर्नचाहिँ नेपाल नै जानुपर्ने धारणा स्थापित गर्ने सम्भावनामा छौँ हामी। यसले एकातिर सेवा प्रदान गर्ने अवसर प्राप्त हुनेछ भने अर्कोतिर मुलुकलाई ‘चिकित्सा पर्यटन’ को हब बनाउन सकिन्छ। पर्यटन शैक्षिक, सम्पदा, प्रकृति, सांग्रिला आदिका आधारमा मात्र प्रवद्र्धन हुने हैन, चिकित्सामार्फत पनि हुन सक्छ भन्ने सन्देश विश्वलाई प्रवाह गर्ने सुवर्ण अवसरसमेत हो यो। त्यसैले यो अवसरलाई भरमग्दुर सदुपयोग गर्न आजैदेखि योजना बनाइ अघि बढ्नु मुलुकको हित हुने कार्य हो। 

प्रकाशित: ६ फाल्गुन २०८० ०६:०२ आइतबार

Download Nagarik App
Download Nagarik App