१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

वैद्यखानाको पुनर्जीवन

‘हरियो वन, नेपालको धन’ भनिन्थ्यो कुनैबेला। यसको मतलव धन भन्नाले वनको काठ मात्र ठानिएको थिएन । जंगलमा पाइने वनजन्य पदार्थका कारण यो निकै ठूलो सम्पत्तिका रूपमा गनिएको थियो। यस्ता वनजन्य चिजबिजमध्ये जडीबुटी पनि मुख्य थियो। जसको उचित प्रयोगले मुलुकलाई समृद्ध तुल्याउन ठूलै भूमिका निर्वाह गर्ने सोचिएको थियो।

यही सोचकै परिणाम हो कि करिब साढे तीन सय वर्षअघि नै यस्तो जडीबुटीको प्रयोग गरी मुलुकमै आयुर्वेदिक औषधि बनाउने उद्देश्यले वैद्यखाना तयार पारिएको थियो। अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्‍थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।

तर अब यो वास्तविकता इतिहासमा सीमित हुने भएको छ। १६० थरीबाट घट्दै घट्दै गएर २०७९/८० मा मात्र २० थरी औषधि उत्पादन गर्ने अवस्थामा आइपुगेको यो कारखाना त्यसपछि ३ थरीमा झर्‍यो। झन् अहिले त त्यही तीन थरी पनि उत्पादन गर्न नसक्ने गरी थारो पल्टनु वास्तवमै चिन्ताको विषय हो। मुलुकमै प्रचुर मात्रामा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्ने र आफ्ना जनताको स्वास्थ्य अधिकारमा योगदान पुर्‍याउने उद्देश्यले त्यतिबेलै खोलिएको वैद्यखानाको गुणस्तर र शाखा कार्यालयहरू वृद्धि हुँदै जानुपर्ने हो तर भइरहेको उत्पादनसमेत बन्द हुने अवस्थामा पुग्नु सरकारी अक्षमताको पराकाष्टा हो।

अहिले वैद्यखाना कर्मचारी आउने र दिउसोभर चौरमा बसेर घाम तापेर जाने निकायमा परिणत भएको छ। यसरी उत्पादन हुन नसक्नुमा औषधि बनाउने जडीबुटी नहुनु बताइएको छ। अनि जडीबुटीका लागि टेन्डर नै हुन नसक्नुको कारणचाहिँ यो कार्यालय प्रमुखविहीन हुनु हो। त्यसैले यहाँ कहिले प्रमुख नियुक्त हुन्छन्, कहिले जडीबुटीका लागि टेन्डर खुल्छ, कहिले जडीबुटी आपूर्ति हुन्छ र कहिले औषधि बनाउने काम सुरु हुन्छ भन्ने कसैलाई पनि पत्तो छैन।

एकातिर चार महिनादेखि कारखाना बन्द छ। अर्कोतर्फ कर्मचारी कामबिहीन छन्। आम्दानी नभएकै कारण तीन महिनादेखि कर्मचारी र उनीहरूमा आश्रित परिवार आर्थिक तनाव बेहोर्न बाध्य छन्। समग्रमा भन्दा निकै लामो इतिहास बोकेको एउटा गौरवशाली निकाय खण्डहरमा परिणत हुने अवस्थामा छ। तर पनि यसतर्फ सरकारको ध्यान नपुग्नु पनि लापरबाहीको चरम संकेतका रूपमा देखापरेको छ।

नेपालको जडीबुटी ठूलो मात्रामा भारतलगायत तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ। नेपालकै निजी औषधि कारखानाहरूले समेत भरपुर उपयोग गर्ने गरेका छन्। पहिलो कुरा त हाम्रो बहुमूल्य जडीबुटी आफैँ प्रशोधन गर्ने र औषधि बनाउने क्षमता नहुँदा विदेश निर्यात गर्नुपरेको छ। जसका कारण थोरै पैसा लिएर ट्रकमा पठाएका आफ्नै जडीबुटीबाट बनेका औषधि धेरै पैसामा केही बोरामा आफैँ भित्र्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ थोरै भए पनि यहीँ प्रयोग गरिरहेको निकाय बन्द हुने अवस्था तुल्याएको छ। यसले जसरी बाँसबारी छाला जुत्ता, जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना, कृषि औजार कारखाना जस्ता उद्योग धराशायी तुल्याएर केही व्यक्ति/घराना पोस्ने राष्ट्रघाती काम भयो, कतै वैद्यखाना बन्द पार्ने नियत पनि त्यसैको निरन्तरता त हैन भन्ने शंका उत्पन्न भएको छ।

वैद्यखानाको अहिले समस्याको मुख्य कारण सरकारी लापरबाही देखिएको छ। सबैभन्दा पहिले यो कार्यालयमा योग्य प्रमुख नियुक्त गर्नुपर्छ। जसलाई कार्यसम्पादन सम्झौता गराएर लक्ष्य दिइ काम गर्ने प्रतिबद्धता व्यक्त गराउनुपर्छ। त्यसपछि ‘फास्ट ट्रयाक’बाट जडीबुटी टेन्डर गरी चाँडोभन्दा चाँडो उत्पादन थाल्नुपर्छ। एकातिर जडीबुटीको अधिकतम उपयोग अर्कोतर्फ स्तरीय उत्पादनमार्फत जनताको स्वास्थ्य अधिकार परिपूर्तिमा योगदान र मुनाफासमेत आर्जन गर्ने अवस्था कार्यालयको मुख्य सर्त हुनुपर्छ। तब मात्र आयुर्वेदिक औषधि आवश्यक पर्ने सर्वसाधारणका साथै ४३ जना कर्मचारीको समेत भविष्य सुखद हुन सक्छ।  

प्रकाशित: २२ पुस २०८० ००:३१ आइतबार

Download Nagarik App
Download Nagarik App