२६ वैशाख २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

नेपालको कूटनीतिक हार

यही साताको सुरुमा नेपाल आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस भ्रमण सकेर न्यूयोर्क फर्केका छन् । राष्ट्र संघका प्रमुख अधिकारीको यो भ्रमणले केही मात्रामा भए पनि विश्व मञ्चमा नेपालको आवाज मुखिरत भएको छ र नेपालको उपस्थिति देखिएको छ । महासचिव गुटेरेसले अबको केही सातामा संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालको जलवायु संकटलाई विश्वमाझ प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी महासचिवले नेपालको दिगो विकास, जलवायु परिवर्तन तथा शान्ति प्रक्रियालगायतका विषयमा देखाएका प्रतिबद्धता सराहनीय छ । यसलाई केही हदसम्म नेपालको कूटनीतिक सफलता मान्नुपर्छ ।  

तर यही साताको बुधबार नयाँ दिल्लीमा सम्पन्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकको पदमा नेपालका उम्मेदवारको लज्जाजनक हार भएको छ । यो चुनावी नतिजाले नेपालको कूटनीतिक क्षमतामा ठूलो प्रश्न उठेको छ । डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लेस्तेलगायतका ११ राष्ट्रलाई यो क्षेत्रीय कार्यालयले समेटेको छ । यसको प्रमुख पदका लागि भएको चुनावमा राष्ट्र संघले सैनिक शासन भएको म्यान्मारको सरकारलाई मान्यत नदिएका कारण अन्य १० देशले भाग लिएका थिए । डब्लुएचओका विश्वभर ६ क्षेत्रीय कार्यालय रहेकामा दक्षिणपूर्वी एशिया पनि एक हो ।  

भारतको राजधानी नयाँ दिल्लीमा मुख्यालय रहेको यो क्षेत्रीय कार्यालयले यो क्षेत्रका देशको स्वास्थ्यसम्बन्धी विकास र चुनौती सामना गर्न सहयोग पु¥याउँदै आएको छ । सम्बद्ध राष्ट्रका स्वास्थ्य मन्त्री सहभागी रहेका यो मतदानमा खसेको कुल १० मतमध्ये नेपालले मात्र २ मत पाएको थियो । नेपाली उम्मेदवारको प्रतिस्पर्धामा रहेकी बंगलादेशकी उम्मेदवार साइमा बाजेद (बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी) ले ८ मत प्राप्त गरेर आगामी ५ वर्षको कार्यकाल सुनिश्चित गरेकी छिन । हो, चुनावमा जीत–हार सामान्य मानिन्छ । तर कतिपय चुनाव देशको समग्र छवि, राजनीतिक तथा कूटनीतिक क्षमतासँग जोडिएका हुन्छन् । नेपाल सरकारले आधिकारिकरूपमा प्रस्तुत गरेका शम्भुप्रसाद आचार्य व्यक्तिगत हिसाबले चुनाव लडेका थिएनन् । यो चुनावमा नेपाल उम्मेदवार थियो । जनस्वास्थ्यविज्ञ तथा  

डब्लुएचओको मुख्यालयमा महŒवपूर्ण भूमिका निर्वाह गरेका आचार्य तुलनात्मकरूपमा प्रतिस्पर्धी पनि थिए । डब्लुएचओ क्षेत्रीय कार्यालयलाई नेतृत्व दिन र यो क्षेत्रका जनस्वास्थ्यसँग जोडिएका विषयलाई सम्बोधन गर्न उनी सक्षम मानिएका थिए । यसो हँुदाहुँदै पनि उनको हार भएको छ । सामाजिक सञ्जाल तथा समाचार शीर्षकमा यो घटनाको चर्चा चुलिएको छ । अधिकांशले यो हारलाई आचार्यको योग्यता र क्षमताको हार नभनेर नेपालको कूटनीतिक क्षमताको हार भनेका छन् ।  

हो, प्रधानमन्त्री शेख हसिनाका पुत्री भएका कारण उनलाई राजनीतिक तथा कूटनीतिक पैरवी गर्न सजिलो थियो । बंगलादेशी प्रधानमन्त्रीले पछिल्ला हरेक जस्तो अन्तर्राष्ट्रिय बैठकमा छोरी वाजेदलाई सँगै लगेर आफ्नो पक्षमा मतदान गर्न अनुरोध गदै आएकी थिइन् । त्यो हिसाबले उनीसँग तुलनात्मक लाभको स्थिति थियोे । तर नेपाल सरकारले आचार्यको पक्षमा जुन हिसाबले प्रभावकारी पैरवी गर्नुपर्ने थियो, त्यो नभएको आरोप लागेको छ । कूटनीतिक पैरवी कमजोर हुँदा नेपालले यसअघि आफ्नो समर्थनमा रहेका राष्ट्रलाई समेत यो चुनावमा गुमाएको छ । नागरिक समाजका कतिपय अभियन्ताले नेपालले भारत र बंगलादेशलाई नचिढ्याउन आफ्ना उम्मेदवारको पक्षमा खुलेर नलागेको आरोप लगाएका छन् । आधिकारिकरूपमा आफ्ना उम्मेदवार घोषणा गर्नु तर विजय सुनिश्चित गर्न आवश्यक प्रयास नगर्नु किमार्थ स्वीकार्य विषय होइन ।  

भनिन्छ, परराष्ट्र नीति देशको आन्तरिक नीतिको विस्तारित रूप हो । राजनीतिक खिचातानी र सरकारमा टिकिरहन हरेक तिकडम र खेल खेल्न माहिर हाम्रा दलहरूले आफ्नो परराष्ट्र नीति र कूटनीतिक क्षमतालाई समेत कमजोर पारेको आरोप लाग्दै आएको छ । परराष्ट्र नीति कुनै दलविशेषसँग मात्र सम्बन्धित विषय होइन, यो नेपालको समग्र नीति हो र निरन्तर जारी रहने विषय हो । हुन पनि नेपालको राहदानी विश्वमै अत्यन्त कमजोर दस्ताबेज मानिन थालेको छ । यसले पनि नेपालको समग्र साख गिर्दै आएको इंगित गर्छ ।  

कुनै पनि देश भूगोल, अर्थतन्त्र र सामरिक क्षमताका कारण सानो र ठूलो हुन सक्छ तर सार्वभौम देशको इज्जत, मानप्रतिष्ठा तथा साख यी विषयसँग जोडिएको हुँदैन । त्यो साख र प्रतिष्ठालाई कसरी कायम राख्ने र उचो गर्ने भन्ने विषय सम्बद्ध देशको रणनीतिक कौशलको विषय हो । यो सन्दर्भमा नेपालले आफ्नो समग्र कूटनीतिक क्षमता र साखलाई बलियो पार्न के गर्नुपर्छ, त्यो दिशामा तत्काल समीक्षा गरेर प्रभावकारी रणनीति अवलम्बन गर्न आवश्यक देखिएको छ ।  

प्रकाशित: १७ कार्तिक २०८० ००:१९ शुक्रबार

Download Nagarik App
Download Nagarik App