४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

श्रद्धाञ्जली सुवास!

मृत्यु अवश्यम्भावी छ। जन्मपछि मृत्यु दिनपछिको रातजस्तै हो। तैपनि यसलाई सहज मान्न सकिन्न। प्रियजनलाई गुमाउनुको पीडा आफैंमा ठूलो हुन्छ। सुवासचन्द्र नेम्वाङको असामयिक निधनले सबैलाई पीडा दिएको छ। मुलुकको राजनीतिका एक स्थापित नेता नेम्वाङको अन्तिम प्रस्थान यति चाँडै हुनु दुःखको विषय भएको छ।

नेपाली राजनीतिक आकासमा उदाएका नेम्वाङलाई शालिनताको प्रतिमूर्तिका रूपमा लिइन्थ्यो। कसैसँग पनि बिझ्ने गरी नबोल्नु उनको जीवन गहना थियो। हरेक समस्याको समाधान सहमति र सहकार्यमै देख्नु उनको दूरदर्शिता थियो। त्यति मात्र हैन, हरेक प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्नुपर्छ र सकिन्छ पनि भन्ने सोच उनको परिपक्वताको उदाहरण थियो। हिंसात्मक आन्दोलनमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र तुलनात्मकरूपमा धेरैलाई स्वीकार्य हुने नेपालको संविधान २०७२ जारी गर्न उनले निर्वाह गरेको भूमिका यसको साक्षी हो।

इलामका बासिन्दा सुवासले क्याम्पस पढ्दादेखि नै राजनीति सुरु गरेका हुन्। उनले क्याम्पसदेखि प्रतिनिधि सभासम्मका कुनै निर्वाचन हार्नुपरेन। यसबाट पनि उनी जनमनका प्रिय नेता थिए। उनकै दल नेकपा (एमाले)मा पनि उनी तुलनात्मकरूपमा सबैभन्दा कम विवादास्पद र धेरैद्वारा रुचाइएका थिए। २०६३ जेठ ४ गते जारी प्रतिनिधिसभा घोषणापत्रका एक मस्यौदाकारसमेत रहेका नेम्वाङले बृहत् शान्ति सम्झौतापछि माओवादीसमेत आबद्ध व्यवस्थापिका–संसद्को समेत प्रभावकारी नेतृत्व गरेका थिए। प्रतिनिधिसभा घोषणापत्र त्यस्तो ऐतिहासिक दस्ताबेज हो जसले मुलुकलाई संघीय लोकतान्त्रिक शासन व्यवस्थातर्फ अग्रसर गरायो।

शान्तिवादी सुवासलाई कडा नभएको आरोपसमेत लागेको हो पटक–पटक। तर पनि उनले अरूको लहैलहैमा लागेर कसैको प्रिय हुने रहरमा आफ्नो अडान छाडेनन्। प्रजातन्त्रमा सबैको कदर हुनुपर्ने र एक वा धेरै पक्षलाई चिढ्याएर गन्तव्यमा नपुगिने उनको स्पष्ट बुझाइ थियो। संविधान निर्माणको सफल अवतरणमा उनको बुझाइको योगदान धेरै छ। भर्खरै सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण बाटोमा आएको नेकपा (माओवादी) र अन्य दलबीच समन्वय गरेर संविधान सभालाई सुचारु गर्नु सहज थिएन। नेम्वाङको व्यक्तित्वकै कारण सहज भएको हो।

आफूले शक्ति प्राप्त गरेपछि त्यसलाई समाज र जनता जनार्दनको न्यायका खातिर अधिकतम प्रयोग गर्ने, यसैमा सबैको कल्याण चाहने र यी सबैको कुशल व्यवस्थापन गर्न सक्नु राजनयिक गुण हुन्। यो गुण सुवासमा थियो। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि उनी लगातार संसदमा प्रतिनिधि रहेका थिए। दुई कार्यकाल राष्ट्रियसभा सदस्य रहेका उनी त्यसपछि सधैं प्रतिनिधिसभा र संविधानसभामा निर्वाचित हुने थोरै नेतामध्येमा पर्छन्।

नेम्वाङमा समन्वयकारी, शालिन र सबैसँग सहकार्य गर्न सक्ने नेताको झलक आउँथ्यो। उनको जीवनकालमा मात्र होइन अझ निधनको खबरसँगै त्यो व्यक्तित्व सबैको आँखामा झल्किएको छ। सबैले उनलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा यही धारणा व्यक्त गरेका छन्। मुलुकका राजनीतिक नेता मात्र होइन सर्वसाधारणमा पनि उनको अभाव खड्किएको छ।

कसैको पनि जीवन सकारात्मक योगदानले मात्र भरिएको हुँदैन। नेम्वाङको हकमा उनीविरुद्ध बोलिहाल्नु पर्ने शब्द छैनन्। उनी दलमा हुँदा होस् वा संसदमा जहिल्यै कानुनका अक्षर र भावनालाई खुट्याइरहे। अप्रिय बोलिनहाल्ने मानिस भएका कारण केही प्रशंगमा उनको आवाजको खोजी भएको पनि हो। तर, उनले आफ्नो जीवनमा जे गरे त्यो सम्झना लायक रहेको छ। नेपाली राजनीतिको इतिहासले यो कालखण्डका एक योगदानकर्ता नेताका रूपमा उनलाई सम्झिरहने छ। सम्झनामा रहिरहने छन् सुवास। हार्दिक श्रद्धाञ्जली!

प्रकाशित: २७ भाद्र २०८० ००:११ बुधबार

Download Nagarik App
Download Nagarik App