३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

जी–२० को वैश्विक चिन्ता

विश्वका प्रमुख आर्थिक राष्ट्रहरूको समूह जी–२० को १८औँ शीर्ष बैठक आइतबार नयाँ दिल्लीमा सम्पन्न भएसँगै यसका उपलब्धिबारे चर्चा भइरहेको छ। विश्व जनसंख्याको ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत हिस्सा ओगट्ने यस क्षेत्रका राष्ट्रहरूको समूह बैठकले छलफल गर्ने विषय र लिने निर्णयले विश्वव्यापी महŒव राख्छ नै। छिमेकी भारतको राजधानीमा भएको यो बैठकका उपलब्धि र समग्र विश्वमा यसले पार्ने प्रभावबारे छलफल हुनु स्वाभाविक हो।

अध्यक्षता गर्ने मुलुक भारतले यो सम्मेलनलाई ‘वन अर्थ, वन फ्युचर एन्ड वन फ्यामिली’ अर्थात् ‘एकै विश्व, एकै भविष्य र एकै परिवार’ को नारा दिएको थियो। समग्रमा सम्मेलन ऐतिहासिक रहेको र यसले ‘ग्लोबल साउथ’ को नेतृत्वमा आफू स्थापित भएको भारतको दाबी छ। विशेषगरी रुस–युक्रेन युद्धका विषयमा फरक–फरक मत राख्ने समूहका राष्ट्रहरू अन्तमा जारी गरिने घोषणापत्रमा समेत सहमत नहुने शंका गरिएको सन्दर्भमा सम्मेलनको पहिलो दिनमै यो घोषणापत्रमा सहमति हुनुलाई सम्मेलन सफलताको सूचक मानिएको छ।  

रुस–युक्रेन युद्धबारे प्रयुक्त भाषामा सबै सहमत हुनुलाई पनि उपलब्धि मानिएको छ। घोषणपत्रमा सर्वसम्मतिले युक्रेनमा जारी युद्ध उल्लेख गरे पनि रुसको आलोचना भने गरिएको छैन। घोषणापत्रमा ‘आक्रमण र भूमि कब्जा गर्न बल प्रयोग’ को आलोचना गरिएको छ तर सिधा तरिकाले रुसको नाम लिइएको छैन। घोषणापत्रलाई लिएर युक्रेनले असन्तुष्टि व्यक्त गरे पनि आयोजक भारत र अन्य जी–२० राष्ट्रले युक्रेन युद्धमा सम्मेलन अल्झँदा अन्य धेरै विषय ओझेलमा पर्न सक्ने भएकाले बीचको बाटो लिइएको तर्क गरेका छन्।

३७ पृष्ठ लामो दिल्ली घोषणापत्रमा दिगो विकास लक्ष्य हासिल गर्न, वित्तीय समावेशिता अभिवृद्धि गर्न, भोकमरी तथा कुपोषण नियन्त्रण गर्न, हरित विकास तथा ऊर्जा रूपान्तरणलगायतका क्षेत्रीयमा विशेष जोड दिनुपर्ने आवश्यकता उल्लेख छ। यसैगरी २१औँ शताब्दी सुहाउँदो बहुपक्षीय निकाय स्थापना गर्नुपर्ने, खाद्य सुरक्षा र कृषि क्षेत्रको दिगो विकास, लैंगिक समानता, प्लास्टिक प्रदूषण नियन्त्रण तथा जलवायु परिवर्तन सम्बोधन अनि ऊर्जा रूपान्तरणका लागि ग्रिन डेभलपमेन्ट प्याक्टको आवश्यकतालाई पनि महत्व दिइएको छ। अफ्रिकी युनियनलाई आधिकारिकरूपमा जी–२० मा समावेश गरिएपछि यो समूह अब जी–२१ बनेको छ।  

स्थापनाकालमा आर्थिक तथा वित्तीय उद्देश्य लिएको यो मञ्च अब विश्वव्यापी सहयोग र आमचासोको विषयमा छलफल गर्ने थलो बनेको छ। यसै क्षेत्रको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई बेवास्ता गर्ने भारत अन्य मञ्चमा निकै सक्रिय हुन थालेको छ। हरेक वर्ष आयोजना हुने समूह बैठक अर्काे वर्ष ब्राजिल र त्यसपछि दक्षिण अफ्रिकाको अध्यक्षतामा हुने भएकाले त्यतिबेला गरिने दिल्ली बैठकका उपलब्धिको समीक्षामा समूहको भविष्य भर पर्नेछ।

हुन पनि, आर्थिक समृद्धि र गरिबीको आधारमा विश्व विभाजित छ। जी–२० मा विकसित मात्र नभई विकासोन्मुख राष्ट्रहरूसमेत सहभागी रहेकाले यसले ग्लोबल साउथको चिन्ता र चासोलाई सम्बोधन गर्नुपर्छ। भोकमरी, जलवायु संकट तथा गरिबीबाट बाहिरिन चाहने अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको चाहना परिपूर्तिमा समृद्ध र विकसित राष्ट्रको साथ र हातेमाले आवश्यक रहन्छ। विश्वको कुनै पनि भूभाग र देशमा रहेको रोग, गरिबी र अशिक्षाले त्यहाँ मात्र असर गर्दैन, यसले समग्र विश्वको स्थायित्व र शान्तिलाई प्रभाव पारेको हुन्छ। यस सन्दर्भमा जी–२० जस्तो महŒवपूर्ण अन्तर्राष्ट्रिय मञ्चको सफलताले विश्वलाई साझा समृद्धि र शान्तिको बाटोमा अग्रसर गराउन सक्छ। यसले निश्चित शक्ति राष्ट्रको गठबन्धनभन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेझैँ ‘वसुधैव कुटुम्बकम्’ मै जोड दिनुपर्छ।  

प्रकाशित: २६ भाद्र २०८० ०१:१६ मंगलबार

Download Nagarik App
Download Nagarik App