२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

भयको राजनीति

नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आफूलाई राजावादी र हिन्दुवादी बताउने एक व्यक्तिले बुधवार सङ्घीय राजधानी काठमाडौंमै खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका छन्।चेतावनीस्वरूप नभई ज्यान मार्ने उद्देश्यले गरिएको भान हुने यो आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। संसद्मा बिहीवार काँग्रेस सांसदले घटनाको निन्दा गर्दै गृहमन्त्रीलाई अनुसन्धानको प्रगतिबारे जवाफ दिन माग गरेका छन्।

केही दिनअघि राजधानी काठमाडौंकै मेयर बालेन्द्र साहले आफ्नी सुत्केरी–पत्नी चढेको सरकारी सवारीलाई ट्राफिक प्रहरीले केरकार गरेको भन्दै ‘आइन्दा यसो गरे सिंहदरबार जलाइ दिने’ चेतावनी सामाजिक सञ्जालमार्फत दिएका थिए।सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएकोमा माफी माग्नुको साटो खुलेआम सरकार र राज्य संरचनालाई उनले दिएको हिंसात्मक हाँक अशोभनीय मात्र होइन, असभ्य पनि थियो भन्नुमा किन्तु–परन्तु गर्नै पर्दैन ।

खुकुरी आक्रमण रजलाइ दिने धम्की जस्ता पछिल्ला घटना नेपाली राजनीतिमा नयाँ होइनन् तर, चिन्ताजनक भने अवश्य हुन्।माओवादी रसरकारबीचको एक दशक (२०५२–२०६२) लामो हिंसात्मक राजनीतिमा बाँच्न अभिशप्त नेपालीले त्यस अवधिमा १७ हजार आफ्नाको ज्यान गुमाए, कैयौं अङ्गभङ्ग भए, तीन हजारभन्दा बढी मानिस अझै बेपत्ता छन्।मनोसामाजिक क्षतिको गम्भीर अध्ययन हुनै बाँकी छ। हिंसा परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएको माओवादी नै यतिबेला सरकारको नेतृत्व गरिरहेको छ। उता माओवादीको संसदीय राजनीतिको अभ्यासलाई क्रान्तिप्रतिको घात ठान्ने नेत्रविक्रम चन्द ‘विप्लव’ घटक पनि एकाध हिंसात्मक घटनाको त्रास मच्चाउँदै केही वर्षअघि मात्र खुला राजनीतिमा आएको छ। एकताका मधेसको आत्म निर्णय अधिकारको वकालत गर्दै हतियार उठाउन उद्यत सिके राउतको पार्टी अहिले सरकारमै सम्मिलित छ।

विगतका यी घटनाक्रमका आधारमा सकिन्छ– वर्तमान नेपाली राजनीतिमा हिंसाको कुनै स्थान छैन। तर, विडम्बना ‘हिंसाले प्रतिहिंसा जन्माउँछ’ भनेझैं माओवादीले रोपेको हिंसात्मक राजनीतिको असर र प्रभाव भने आज पर्यन्त जारी छ।आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न राजनीतिमा हिंसा प्रयोग गर्ने, नागरिकमा भय सिर्जना गराउने रत्यसैको आडमा शक्ति र सत्ताको ‘बार्गेनिङ’ गर्ने खेलमा अहिले थुप्रै खेलाडी सक्रिय छन्। तीमध्ये कोही राजनीतिक दलमा आबद्ध छन्, कोही कुनै वाद बोकेर हिँडिरहेका छन् त कोही ‘स्वतन्त्र’को आवरणमा छन्। हामीमध्ये कतिपयलाई लाग्न सक्छ, राजनीतिमा हिंसाको सोझो अर्थ सशस्त्र विद्रोह मात्र हो, जसको नेतृत्व माओवादीले गरेको थियो।तर, आजको राजनीतिमा यसको परिभाषा बृहत् बनेको छ।

अब धाक, धम्की र चेतावनीको राजनीति गर्नु पनि हिंसात्मक गतिविधि हो।आफू बाहेक अर्को व्यक्ति, विचार र दलको अस्तित्व अस्वीकार गर्नु, निषेध गर्नु पनि हिंसात्मक राजनीति हो।जसलाई हामी भयको राजनीति पनि भन्न सक्छौं, जो हिंसाको जगमा खडा भएको छ। प्रमाणका लागि तपाईं समय समयमा माओवादी नेताका बेलाबखतका मन्तव्य सुन्न सक्नुहुन्छ, जहाँ उनीहरू कम्युनिस्ट क्रान्तिकारिता जोगाउन परे फेरि जंगल जाने, हतियार उठाउने र जसरी पनि दुस्मनलाई सिध्याउने धम्की दिइरहेका हुन्छन्।आफूलाई स्वतन्त्र रसभ्य दाबी गर्ने तरप्रश्न र विरोध सुन्नै नसक्ने सांसद र जनप्रतिनिधिका बोली र व्यवहारलाई पनि पर्गेल्न सक्नुहुन्छ, जुन चरम असहिष्णु एवं अलोकतान्त्रिक चरित्र हो।

बेलायतकी भाषाविद् रुथ वुडकले ‘भय’लाई दक्षिणपन्थी लोकप्रियतावादको राजनीतिसँग जोडेकी छन्।उनको विचारलाई हाम्रो तथ्यसँग जोड्ने हो भने धर्म, उग्र राष्ट्रवाद रजातीय विग्रह हामीकहाँ देखिएको लोकप्रियतावादी राजनीतिको अस्त्र बन्न पुगेका छन्।धरानमा पछिल्लोपटक देखिएको अप्राकृतिक रअस्वाभाविक घटनाक्रम, महानगर चलाउनेको सिंहदरबार जलाउने प्रकरण, नागरिकता प्रकरणमा गृहमन्त्रीबाट राजीनामा दिन बाध्य विवादास्पद पात्रको राष्ट्रवादी हुँकार र धर्मनिरपेक्षता एवम् सङ्घीय संरचना उल्टाएर मुलुकलाई हिन्दु राष्ट्रको पश्चगामी बाटोमा हिँडाउन उद्यत राजावादीको खुकुरी राजनीति यस्तै केही घटनाक्रम हुन्, जसबाट हामी सतर्क रसचेत हुन जरुरी छ।

प्रकाशित: २२ भाद्र २०८० ००:१८ शुक्रबार

Download Nagarik App
Download Nagarik App