१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

कोसीको किचलो

लोकतन्त्र शासन व्यवस्था मात्र होइन यो अभ्यास पनि हो। असल अभ्यासले लोकतन्त्रलाई सर्वग्राह्य बनाउँछ। यसमा जालझेल र तिकडम हुँदा अभ्यास आफैँमा विवादास्पद बन्दै जान्छ। कोसी प्रदेश सरकारले विश्वासको मत लिने बेलामा देखिएको खेलले कुनै अर्थमा पनि आशा जगाएको छैन। यो तहको अविश्वसनीय खेलले सम्पूर्ण दलको भूमिकालाई शंकाको घेरामा पारेको छ।  

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतको सत्ता गठबन्धनका तर्फबाट सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाबाट उनले आफ्नो पक्षमा ४७ जनाको मत पाएपछि सरकार जोगिएको छ। विपक्षमा ३० मत परेको छ जसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल छन्।  

सरकारले विश्वासको मत लिने बेलामा एक मत सबै भन्दा निर्णायक रहेको हो। त्यही एक मत सुनिश्चित गर्न कार्यबाहक सभामुख सिर्जना दनुवारदेखि अध्यक्ष मण्डलसमेतलाई बैठकमा अनुपस्थित गराउने खेल एमाले, राप्रपालगायतका दलले गरेका छन्। अन्त्यमा बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पाएका सांसद इस्रायल मन्सुरीले मुख्यमन्त्री थापालाई विश्वासको मतसमेत दिएका छन्। उनी सांसद मात्र रहेको र सभाको अध्यक्षता मात्र गरेको र मतदान गर्न पाइन्छ भन्ने तर्क गरेका देखिएको छ।  

भोलिका दिनमा यस विषयको कानुनी र नैतिक पक्षमा स्वाभाविकरूपमा प्रश्न उठ्ने नै छ। यसअघिका सभामुखले आफैँ सरकार बनाउन हस्ताक्षरसमेत गरेपछि विवाद भएको हो। त्यो सरकारको वैधतामै प्रश्न उठेपछि फेरि कानुनी समाधान पनि निकालिएको हो। पुनः सरकार गठन गर्नुपर्ने अवस्था आएको हो। उनले सभामुखमा राजीनामा गरेलगत्तै नयाँ सरकारमा सरिक गराइएको छ। त्यही भएर अहिले उपसभामुखलाई कार्यबाहक सभामुखको जिम्मेवारी प्राप्त भएको छ।  

कार्यबाहक सभामुखले बैठक सञ्चालन नगरी छाडेर हिँडेका मात्र होइनन् अन्यले समेत आफ्नो जिम्मेवारी पूरा गरेनन्। सभामुखको जिम्मेवारी प्राप्त र सभामुख तथा उपसभामुख दुबैको अनुपस्थितिमा सभाको नेतृत्व गर्ने अवसर पाएका सांसदले समेत अनुपस्थित भएर भयानकको ‘गाईजात्रा’ कोसीमा गरिएको हो। सरकारले विश्वासको मत प्राप्त नगरेरै प्रदेशसभाको उपनिर्वाचनमा जान सक्ने अवस्थातर्फ परिस्थिति धकेलिँदै गरेको पनि हो। तर अचानक बैठकको अध्यक्षता गरेकै सदस्यले मतदान गरेर कोसी सरकारले आवश्यक ४७ मतको विश्वास प्राप्त गरेको हो।  

यस घटनामा एमालेले संसद् बस्नै नसक्ने परिस्थिति सिर्जना गरेको देखिन्छ। सरकार गठनका निम्ति सभामुखलाई राजीनामा गराउने पक्षलाई सही भन्न नसकिए पनि पछिल्लो पटक सभा सञ्चालनको जिम्मेवारी एमालेमा रहेको हो। त्यसलाई अगाडि बढाउनतिर यसको ध्यान गएन। बरु कार्यबाहक सभामुख र अध्यक्षता गर्ने सांसद समूहका पाँच सदस्यलाई अनुपस्थित गराएर व्यापक ठूलो षड्यन्त्रात्मक अभ्यास कोसीमा सम्पन्न गरिएको छ।  

संघीय संसद् दुई दुई पटक विघटन गरेको र संसद् चल्नसमेत नदिएको एमालेको अभ्यास मुलुकले महसुस गरेकै छ। त्यही किसिमको अभ्यास एमालेले कोसीमा फेरि गरेको छ। यसअघि सरकार गठन गर्ने बेलामा एमाले इतर दलहरूले खेलेको भूमिका प्रशंसनीय थिएन। त्यसको जमेर आलोचना पनि भएको हो। अदालतमा मुद्दा परेपछि त्यसले समेत सरकारको वैधतामा प्रश्न उठाएकै हो। अब अहिले आएर नयाँ सरकार बनाउन एमाले अक्षम भयो भने अर्को सरकार बन्ने अवस्थामा अवरोधक बन्नु नहुने पनि हो। एमालेले जहिल्यै नकारात्मक भूमिका खेलेको आरोप त्यत्तिकै लागिरहेको छैन।  

कोसी प्रदेश सरकारले विश्वासको मत लिने बेलामा त्यहाँको प्रदेशसभामा देखिएका नाटकीय घटनाक्रमले यसको पवित्रतामा धावा बोलेका छन्। बेइमानीका निम्ति भएका एकपछि अर्का प्रतिस्पर्धाले यो मुलुकमा संघीयताको अभ्यास गर्ने नैतिक साहस सबैले गुमाउँदै गएको अनुभूति भएको छ। बल्लबल्ल सरकारले विश्वासको मत पाए पनि यसलाई विवादास्पद बनाउन सबैले भूमिका खेलेका छन्। राजनीति यथार्थमै फोहोरी खेल हो भन्ने पुष्टि गर्न सबै पक्ष लाग्नु आफैँमा दुःखलाग्दो पक्ष हो।  

प्रकाशित: ६ भाद्र २०८० ००:२८ बुधबार

Download Nagarik App
Download Nagarik App