१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

डेंगी रोक्न सतर्कता

मुलुक यतिबेला फेरि अर्को समस्यामा जकडिने सुरसारमा छ। डेंगी भनिने यो संक्रमण उपत्यकाभित्र मात्र ९५ जनामा पुष्टि भइसकेको तथ्य यसको संकेत हो। डेंगी सार्ने लामखुट्टेले दिउँसो टोक्ने र यसले एकै दिनमा १० जनासम्मलाई भ्याउने भएकाले पनि डेंगीबाट बच्न पूर्णरूपमा सतर्क हुनुपर्ने अवस्था सिर्जेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार यो सबै ठाउँको प्रतिवेदनमा आधारित नभएकाले मुलुकभर हेर्दा डेंगी संक्रमितको संख्या निकै बढी हुन सक्छ।

ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिराहरू देखिने, वाक्वाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, पेट दुख्ने, ढाड जोर्नी था मांसपेसीहरू दुख्ने भयो भने सोचे हुन्छ– डेंगी संक्रमण भयो। कुनै मानिसमा यीमध्ये कुनै एक वा बढी समस्या उत्पन्न भएमा उसको स्वास्थ्य स्थिति अवश्य पनि पीडायुक्त हुन्छ। त्यसैले यस्तो संक्रमणबाट बच्न लामखुट्टेको टोकाइ छल्नु नै सबै भन्दा उत्तम उपाय हुने स्वास्थ्यविद्हरूको सुझाव छ।

डेंगी नेपालका सन्दर्भमा नयाँ समस्या हुँदै होइन। यो प्रत्येक वर्षजसो आइरहन्छ। तर पनि हामीले यो समस्या समाधानका लागि जुनखालको समाधान नीति अपनाउनु पथ्र्यो, त्यसमा भने हामी चुकिरहेकै हो। त्यसैले प्रत्येक वर्ष यो समस्या आउँदा संक्रमितको रेकर्ड राख्ने, जनचेतनाका नाममा केही प्रचारप्रसारका कार्य गर्ने र आफ्नो दायित्व पूरा भएको सम्झने प्रवृत्ति कायमै छ। हैन भने हरेक पछिल्ला वर्ष यस्ता समस्या कम हुँदै जानुपर्नेमा उल्टै बढ्दै जानुको कारण के हो त ?  

यो समस्याबाट मुक्तिका लागि सचेतना नै मुख्य उपाय हो। डेंगी लामुखुट्टेले सार्छ, यो सफा पानी भएको भाडामा फुल पार्न रुचाउँछ, त्यसैले आफ्नो घर, कार्यालय वा अन्य बसोबासस्थल वरपर यस्तो भाँडोमा पानी राखेर लामखुट्टेको प्रजनन बढाउन नसघाउने, टायर, पानीको बोतल, प्लास्टिकका बट्टा आदिमा पानी जम्न नदिने र सकभर झुल प्रयोग वा अन्य सुरक्षात्मक उपाय अपनाएर लामखुट्टेको टोकाइबाट बच्नुपर्छ भन्ने सन्देश चारैतिर फैलाउने हो भने समस्या धेरै हदसम्म समाधान हुन सक्छ।  

अहिले मुलुकमा सञ्चार माध्यमको कुनै कमी छैन। केन्द्रीय स्तरका मात्र हैन, गाउँ-टोलसम्म सामुदायिक रेडियोले आफ्नो प्रभाव जमाइरहेका छन्। त्यसैले यस्ता सञ्चार माध्यमको व्यापक प्रयोग गर्न सक्ने हो भने डेंगी संक्रमणबाट दुःख पाउनुपर्ने दिन अन्त हुन सक्नेछन्। जहाँसम्म लामखुट्टे बस्ने ठाउँ खोजी खोजी नष्ट गर्ने सुझाव छ, त्यतिले मात्र सर्वसाधारणले समस्या छिमोल्न सक्दैनन्। कस्तो लामखुट्टेले टोक्दा डेंगी संक्रमण हुन्छ, त्यस्तो जीव केमा बस्छ, यसलाई कसरी निमिट्यान्न पार्न सकिन्छदेखि यसका लागि लाग्ने समय, मेहनत र उपायसमेत सरलतवरमा बताइदिन सक्दा मात्र सञ्चारका सन्देश प्रभावकारी हुन सक्छन्।

यो संक्रमण पटके भएकाले लामखुट्टे आउन सुरु हुनुअघि नै अर्थात वर्षायाम लाग्नुअगावै यस्तो समस्या रोकथामबारे जानकारी दिन सकिन्थ्यो। दिनु पनि पथ्र्यो। तर घरमा आगो लागेपछि बल्ल कुवा खन्न जाने हाम्रो सरकारी नीतिका कारण डेंगी मुलुकभर फैलने अवस्थामा पुगेको हो। समस्याले भयाबह रूप धारण नगरुन्जेल मस्त निन्द्रामा रहने जब समस्या नियन्त्रणबाहिर गइसकेको हुन्छ तब बल्ल जुर्मुराउने सरकारी रोग पनि डेंगु संक्रमण फैलनुमा दोषी छ। तर विडम्बना, रोग नियन्त्रणको जिम्मेवारी लिएका निकायका ठालुहरू यसलाई स्वीकार गर्न तयार छैनन्। समस्याको चुरो यहाँ पनि छ।

यो समस्याको उपचार नभएको पनि हैन। डक्टरको सल्लाहमा रगत परीक्षण गर्ने, पर्याप्त तरल पदार्थ सेवन, ज्वरो घटाउने औषधि सेवन, लक्षण देखिएपछि पर्याप्त आराम यसका लागि उपयुक्त माध्यम हुन। तर ‘रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु सबै भन्दा उत्तम’भन्ने मान्यतालाई मान्ने हो भने सतर्कता र सावधानी नै डेंगी संक्रमणबाट बच्ने सबै भन्दा अचुक औजार हुन। खासमा हामी चुकेको पक्ष पनि यही हो। अनि हाम्रो यही चुकाइको भरपुर उपयोग गर्दै लामखुट्टे डेंगीको साम्राज्य फैलाउन सफल भएको हो।

ट्राफिकले सडकमा पोखिएको मोबिलमा बालुवा वा अन्य केही हालेर नचिप्लने बनाउनुको सट्टा पल्टिएका मोटरसाइकलको संख्या गनेर बस्ने, सरुवा नाम जोडिएका स्वास्थ्य निकाय यससम्बन्धी चेतना फैलाउनुको सट्टा संक्रमितको संख्या टिपेर बस्ने जस्ता अचम्म अचम्मका घटना हुने गर्छन् यो देशमा। आफ्नै नियन्त्रणमा शक्तिशाली सञ्चार माध्यम हुँदा पनि त्यसको भरपुर उपयोग गर्न सकेको छैन सरकारले। जबकि सरकारी सञ्चार माध्यमको प्रभावकारिता नै यस्तै बेलामा प्रमाणित हुने हो। त्यसैले व्यावसायिक त छँदैछन्, सरकारी सञ्चार माध्यमलाई अधिकतम प्रयोग गरी डेंगीवाला लामखुट्टे निमिट्यान्न पार्न सरकारी निकाय चुक्नु हुँदैन।

आफ्ना जनताको गाँस, बास र कपासको सुरक्षा राज्यको प्रथम दायित्व हुने गर्छ। त्यसैले शिक्षा, स्वास्थ्य र उपचार पनि उसको गम्भीर दायित्वभित्रकै कुरा हो। आफ्ना जनता जति स्वस्थ भए उनीहरूले मुलुकका लागि त्यति नै बढी योगदान गर्ने सम्भावना रहन्छ। त्यसैले पनि आफ्ना जनतालाई रोग र समस्याबाट मुक्त तुल्याइ चौतर्फी विकासमा लाग्ने अवसर राज्यले सिर्जना गरिदिनुपर्छ। यसका लागि पनि डेंगी संक्रमण जस्ता समस्या छिमोल्न आजैदेखि तयारी थाल्नुपर्छ। यसका लागि स्थानीय सरकारसँग पनि सहकार्य आवश्यक छ जुन आफ्नो क्षेत्रमा काठमाडौँ महानगरपालिकाले थाली पनि सकेको छ। 

प्रकाशित: २८ असार २०८० ००:२८ बिहीबार

Download Nagarik App
Download Nagarik App