धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी समस्या समाधान गर्न तीन महिनाअघि जे जस्तो नीति लिए, त्यसको आलोचना गर्नेहरू नै अहिले प्रशंसा गर्न थालेका छन्। धरान–२० विष्णुपादुकास्थित कोकाहा खोलाको पानी छिमेकी नगर वराहक्षेत्र हुँदै घुमाएर ४२ किलोमिटर त्यो पनि पहाडी क्षेत्र हुँदै ल्याउने योजना आफैमा अचम्मलाग्दो थियो। त्यसमाथि त्यो योजना श्रमदानका हिसाबले अघि बढाएपछि कतिपयलाई असम्भव लाग्नु अस्वाभाविक थिएन। तर, कुनै पनि काममा समर्पित भएर लाग्ने हो भने जतिसुकै कठिन काम पनि सफल बनाउन सकिन्छ भन्ने कुरालाई धरानका मेयर साम्पाङले प्रमाणित गरिदिएका छन्। एकातिर श्रमदान अर्कोतिर पहाडी क्षेत्र हुँदै ४२ किलोमिटर टाढा खानेपानी पु¥याउने काम आफैमा चुनौतीपूर्ण थियो। हो, त्यही चुनौतीको सामना गर्दै साम्पाङले आफूलाई जनताको असली जनप्रतिनिधिका रूपमा उभ्याएका छन्।
साम्पाङले धरानवासीलाई पानी खुवाउने जुन योजना बनाएका थिए, त्यसका लागि प्रतिकूल भूगोल त चुनौती नै थियो। त्यसमाथि राजनीतिक दल र उपमहानगरपालिकाभित्रै रहेका अन्य निर्वाचित जनप्रतिनिधिको आलोचना त्योभन्दा ठुलो चुनौती थियो। तर, साम्पाङले न भौगोलिक चुनौतीको वास्ता गरे न राजनीतिक दलका नेता/कार्यकर्तादेखि जनप्रतिनिधिहरूको आलोचनालाई सुने। उनी काममा यसरी एकोहोरिए कि धेरैले असम्भव ठान्दै आएका कामलाई तीन महिनामा सम्पन्न गर्ने वातावरण बनाए। सरकारी बजेटबिना श्रमदान र देशविदेशबाट सहयोग जुटाएर असम्भव ठानिएको आयोजना उनले पूरा गरेरै छाडे। कोकाहाको पानी सोमबार मध्यराति १२ बजे पकुवा खोलामा खसाउन सफल भएपछि मेयर साम्पाङ यति भावुक भए कि उनले सर्वसाधारणको भिडमा आँसु नै खसाले। सर्वसाधारण जनताले पनि उनलाई रातदिन नभनी साथ दिइरहे। त्यसैले त गत फागुन २३ गते सुरु ‘कोकाहा श्रमदान अभियान’ ९८ औं दिनमा सफल मात्रै भएन, धरानवासीको खानेपानी सपना पनि साकार भएको छ।
अब करिब ४ किलोमिटर टाढा रहेको सुम्निमा र स्वस्तिका ट्यांकीमा पानी पुर्याइने छ। कोकाहा खोलाको मुहान धरान–२० स्थित हात्तीसारमै भएकाले मुहान क्षेत्रबाट भन्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भए पनि बिजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटी फ्लोमार्फत नै पाइपलाइन बिछ्याएर पानी ल्याएका हुन्। कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर साम्पाङ आफै निरन्तर फिल्डमा खटिएका थिए। पकुवासम्म पानी ल्याउन साम्पाङले जुन मेहनत गरे, त्यो प्रशंसनीय छ। उनी आफैले पनि पानी आएपछि भावुक हुँदै पानी ल्याउन ‘अत्यन्तै धेरै मेहनत गरेको’ बताएका थिए। ४२ किलोमिटर भिरपाखामा पाइप बोकेर पुर्याउनु चानचुने विषय होइन। तर, त्यसका लागि उनले ‘भोकै काम गर्ने श्रमदाता र सहयोगी दाता’को देन रहेको जनाएका छन्। कोकाहा खानेपानी अभियानका लागि ४ करोड रूपैयाँभन्दा बढी आर्थिक तथा पाइप, खाद्यान्नलगायतमा सहयोग भएको थियो भने प्रत्येक शनिबार ५ हजारभन्दा बढी धरान र धरानबाहिरबाट मानिस श्रमदानमा आउने गरेका थिए।
त्यसो त साम्पाङले श्रमदानबाट पूरा गरेको आयोजना यो मात्र होइन। यसअघि पनि पकुवा, सर्दु, निसानेलगायतका खोलाको पानी श्रमदान अभियानबाटै ल्याउन सफल भइसकेका छन्। निसानेमा हर्क साम्पाङ सपोर्ट कमिटी युके र गोर्खा पिस फाउन्डेसनले २ लाख ३७ हजार रूपैयाँबराबरको पानीट्यांकी निर्माण गरिदिएको छ भने सेउती बगरमा पनि कमिटीले अर्को ट्यांकी बनाइदिएको छ। अहिले गोर्खा वेलफेयर ट्रस्टद्वारा सर्दु खोला खानेपानी आयोजनाको स्तरोन्नति भइरहेको छ। साम्पाङले जनश्रमदानबाट खानेपानी समस्या समाधान गर्ने जुन बाटो लिएका छन्, त्यसप्रति सर्वसाधारणले विश्वासका साथ सहयोग गरेका छन्। कुनै पनि काममा इमान्दारीपूर्वक लाग्ने हो भने त्यसका लागि आर्थिकदेखि अन्य सहयोग सजिलै जुट्न सक्छ भन्ने कुरा साम्पाङले प्रमाणित गरिदिएका छन्।
जनप्रतिनिधिमा साम्पाङले लिएको विकासको मोडल आफैमा मौलिक किसिमको छ। स्थानीय तहका जनप्रतिनिधिहरूले आफूसँग भएको स्रोतसाधनलाई राम्रोसँग सदुपयोग गरिदिने हो भने स्थानीयको आवश्यकता पूरा गर्न समय लाग्दैन। साथै स्थानीय सरकारप्रति जनताको साथ र भरोसा पनि रहने थियो। त्यसैले स्थानीय जनप्रतिनिधिहरूले स्थानीय समस्या र आवश्यकतालाई पहिचान गर्दै त्यसको समाधानका लागि स्थानीय स्रोत साधनको सही सदुपयोग त गर्नैपर्छ। त्यसमा स्थानीय सहयोग र स्वामित्व पनि खोज्नैपर्छ। त्यसो गर्न सकेमात्र स्थानीय स्तरमा भएका विकास निर्माणका कामलाई स्थानीयले आफ्नै ठान्छन् र त्यो दिगो पनि हुने थियो। त्यसैले स्थानीय जनप्रतिनिधिहरूका लागि विकास निर्माणमा साम्पाङले देखाएको बाटो प्रेरणा बनोस्। साथै मेयर साम्पाङले आगामी दिनमा पनि जनतालाई आशा जगाउने यस्तै काम गर्दै जाऊन्, मेयर साम्पाङलाई शुभकामना!
प्रकाशित: ३२ जेष्ठ २०८० ००:१९ बिहीबार