८ वैशाख २०८१ शनिबार
सम्पादकीय

महानगरको मानवीयता

कर्णाली प्रदेशको कालीकोटबाट एम्बुलेन्स किन्न आर्थिक सहयोग माग्न आएकालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले एम्बुलेन्स नै उपलब्ध गराउने प्रस्ताव गरे। एम्बुलेन्स उपलब्ध गराउने मेयर साहको प्रस्तावको कार्यपालिका बैठकमा मात्र हैन, सामाजिक सञ्जालमा समेत निकै स्वागत भयो। सोझो अर्थमा भन्दा एम्बुलेन्सअघि नै बालेनले राखेका यो सहृदयी प्रस्ताव साइरनको आवाज भन्दा पनि विशेष रूपमा प्रकट हुन सक्यो।

कर्णाली तुलनात्मकरूपमा उसै पनि विकट प्रदेश हो। अझ कालीकोट त विकट प्रदेशको पनि झन् विकट जिल्ला हो। जहाँका धेरै भूभागले अहिले पनि सडक चिन्दैन। सडक भएकै भए पनि मृत्यु मार्गका रूपमा परिचित हुँदै आएका छन्। त्यस्तो ठाउँमा समेत केही मानिसलाई बचाउन सकिन्छ कि भन्ने लागेर सहयोगको याचना गर्नेलाई बालेनले सहयोगको जुन उदारता देखाए, त्यो एउटा सुझबुझपूर्ण नेताको कर्तव्य मात्र थिएन, मानवीय स्वभावसमेत थियो। जसलाई उनले व्यावहारिकरूपमै पुष्टि गरे।  

काठमाडौँ महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामाले कालीकोटको तीलगुफा नगरपालिकाबाट आएका केही साथीको पीडा महानगरका मेयरसम्म पुर्याएका थिए। डोको र बाँसको लौरोमा झुण्डाएर बिरामी ओसार्नुपर्ने हृदयविदारक दृश्यको बयान लामालाई सुन्नसमेत गाह्रा्े भएको थियो। तीलगुफाबासीलाई उनले मेयरसम्म पुर्याउनुको मुख्य कारण पनि यही थियो।  

एम्बुलेन्स किन्न मागेको सहयोग प्रस्तावलाई लामाले ५ देखि १० हजार दिएर पन्छन पनि सक्थे। तर उनलाई लाग्यो कि यति सहयोगले केही हुनेवाला छैन। अनि सोचे–मेयर बालेन साहसम्म यो पीडा पुर्याउन सके २–३ लाख रुपियाँसम्म दिन्थे कि? जब मेयर साहले सानोतिनो सहयोग माग्न आएकालाई एम्बुलेन्स नै दिने प्रस्ताव राखे, सहयोगको आकांक्षी त तीनछक पर्ने नै भए, लामासमेत अचम्भित भए। नहुन् पनि किन, यो उनका लागि पनि त नसोचिएको विषय थियो।  

काठमाडौँ महानगरको यो निर्णयले समाजिक सञ्जालमा निकै वाहवाही पायो। सञ्जालप्रेमीहरूले के र कत्रो सहयोग भन्दा पनि एउटा सक्षम नगरपालिकाले निकै टाढाको कमजोर नगरपालिकाको पीडा भुलाउन हातेमालो गरेको रूपमा व्यक्त गरेका छन्। महानगरको यो कार्यलाई उल्लेख गर्दै उनीहरूले यसैगरी हुनेले नहुनेलाई सहयोग गर्दै जाने हो भने यो मुलुक कति सुन्दर हुन्थ्यो होला भन्ने कल्पनासमेत गरेका छन्। पीडा, मानवीयता र सहयोगको त्रिवेणीबीच कस्तो नाता सम्बन्ध कायम हुन्छ भन्नेसमेत देखाउन खोजेका छन् उनीहरूले।  

महानगरको एम्बुलेन्स दिने प्रस्तावले कर्णाली र अझ त्यसमा पनि कालीकोटबासीको मन मात्र जित्न सक्नुपर्ने हो तर यो घटनाले सिंगो मुलुकको मन जितेको छ। जसको अर्थ यो हो कि राम्रो काम भयो भने त्यसको प्रशंसा गर्नेहरू यहाँ कम छैनन्। जसलाई अन्य संगठित संस्था, पालिका वा व्यक्तिले समेत मनन गर्नु उचित हुन्छ।

अझै पनि थुप्रै गाउँपालिका र नगरपालिका यस्ता छन् जो सानो सहयोगका लागि पनि ठूलै कसरत गर्न बाध्य छन्। अनि यस्तै सानोतिनो सहयोग अभावमा पनि बर्सेनि धेरै मानिसको मृत्यु नियाल्न बाध्य छन्। तर यो वास्तविकता तुलनात्मकरूपमा सक्षम र सम्पन्नहरूलाई थाहा छैन। त्यसैले कुनै निकाय वा संस्थाका लागि थोरै ठानिएको रकम वा अन्य स्रोत कुनै निकायका लागि ठूलो र मानिसको जीवन बचाउने संजीवनी बूटीमा परिणत हुन सक्छ। यही कुरा मात्र मनन गर्न सके पनि लोकल्याणका क्षेत्रमा धेरै प्रगति हुन सक्थ्यो।

मुलुककै एउटा नगरपालिका एउटा हैन, थुप्रै पालिकालाई एम्बुलेन्स मात्र हैन, करोडौँ रकम  

बाँड्नसमेत सक्ने अवस्थामा पुगिसक्दा पनि कर्णाली र अझ त्यहाँका पनि दुर्गम जिल्लाका पालिका अझैसम्म किन एउटा एम्बुलेन्स किन्नसमेत नसक्ने हैसियतमै छन्? बहस यो पाटोमा पनि हुनुपर्छ। के यसले कर्णालीको पीडा झल्काउँदैन र?  

एउटा भनाइ नै छ कि माग्ने मान्छे हात्ती नै चढेर आए पनि उसलाई दान दिनु एउटा असल मान्छेको कर्तव्य हो। बालेनले यो भनाइलाई सार्थक तुल्याएर आफूलाई असल मान्छे प्रमाणित गरे। तर अरू? के राज्य यसमा संवेदनशील हुनुपर्दैन? सबै पालिकाले कम्तीमा पनि एउटा एम्बुलेन्स किन्न सक्ने वातावरण बनाउनु पर्दैन? के त्यहाँका जनतालाई बाँच्ने अधिकार चाहिँदैन? बहस जरुरी छ।

अब प्रक्रिया पुर्याएर चाँडै एम्बुलेन्स हस्तान्तरण गर्नतर्फ लाग्नुपर्छ महानगरपालिका। घोषणा गरिसकेको चिज दिन जति ढिलाइ भयो कालीकोटबासीको निराशाको उचाइ त्यति नै बढ्दै जान्छ। आफ्नो वाचा पक्का गर्दै चाँडो भन्दा चाँडो सहयोग उपलब्ध गराउन सके मात्र महानगरले पाएको वाहवाही कायमै रहन्छ। त्यसैले अबको सम्पूर्ण ध्यान एम्बुलेन्स चाँडै कालीकोट पुग्ने र धेरै बिरामी मृत्युको मुखमा पर्नबाट रोक्न सक्नुपर्छ। यसो भएमा मात्र पवित्र भावनाले गरिएको सहयोग सही ठाउँमा सदुपयोग हुन्छ भने त्यसको प्रभावकारिता पनि प्रष्टिन्छ। साथै अरू धन र मनकारीलाई समेत दीनदुःखीका लागि केही गर्नुपर्छ भन्ने भावनासमेत जागृत हुनेछ। यसो भयो भने महानगरको एम्बुलेन्स सहयोग प्रकरण नेपालको सहयोग क्षेत्रमा कोसे ढुंगा सावित हुने पक्का छ।

प्रकाशित: ४ जेष्ठ २०८० ००:२० बिहीबार

Download Nagarik App
Download Nagarik App