१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

बधाई राष्ट्रपति पौडेल

मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। शालीन राजनीतिक छवि बनाएका पौडेल नेपाली लोकतान्त्रिक आन्दोलनका एक स्रष्टा र द्रष्टा पनि हुन्। उनले मुलुकका प्रमुख राजनीतिक घटनाक्रममा आफ्नो तर्फबाट इमानदार प्रयास गरेका छन्। सत्ता गठबन्धनको उम्मेदवारका रूपमा उनलाई प्रस्तुत गरेपछि विजय सुनिश्चित भएको हो। नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका नेता सुवासचन्द्र नेम्वाङलाई पराजित गरी पौडेलले राष्ट्रको अभिभावकीय भूमिकामा पुग्ने अवसर पाएका हुन्।

जनआन्दोलन २०६२/०६३ को प्रमुख उपलब्धि जनताका छोराछोरीले राष्ट्रको सर्वोच्च स्थान प्राप्त गर्ने अवसर पनि हो। वंश परम्पराका आधारमा शासन गर्ने अधिकार भन्दा जनताबाटै निर्वाचित व्यक्तिले आवधिकरूपमा जिम्मेवारी पाउने लोकतान्त्रिक परिपाटीलाई देशको संविधानले अंगीकार गरेको छ। मुलुकमा राष्ट्रपतिको चौथो निर्वाचन सम्पन्न भए पनि पौडेललाई यो जिम्मेवारीमा पुग्ने तेस्रो व्यक्तिको गौरव प्राप्त भएको हो। २०४६ सालको परिवर्तनपछि पौडेल निरन्तर राष्ट्रिय राजनीतिको मूलधारका एक प्रमुख नेताका रूपमा रहेका छन्। उनी २०४८ सालदेखि (२०७४ सालमा बाहेक) निरन्तर प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन्। पौडेल २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा सहभागी थिए। त्यसैगरी २०५१ सालमै उनी प्रतिनिधिसभाको सभामुख भइसकेको अनुभव छ।

उनको विगत संघर्ष, २०४६ पछिका राजनीतिक संलग्नता र अनुभवले राष्ट्रपतिको जिम्मेवारी सहजपूर्वक अगाडि बढाउन सहयोग हुने देखिन्छ। यसअघिका दुई राष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीको पदचिह्नलाई पछ्याउँदै यो संस्थालाई सुदृढ बनाउनुपर्ने दायित्व उनको काँधमा आइपुगेको छ। संविधानले राष्ट्रपतिलाई आलंकारिक बनाए पनि यसबीच यसलाई कार्यकारी पदझैँ व्यवहार गरिएको छ। यसमा देखिएका अभ्यासलाई मनन गर्दै आगामी दिनमा राष्ट्रपति संस्थाले आफूलाई भिन्नरूपमा विकास गर्ने अवसर पौडेलको कार्यकालमा प्राप्त गर्ने विश्वास गर्न सकिन्छ। राजनीतिक सुझबुझ, नेतृत्व क्षमता र विगत अनुभवका आधारमा पनि पौडेलबाट राष्ट्रपतिको गरिमामय उपस्थितिलाई न्याय हुन सक्नु पर्छ।

राष्ट्रपति निर्वाचन सहजै सम्पन्न हुनुले हाम्रो लोकतान्त्रिक शासन व्यवस्था गहिरिँदै गएको देखाउँछ। सत्ताको सहज हस्तान्तरणले लोकतन्त्रलाई सुन्दर बनाउन मद्दत गर्छ। जनताकै छोराछोरीले मुलुक हाँक्न थालेको पनि लामो समय भइसकेको छ। त्यसैले वंश परम्पराका आधारमा नेतृत्व लिनुपर्ने आवश्यकताको अन्त्य भइसकेको सन्देश पनि हो यो। मुलुकलाई राजाको आवश्यकता महसुस भएको छैन। शासनसत्तामा पुग्ने जनताका छोराछोरीले फेरि राजा हुने कल्पना नगर्ने हो भने कसैले त्यो चाहना पनि गर्दैनन्।

राष्ट्रपतिमा निर्वाचित भइसकेपछि पौडेलले यो संस्थाप्रतिको आमविश्वास वृद्धिका निम्ति थप काम गर्ने नै छन्। केही निर्णय भने उनले सुरुमै गर्नु उचित हुन्छ। आफ्नो सवारीका क्रममा साइरन नबजाउन निर्वाचित हुनासाथ गरेको आग्रहले पनि उनीप्रति आशावादी हुन सहयोग पुर्‍याएको छ। अचेल ‘राष्ट्रपति कसको?’ भन्ने प्रश्न उठिरहेको छ। यस्तो प्रश्न उठ्नुपछाडि राष्ट्रपति संस्थाले गरेका कामको भूमिका छ। यो संस्थालाई कुनै एक दलको राजनीतिक स्वार्थ साधनाको हतियार बनाउने भन्दा पनि ‘हाम्रो राष्ट्रपति’ बनाउनतिर लाग्नु आवश्यक छ। त्यसले मात्र यो संस्थाको गरिमा बढ्छ। जनताका छोराछोरी राष्ट्रपति बन्नासाथ सबैभन्दा पहिले जनताका निम्ति सडक थुन्ने परम्परा छ। यसले पनि राष्ट्रपतिप्रति बढ्ता वितृष्णा देखिन्छ। सकेसम्म राष्ट्रपतिलाई जनताको नजिक पुर्‍याउने र अहिलेसम्म सडक अवरुद्ध गरिँदै आएका अभ्यासलाई कम गर्नुपर्ने देखिन्छ।

मुलुकमा लोकतन्त्र आएको छ। तर, लोकतन्त्रका कैयन् अभ्यास सेना र प्रहरीका बीचमा मात्र सम्पन्न गरिन्छन्। गणतन्त्रदेखि अन्य राष्ट्रिय दिवससम्म सुरक्षा घेराभित्रको एउटा राजकीय अभ्यास भन्दा बढ्ता हुन सकेको छैन। आमनागरिकलाई परिवर्तनको स्वामित्व ग्रहण गर्ने अवसर भएन भने सबै पक्ष औपचारिकतामै सीमित हुन्छ। सर्वसाधारणलाई कसरी परिवर्तन आत्मसात गर्ने अवस्थामा पु¥याउने भन्ने प्रमुख चुनौती छ। अतः आफूलाई विगतमा राजाको स्थानमा राख्ने भन्दा पनि आमनागरिकको दुःखसुखको साथीका रूपमा राष्ट्रपतिले आफूलाई स्थापित गर्नुपर्ने अवस्था छ। यो संस्था सुध्रियो भने अन्य निकायमा परिवर्तन अवश्यम्भावी छ।

अहिले लोकतान्त्रिक परिपाटीविरुद्ध जम्जमाउने वर्ग पनि तयार भइसकेको छ। विभिन्न नाममा च्याउसरि उम्रिदै गरेका यस्ता समूहको अभीष्ट सकेसम्म मुलुकलाई निरंकुशतातर्फ लैजाने हो। केही समूह अहिले ‘राजा आऊ देश बचाऊ’ भन्दै मुलुकमा नयाँखाले द्वन्द्व सिर्जना गर्न क्रियाशील छन्। नेपाललाई सधैँ अस्थिर बनाइ स्वार्थ साधना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वको सक्रियतालाई चिन्नु उत्तिकै जरुरी छ। यस्ता तत्व त्यतिबेला मात्र कामयावी हुन सक्दैनन् जतिबेला परिवर्तन संस्थागत हुन्छन्। हाम्रो मुलुक फेरि विगतकै अँध्यारोतर्फ फर्किन सक्दैन। अहिलेको भन्दा बढी लोकतन्त्र नै यसको विकल्प हो।

मुलुकको लोकतान्त्रिक आन्दोलनका अभियन्तामध्येका एक पौडेलले राष्ट्रपतिका रूपमा समन्वयकारी भूमिका खेल्ने आशा गर्न सकिन्छ। उनले मुलुकलाई एकताको सूत्रमा बाँध्दै अगाडि बढ्नुको विकल्प छैन। यसका साथै उनले संविधानको रक्षकका रूपमा बलियो गरी आफूलाई उभ्याउनु आवश्यक छ। एकथरी व्यक्तिहरूलाई अहिलेको संविधान जसरी पनि च्यात्नु आवश्यक देखिएको छ। तिनले यसको विकल्पमा मुलुकमा अस्थिरता मात्र सिर्जना गर्न चाहेका छन्। यसकारण पनि संविधानको रक्षाका निम्ति राष्ट्रपतिको अभिभावकीय भूमिका आवश्यक छ। यसबाट मात्र अहिले देखिएको भ्रमपूर्ण अवस्था चिर्न मद्दत पुग्नेछ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना। 

प्रकाशित: २५ फाल्गुन २०७९ २३:४४ बिहीबार

Download Nagarik App
Download Nagarik App