४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

टर्की भूकम्पको त्रास

हामी छिटो बिर्सन्छौं। २०७२ सालमा ठूलो धनजनको क्षति हुनेगरी भूकम्प आयो। हजारौँको ज्यान गयो। त्यो कहालीलाग्दो घटनालाई हामी विर्सदै गइरहेका छौं। तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीलाई पनि हामीले बिर्सेका छौँ। यी र यस्ता प्राकृतिक विपद् र महामारीको बेला हामी त्यसको पूर्वसूचनाको आवश्यकताबारे चर्चा गर्छौँ। हाम्रो उद्धार तथा उपचारको अवस्थाका समीक्षा गर्छौं।

तर समयसँगै यस्ता गंभीर विषय हाम्रो स्मृतिबाट ओझेलमा पर्छन्। त्यही समाज दिगो हुन्छ, जसले यस्ता घटनाबाट सिक्छ र भावी पुस्तालाई जोगाउन प्रयास गर्छ। त्यसैले यस्ता घटनाबाट सिर्जित पीडालाई भुल्ने हो, तर यसको पाठलाई सम्झिरहने हो।

टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्प हामीकहाँ २०७२ को अवस्थालाई सम्झाउने किसिमको छ। हामीले त्योबेला बेहोरेको जस्तै क्षति त्यहाँका स्थानीयले यतिबेला भोगिरहेका छन्। हाम्रोजस्तै भावुकतापूर्ण समय त्यहाँ छ। हामीकहाँ २०७२ सालमा गएको भूकम्प र अहिले टर्कीमा गएको भूकम्पको म्याग्निच्युड झण्डै बराबर छ। जनधनका हिसाबले टर्की र सिरियामा गएको भूकम्पले हामीकहाँभन्दा बढी मानवीय क्षति पुर्‍याउन सक्ने देखिँदैछ।

टर्कीलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान सबेरै ७.८ म्याग्निट्युडको भूकम्प गएको हो। त्यतिबेला मानिस सुतिरहेका थिए। धन्य, हामीकहाँ भूकम्प जाँदा मध्य दिउँसो भइसकेका कारण पनि धेरैजसो व्यक्तिलाई ठूला भवनले किच्न पाएन। त्यसैले भूकम्पको समयका कारण पनि अहिले क्षति बढेको हो। ठूला दुई भूकम्पपछि कैयन् परकम्पसमेत आएका छन्। क्षतिको विवरण झन् अकासिएको छ।

बिहीबार अबेरसम्म टर्की सिरिया भूकम्पमा परेर १६ हजारभन्दा बढीको ज्यान गैसकेको छ। यो संख्या बढ्न सक्ने बताइएको छ। वर्षाैँदेखि गृहयुद्ध भोगेका सिरिया र टर्कीमा गएको यो भूकम्पले प्रकृतिका अगाडि मानव कति कमजोर रहेछ भन्ने देखाएको छ। प्रकृतिको यो विपत्तिलाई आधार मानेर पनि मानवबीच प्रेमभाव बढोस् भन्ने कामना गर्नुपर्ने हुन्छ।

यो भूकम्पपछि आलोचकहरूले प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरू सुनिश्चित गर्न सम्बद्ध देश अत्यन्तै कमजोर रहेको बताएका छन्। त्यसैकारण विपद्को पूर्वतयारी फितलो रहेको उनीहरूको टिप्पणी छ। भूकम्प प्रभावित उत्तरी सिरियाको अवस्था झनै जटिल रहेको छ।

वर्षौ लामो द्वन्द्वका कारण देशका पूर्वाधार ध्वस्त छन्। यसले त्यहाँ राहत कार्य जटिल बनेको छ। टर्की र सिरिया बीचको अन्तर्राष्ट्रिय सिमानाका सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ। अन्तर्राष्ट्रिय सहयोग र उद्धारलाई अगाडि बढाउन पनि यो सीमा खोल्नुपर्ने संयुक्त राष्ट्र संघले बताएको छ। सिरियामा सरकार नियन्त्रित र विद्रोहीले नियन्त्रण गरेका क्षेत्र छन्। यसले पनि राहत कार्यमा चुनौती थपिएको छ।

भूकम्प गएको ४ दिनसम्म पनि टर्की र सिरिया दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धार कार्य जारी छ। चिसो मौसमले यसलाई झन जटिल पारेको छ। विश्वका कैयन् देशले उद्धार तथा राहत टोली भूकम्पग्रस्त क्षेत्रमा पठाएका छन्।

विज्ञका अनुसार लाना सिरिया र दक्षिण टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरूको अवस्था निकै खराब थियो। त्यसैले भवन र अन्य भौतिक संरचनामा ठूलो क्षति भयो। घर तथा भवनहरू बलिया र भूकम्पप्रतिरोधी हुँदा भूकम्पका कारण हुने क्षति कम हुन्छ। महाभूकम्पले यो तथ्यलाई पनि मुखरित गरेको छ। भवन निर्माण संहिताले आम नागरिकको जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ। मानिसको जीवन अमूल्य छ। त्यसका निम्ति भवन निर्माण संहितालाई सशक्तरूपमा लागु गर्नुपर्छ भन्ने सन्देशसमेत यो घटनाले दिएको छ।

नेपाल र टर्की दुवै भूकम्पीय हिसाबले जोखिममा रहेका राष्ट्र हुन्। भूकम्पलाई कसैले रोक्न सक्दैन। तर भूकम्प आएको अवस्थामा यसले न्यूनतम असर पार्न सक्ने गरी पूर्वाधार तयार पार्न सकिन्छ। यसका लागि भौतिक निर्माणहरू भूकम्पमैत्री हुनुपर्छ। भूकम्प आएपछि गरिने उद्धार व्यवस्था तम्तयार रहनुपर्छ। जापान पनि भूकम्प धेरै गइरहने देश हो। यसले आफूलाई यस्ता विपदबाट जोगिने तयारीमा राखेको छ।  

२०७२ सालको भूकम्प अगाडि ‘नब्बे सालको भूकम्प’ लाई ठूलो भनेर चिनिन्थ्यो। त्यो भूकम्प १९९० सालको हो। २०७२ सालअघि पनि नेपाल भूकम्पीय जोखममा रहेको र ठूलो भूकम्प जान सक्ने भनिँदै आएको थियो। त्यसका लागि तयारी आवश्यक रहेको भनेर विभिन्न सार्वजनिक कार्यक्रममा विज्ञ र दातृ निकायका प्रतिवेदनले औल्याउँदै आएका थिए। यही पृष्ठभूमिमा हाम्रा बा/आमाहरू र हजुरबा/हजुरआमाले सुनाउने गरेका नब्बे सालको भैँचालोको अनुभव २०७२ सालमा हामी आफैँले भोग्यौँ। यो भूकम्पछि भवन तथा पूर्वाधार निर्माणमा भूकम्पलाई थेग्न सक्ने गरेर बनाउन भवन सहिता र नियमावलीहरू पनि निर्माण भएका छन्। तर अहिले पनि त्यस प्रकारका निर्माण भइनरहेको गुनासा सार्वजनिक भैरहेको छ। भूकम्प जाँदा तथा विपद्को अवस्थामा दौडेर जाने काठमाडौँमा खुला स्थान कति पनि पाइँदैन।

यस सन्दर्भमा नेपालले भविष्यमा आउन सक्ने भूकम्पका लागि पूर्वतयारीमा ध्यान दिनुपर्ने देखिएको छ। यसका लागि सर्वसाधारणदेखि नीति निर्मातासम्म सबैको ध्यान जान जरुरी छ। २०७२ को भूकम्पले पनि त्यही सन्देश र पाठ दिएको थियो। यसमा सबै गम्भीर हुनैपर्छ। भूकम्पबारे बालबालिकालाई स्कुल तहबाटै जानकार गराउन सक्नु पर्छ। यसो भएमा भविश्यमा तिनले आफू, परिवार र समुदायलाई जोगाउन सक्छन्। 

प्रकाशित: २६ माघ २०७९ २३:३७ बिहीबार

Download Nagarik App
Download Nagarik App