१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

हिमनदी संरक्षणको अपरिहार्यता

जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। अमेरिकाको कार्नेगी मेलोन विश्वविद्यालयका जलवायु वैज्ञानिकले गरेको सो अध्ययनले यो शताब्दीको अन्तसम्म पृथ्वीको सरदर तापमान २.७ डिग्री सेन्टिग्रेडले बढ्दा विश्वका ६८ प्रतिशत हिमनदी विलुप्त हुने देखिएको हो। हाल विश्वका विभिन्न देशले हरितगृह उत्सर्जन कटौती निम्ति तय गरेका अद्यावधिक लक्ष्य कार्यान्वयन हुँदा समेत विश्वको तापक्रम २.७ डिग्रीले बढ्न सक्ने देखिएको छ। उत्सर्जन कटौती लक्ष्यलाई अझै  महत्त्वाकांक्षी बनाउन विश्वले सकेन भने दुईतिहाइ हिमनदी हराउने प्रष्ट छ। यो निकै चिन्ताको विषय हो।

सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौताले औद्योगिक क्रान्ति सुरु हुनुअघिको अवधिको तुलनामा पृथ्वीको तापमान वृद्धिलाई २ डिग्री सेन्टिग्रेड भन्दा बढी हुन नदिन र सकेसम्म यसलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने लक्ष्य किटान गरेको छ। सन् २०२१ मा बेलायतको ग्लास्गोमा सम्पन्न जलवायुसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप २६) ले यो लक्ष्य हासिल गर्ने आशालाई जीवित राख्न विश्व समुदायले पुनः प्रतिबद्धता व्यक्त गरेको थियो। तापमान वृद्धिका लागि जिम्मेवार हरितगृह ग्यास उत्सर्जन कटौतीका लागि विश्वलाई महत्त्वाकांक्षी लक्ष्य तय गर्न ग्लास्गो सम्मेलनले निर्देश गरेको थियो। गत वर्ष इजिप्टमा सम्पन्न कोप–२७ ले ग्लास्गो प्रतिबद्धतालाई कार्यान्वयन गर्ने भने पनि कार्बन उत्सर्जन कटौतीमा ठोस प्रगति हासिल गर्न असफल रह्यो।

अमेरिकी तथा अन्य देशका वैज्ञानिकले गरेको उक्त अध्ययनमा विश्वको सरदर तापमान वृद्धिका विभिन्न परिदृश्यका आधारमा हिमनदी पग्लने क्रममा आउने परिवर्तनको बृहत् समीक्षा गरिएको छ। कम्प्युटर सिमुलेसनका आधारमा गरिएको अध्ययनमा पृथ्वीको तापमान १.५ डिग्री, २ डिग्री, ३ डिग्री तथा ४ डिग्री सेन्टिग्रेडले बढ्दा पहाडी क्षेत्रका हिमनदीमा पर्ने प्रत्यक्ष प्रभाव र यसले हिउँको थुप्रोमा पर्ने क्षतिको आकलन गरिएको छ। तापमान वृद्धिको न्यूनतमदेखि उच्चतम दरको अनुमानका आधारमा पृथ्वीमा रहेका हिमनदीहरू सन् २१०० सम्म ५० प्रतिशतदेखि ८३ प्रतिशतसम्म विलुप्त हृुने अध्ययनको प्रक्षेपण छ।

यो अवधिमा समुन्द्र सतह कम्तीमा ९ देखि १६.६ सेन्टिमिटरले बढ्न सक्ने अध्ययनको आकलन छ।

अध्ययनअनुसार सन् २०२१ सम्म २.७ डिग्री सेन्टिग्रेडले पृथ्वीको तापमान बढ्दा झण्डै ४८५ खर्ब टन हिउँ र बरफ पग्लनेछ। यो पृथ्वीमा रहेको सम्पूर्ण हिउँ र बरफका थुप्रो (ग्लेसियर मास) को ३२ प्रतिशत हुन आउँछ। यसरी हिमनदीहरू पग्लँदा करोडौँ मानिसले स्वच्छ पानीको स्रोत गुमाउने र हिउँ/पहिरो तथा बाढी जस्ता हिमनदीजन्य जोखिम बढ्ने क्रममा तीव्रता आउने वैज्ञानिक आकलन छ। यो अवस्थामा अलास्कादेखि आल्पस र नेपालको सगरमाथा आधार शिविरसम्म हिउँले ढाकेका क्षेत्र पग्लने र विलुप्त हुन सक्ने देखिएको छ। यसअघि गरिएका अध्ययनमा ठूला हिमनदी र क्षेत्रीय प्रक्षेपणमा बढी केन्द्रित रहेको बताउँदै अनुसन्धानकर्ताका पछिल्ला अध्ययनले विश्वका हरेक हिमनदीको अवस्था समीक्षा गरेका छन्। अध्ययन नतिजा यसअघि गरिएका आकलन भन्दा झन बढी चिन्ताजनक देखिएको छ।

गत साता विश्वप्रसिद्ध जर्नल साइन्समा प्रकाशित उक्त अध्ययन प्रतिवेदन अनुसार तापमान १.५ डिग्रीले मात्र बढेको खण्डमा समेत यो शताब्दीको अन्त (सन् २१००) सम्म पृथ्वीका आधा हिमनदी हराउनेछन् र यीमध्ये आधाजसो हिमनदीको अस्तित्व सन् २०५० भित्रै समाप्त हुनेछ। यसरी अस्तित्वको संकटमा रहेका अधिकांश हिमनदी १ वर्ग किलोमिटर भन्दा साना क्षेत्रफलका भए तापनि यी हिमनदी विलुप्त हुँदा स्थानीय जलवायु, पर्यटन, हिमनदीजन्य जोखिम तथा सांस्कृतिक पक्षमा नकारात्मक प्रभाव पर्ने अध्ययनको निष्कर्ष छ। यसअघि भएका अनुसन्धानभन्दा बृहत् हिसाबले गरिएको यो अध्ययनअन्तर्गत ग्रिनल्यान्ड र अन्र्टार्टिकामा रहेका हिउँका तह (आइससिट) बाहेक विश्वका जमिनमा आधारित सम्पूर्ण २ लाख १५ हजार हिमनदी (ग्लेसियर) को अध्ययन गरिएको थियो।

कार्बन उत्सर्जनका लागि सबैभन्दा बढी योगदान खनिज इन्धनको प्रयोगबाट हुने गरेको छ। युक्रेन युद्धका कारण सिर्जित विश्वव्यापी ऊर्जा संकटका कारण पछिल्ला वर्षहरूमा यो इन्धनको प्रयोगमा कमी आउनुको साटो झन बढोत्तरी भएको छ र यो इन्धन प्रशोधनमा लगानी पनि बढ्दो क्रममा छ। यसले पृथ्वीको तापमान वृद्धिलाई झन बढाउन सक्ने देखिएको छ। तापमानमा हुने यो बढोत्तरीले स्वच्छ पानी, सिँचाइ तथा पृथ्वीको पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण योगदान दिँदै आएका हिमनदीहरूको अस्तित्वमा संकट अवश्यम्भावी देखिएको छ। वैज्ञानिकले तापमानमा हुने हरेक वृद्धिले हिमनदी पग्लने र समुद्र सतह बढ्ने बताएका छन्। यसले स्थानीय जलविज्ञानमा प्रतिकूल प्रभाव पर्दा पारिस्थितिकीय प्रणाली बिथोलिने र प्राकृतिक विपद्का घटना बढ्ने निश्चित छ।

पृथ्वीको तापमान बढ्दा हिमताल बिष्फोट हुने सम्भावना झन् बढेको छ। हिन्दकुश हिमालय क्षेत्रमा पर्ने र बिष्फोटका संघारमा रहेका ४६ हिमतालमध्ये २१ वटा नेपालमा छन्। नेपालसँग जोडिएको हिमालय क्षेत्रमा सन् १९७० देखि २६ वटा हिमताल बिष्फोट भइसकेका छन् र यीमध्ये ११ वटा अन्य देशसँग जोडिएका हिमताल छन्।

नेपालमा उच्च हिमाल धेरै छन्। विश्वमा रहेको ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा ८ वटा पर्छन्। यसैगरी विश्वमा ६ हजार मिटर माथि रहेका १३१० हिमालका टाकुरा नेपालमै पर्छन्। अफगानिस्तान, भारत, पाकिस्तान, चीन, म्यान्मार, नेपाल, बंगलादेश, भुटान गरी ८ देशमा ३५ सय किलोमिटर लामो हिन्दकुश हिमालय शृंखला फैलिएको छ। यो हिमशृंखलामा नेपालको हिस्सा ८ सय किलोमिटर छ।

उत्तरी क्षेत्रमा पर्ने लामो हिमशृंखलाका कारण हिउँ, हिमनदी र हिमतालका हिसाबले पनि नेपाल धनी छ। यो क्षेत्र जलवायु परिवर्तनका उच्च जोखिममा छ। पृथ्वीको तापमान बढ्दा यो क्षेत्रको तापमान वृद्धि सरदरभन्दा झन बढी हुने देखिएको छ। जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा यसअघि कहिल्यै नभएका प्राकृतिक विपद्का घटना भएका छन्। गत वर्ष मेलम्चीको मुहान क्षेत्रमा २४ घन्टामै ९० मिलिमिटर वर्षा भयो। सोही वर्ष हिमालपारिको जिल्ला मनाङमा २०० मिलिमिटर वर्षा भयो। दक्षिणी छिमेकी भारतको चमौलीमा पहाड नै खस्ने गरी पहिरो गयो। यसरी हिउँनदी पग्लँदा हिमपहिरो जाने, लहरो तानेझैँ एक विपद्ले अर्काे विपद् निम्त्याउँदा शृंखलाबद्ध जोखिम देखिएको छ। यस्ता जोखिमका कारण जलविद्युत्, बाटोघाटोलगायत महँगा विकास परियोजना बनाउँदा जोखिमलाई ध्यान दिनुपर्ने देखिएको छ। 

प्रकाशित: ३० पुस २०७९ २३:२० शनिबार

Download Nagarik App
Download Nagarik App