अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको छ।
बाढीका कारण प्रसारण लाइनमा फाल्ट आउनुका साथै विद्युत् उपकरणमा क्षति र लाइनमा ओभरलोड हुँदा पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रको विद्युत् आपूर्तिमा अवरोध देखिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुसार सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ। कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट हुँदा करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ।
त्यस्तै रौघाङ–दाना १ र २ प्रसारण लाइनमा समस्या आएपछि करिब १५५ मेगावाट प्रभावित भएको छ।
बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ।
पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमता प्रभावित भएको मन्त्रालयले जनाएको छ।
रौघाट क्षेत्रमा पनि न्यू बुटवल–कुस्मा २२० केभी प्रसारण लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट विद्युत् प्रभावित भएको छ। उक्त लाइन बिहान ९ः५० बजेसम्म पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको विवरणमा उल्लेख छ।
बुटवल क्षेत्रमा पनि प्रसारण लाइनमा समस्या
बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेर फाल्ट भएको थियो। उक्त लाइन बिहान ९ः५१ बजे चार्ज गरिएको जनाइएको छ।
यस्तै, चापर–पथलैया १३२ केभी प्रसारण लाइन आउट हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गर्नुपरेको जनाइएको छ।
सुनवल–मैनिया तथा बुटवल सबस्टेसनअन्तर्गतका उद्योगतर्फ पनि विद्युत् आपूर्ति प्रभावित भएको छ। यहाँ करिब ५० मेगावाट लोड कटौती गरिएको छ।
हेटौंडा क्षेत्रमा १३२ र ६६ केभी लाइन प्रभावित
हेटौंडा क्षेत्रमा पनि बाढीका कारण विद्युत् प्रणालीमा समस्या देखिएको छ। माण्डु ६६ केभी प्रसारण लाइनमा बाढीका कारण करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको छ।
कावासोती–भारतपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटी जलेपछि विद्युत् आपूर्तिमा समस्या आएको छ।
सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर र वीरगञ्ज क्षेत्रका उद्योगमा करिब ८० मेगावाट तथा काम्ने सबस्टेसन र उद्योगतर्फ करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा पनि केही समय विद्युत् अवरोध
बाढी र प्रसारण प्रणालीमा आएको समस्याको असर काठमाडौंमा समेत देखिएको छ। पाटन सबस्टेसनमा बिहान ९ बजेदेखि ९ः१० बजेसम्म करिब १० मिनेट विद्युत् अवरोध भएको थियो। टेकु क्षेत्रमा पनि सोही समयमा करिब १० मिनेट विद्युत् आपूर्ति प्रभावित भएको जनाइएको छ।
पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि समस्या देखिएको थियो। बाढीका कारण एमआरएस इमर्जेन्सी सप्लाई प्रयोग गर्नुपरेको जनाइएको छ।
यस्तै, कावासोती सबस्टेसनमा बिहान ८ बजेदेखि ९ः१५ बजेसम्म २० मेगावाट र हरदी सबस्टेसनमा सोही अवधिमा २५ मेगावाट लोड कटौती गरिएको थियो।
त्यस्तै, सिमरा सबस्टेसनमा बिहान ६ बजेदेखि १० बजेसम्म २० मेगावाट तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा बिहान ६ः०१ बजेदेखि ८० मेगावाट लोड कटौती गरिएको थियो।
विभिन्न लाइन, उत्पादन र लोड अवरोधका परिमाण जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको अवरोध भएको मन्त्रालयले जनाएको छ।
बाढीका कारण जलविद्युत् आयोजनाको उत्पादनमा अवरोध आउनुका साथै प्रसारण लाइनमा फाल्ट, उपकरणमा क्षति र ओभरलोडका समस्या देखिएका छन्।
विशेषगरी पोखरा–बुटवल २२० केभी प्रसारण करिडोर र पथलैया आसपासका १३२ केभी प्रसारण लाइनमा आएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा उल्लेखनीय असर पारेको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ११ आश्विन २०८३ १२:३९ आइतबार





