२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ्यो

चितवनको भरतपुर महानगरपालिका ६ स्थित देवनगरका प्रकाश श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा मेसिनबाट धान रोपेको देखेका थिए। प्रत्यक्ष अनुभव गर्न भने पाएका थिएनन्। यस पटक भने श्रेष्ठ आफ्नै खेतमा मेसिनबाट धान रोप्न व्यस्त छन्।

करिब ६ बिघा क्षेत्रफलमा धान रोप्दै आएका श्रेष्ठले यस पटक धान रोप्नसमेत सहज भएको बताए। ‘गाउँछिमेकमा रोपाहार मधेसबाट ल्याएर खेत रोप्नुपर्दथ्यो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वन एकाइ चितवनले नजिकैको उन्नत बिउ विजन केन्द्रमा मेसिन दिएपछि धान रोप्न सजिलो भएको छ’, खुसी हुँदै उनले भने, ‘यसपटक निःशुल्कसमेत धान रोप्न पाएको छु।’

उनका अनुसार एक बिघा क्षेत्रफलमा धान रोपेको रोपाहारले १६ हजार रुपैयाँ लिन्थे। यसपटक निःशुल्क रोप्न पाएको उनले सुनाए। अन्य स्थानमा मेसिनबाट धान रोपेको पाँच हजार रुपैयाँ लिँदै आएका छन्। फेसबुकमा मेसिनबाट धान रोपेको देखेपछि उनले कृषि आधुनिकीकरण परियोजनामा आएर धान रोप्ने मेसिनबारे जानकारी लिएका थिए। त्यसबाट कार्यालयले उनलाई उन्नत बिउ विजन केन्द्रसँग जोडेको थियो।

देवनगरकै नारायण न्यौपानेले प्रत्यक्ष रूपमा खेतमा यसरी धान रोप्ने मेसिन कुदेको पहिलो पटक देखेका हुन्। चाखपूर्वक धान रोपेको हेरिरहेका न्यौपानेले आगामी दिनमा मेसिनबाट धान रोप्ने तयारी गरेका छन्। ‘मेसिनबाट धान कतिमा रोपिन्छ’, मोबाइलमा धान रोपिरहेको भिडियो कैद गरिरहेका न्यौपानेले भने ‘मेसिनले धान पनि छिटो रोप्दो रहेछ।’

कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले ५० प्रतिशत अनुदानमा देवनगरको उन्नत बिउ विजन केन्द्रलाई धान रोप्ने मेसिन उपलब्ध गराएपछि त्यहाँका किसान यस प्रविधितर्फ आकर्षित भएका हुन्।

चितवनमा रोपाइँ गर्दा कृषि उपकरणको प्रयोग बढेको छ। जिल्लामा प्रत्येक वर्ष मेसिनबाट धान रोप्ने किसान बढ्दै गएको कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनको तथ्यांकमा उल्लेख छ। जिल्लामा यसपटक मात्रै करिब सय बिघा बढी क्षेत्रफलमा मेसिनबाट चैते धान रोपिँदैछ। ‘चितवनका किसानले अघिल्लो आर्थिक वर्ष तीन सय हेक्टर क्षेत्रफलमा चैते धान रोपेका थिए। यस वर्ष ९८ हेक्टर क्षेत्रफल थपिएको छ’, कार्यालयका कृषि अधिकृत काशिराम पाण्डेले भने। उनका अनुसार उत्पादन लागत कम पर्ने हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो।

‘मेसिनबाट धान रोप्दा बिउ नै कम लाग्छ। ज्याला २५ प्रतिशत मात्र लाग्छ। मेसिनले धान मिलाएर रोप्ने हुँदा उत्पादनमा समेत वृद्धि हुन्छ’, मेसिनबाट धान रोप्दाको फाइदा बताउँदै भने, ‘लागत मूल्य नै कम पर्ने भएपछि किसानहरू मेसिन प्रयोग गर्न आकर्षित भएका छन्।’

उनका अनुसार एक कट्ठा क्षेत्रफलमा दुई किलो धान लाग्ने ठाउँमा मेसिनबाट रोप्दा ८०० ग्राम धानको बिउले पुग्छ।

चितवनमा २०७८/२०७९ सालबाट चारपाङ्ग्रे मेसिनबाट धान रोप्न थालिएको हो। पहिलो वर्ष कार्यालयको सहयोगमा चितवनका किसानले २ बिघा क्षेत्रफलमा मेसिनबाट धान रोपेका थिए। त्यतिखेर किसानलाई बुझाउनसमेत समस्या भएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत तथा तत्कालीन चितवनका कृषि अधिकृत माधव पौडेलले बताए।

‘यो प्रविधि भारतमा पनि राम्रोसँग विस्तार भएको छैन। जापान र चीनमा विस्तार भएको प्रविधि भएका दृष्टिले नेपाल र भारतमै नयाँ छ’, चितवनमा यो प्रविधि भित्र्याउँदाका दिन सम्झँदै पौडेल भन्छन्, ‘किसानलाई बुझाउन दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म पनि ४० देखि ५० किसानलाई भेट्थ्यौं। पहिलो वर्ष निःशुल्क गरिदिने भएपछि एक दुई जना किसानले रोप्न मान्नुभयो।’

कार्यालयले धानको नर्सरी स्थापना गरेर नै मेसिनतर्फ किसानलाई आकर्षित गरिरहेको छ। माटो चाल्नेदेखि पानी हाल्नेसम्मको काम यहाँका प्राविधिक गएर गर्ने गर्थे।

मेसिनबाट काम गर्न सहज र उत्पादन पनि बढी हुन थालेपछि आर्थिक वर्ष २०७९/२०८० मा २० बिघा क्षेत्रफलमा चैते धान रोपिएको थियो। चालु आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा दुई सय ५० बिघा क्षेत्रफलमा चैते धान रोपिएको कार्यालयको तथ्यांकमा छ। यस्तै आर्थिक वर्ष २०८१/८२ मा तीन सय बिघा क्षेत्रफलमा चैते धान रोपिएको जानकारी कार्यालय प्रमुख महेश रेग्मीले दिए।

‘असारमा पानी बढी भएर मेलो मिलाउन कठिन हुने भएकाले धेरै किसानले मेसिन प्रयोग गर्दैनन् । असारमा सय बिघा क्षेत्रफलमा मेसिनबाट धान रोपाइँ हुन्छ’, रेग्मीले भने चैते धान मेसिनले रोप्ने किसान बढिरहेका छन्। चैते धानलाई प्राथमिकतामा राखेर काम गरिहेका उनले बताए। जिल्लामा धान रोप्ने मेसिनको माग बढ्दै गएपछि कार्यालयले किसानलाई मेसिन खरिद गर्न सहयोग गरिरहेको छ। यस वर्ष मात्रै ६ वटा मेसिन खरिद गर्न किसानलाई ५० प्रतिशत अनुदान दिएको जानकारी कार्यालय प्रमुख रेग्मीले दिए।

चितवनमा धान रोप्ने मेसिनको प्रयोग केही वर्षदेखि सुरु भएको हो तर यसको प्रयोग बढ्न सकेको थिएन। खेतमा फाट्टफुट्ट यस्ता मेसिन देखिन्थे। तीमध्ये पनि प्रायजसो तीन पांग्रे मेसिन छन्। पाँचवर्षदेखि अलि फरक खालका धान रोप्ने चार पांग्रे मेसिन किसानको खेतमा कुद्न थालेका हुन्। रेग्मीका अनुसार हाल जिल्लामा चार पांग्रे मेसिन १३ वटा पुगेका छन्। यसपटक मेसिनबाट धान रोप्ने किसानको क्षेत्र विस्तार समेत भएको छ। ‘कठार, कुमरोज, बछौली, पिप्ले पटिहानी, माडिका किसानले मेसिन प्रयोग गरिरहेका छन्’, उनले भने, ‘चितवनमा चैते धानमा मेसिनको प्रयोग बढ्दो छ।’

कृषिमा आधुनिकीकरण गराउँदा किसानको लागत मूल्य घट्नुका साथै उत्पादन बढ्ने हुँदा किसानले यसतर्फ विशेष चासो देखाउने क्रम बढ्दै गएको उनको भनाइ छ।

‘मान्छेले एक बिघा क्षेत्रफलमा धान रोप्दा १६ हजार रूपैयाँ खर्च लाग्छ तर मेसिनले रोप्दा पाँच हजार रूपैयाँले पुग्छ’, उनले भने, मेसिनबाट धान रोप्दा प्रति बिघा १४ किलो बिउ, भए पुग्छ भने मान्छेले रोप्दा ५० किलो बिउ राखेर ब्याड बनाउनुपर्छ।’ मेसिनबाट रोपेको धानको उत्पादन ३० प्रतिशतले बढ्ने पनि उनले बताए।

चितवनको धान जोन क्षेत्रमा उत्पादकत्व ४.६७ प्रतिशत रहेको छ। मेसिनबाट धान रोप्नका लागि ट्रेमा बिउ राख्नुपर्दछ तर अहिले चितवनका किसानले प्लाष्टिकको म्याट बनाएर पनि बिउ राख्दै आएका छन्। चितवनमा चैते धान पाँच हजार ५० हेक्टरमा लगाउने गरिन्छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App