१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

एक महिनामै दुई खर्ब रेमिटेन्स

स्वदेशमा रोजगारी नभएर बिदेसिएका युवाले पठाएको विप्रेषण (रेमिटेन्स) आउने क्रम ह्वात्तै बढेको छ। यसपटक विप्रेषण आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ। एक महिनाकै अवधिमा करिब दुई खर्ब रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिटेन्स आएको छ। यो रकम पोहोर असोजको तुलनामा ५७ अर्ब रुपैयाँले बढी हो । गत वर्ष असोजमा एक खर्ब ४४ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ। तीन महिनाकै अवधिमा साढे पाँच खर्ब रेमिटेन्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई तीन अर्ब ९४ करोड डलर पुगेको छ। तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको एक लाख २३ हजार चार सय ५९ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार दुई सय ५७ रहेको छ। यो औपचारिक रूपमा कामदार जानेको संख्या हो। यसबाहेक भिजिट भिसा, विद्यार्थी भिसामा गएकाहरूबाट पनि रेमिटेन्स आउने गरेको छ।

विदेशबाट डलरमा रेमिटेन्स आप्रवाहमा वृद्धिसँगै विदेशी विनिमय सञ्चिति पनि बढेको छ। सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो। कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालु आवको तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असारसम्म दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई तीन खर्ब १२ अर्ब १० करोड रुपैयाँ कायम भएको छ।

मुलुकको अर्थतन्त्रका आन्तरिक सूचक सकारात्मक नरहे पनि बाह्य सूचक भने मजबुत देखिएका छन्। समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ६९ करोड डलरले बचतमा रहेको छ। त्यसैगरी समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ५५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब थियो। त्यसैगरी शोधनान्तर दुई खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो।

त्यसैगरी तीन महिनामा वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो। भारततर्फ निर्यात १३७.९ प्रतिशतले वृद्धि भएको छ। चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, पोलिस्टर धागोलगायत वस्तुको निर्यात बढेको छ। जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायत वस्तुको निर्यात घटेको छ।

त्यसैगरी तीन महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ पुगेको छ। वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरण लगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको छ।

महँगी घट्यो

राष्ट्र बैंकको प्रतिवेदनअनुसार महँगी घटेको छ। गत असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४७ प्रतिशतमा झरेको छ। पोहोर सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो। चालु आवको प्रथम त्रैमासको औसत मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४ दशमलव २६ प्रतिशत थियो। असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८० प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७ दशमलव ७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३ दशमलव ७१ प्रतिशत र माछा तथा मासुको ३ दशमलव १५ प्रतिशतले बढेको छ। तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ६३ प्रतिशत, मरमसलाको ७ दशमलव ८२ प्रतिशत र दाल तथा गेडागुडीको ४ दशमलव ४१ प्रतिशतले घटेको छ। काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४३, तराईको १ दशमलव २९, पहाडको १ दशमलव ५० प्रतिशत र हिमालको २ दशमलव ३३ प्रतिशत छ।

प्रकाशित: १ मंसिर २०८२ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App