बजार परिसूचक नेप्सेमा बिहीबार पनि गिरावट आएको छ । कारोबार हुने साताको अन्तिम दिन नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।
कारोबार रकम पनि बुधबारको तुलनामा १८ करोडले घटेको छ। बुधबार ५ अर्ब २० करोडको कारोबार भएको नेप्सेमा बिहीबार ३१९ स्टकको ५६ हजार ८२४ पटकको कारोबारमा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँबराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
३२ रुपैयाँ १० पैसाले बढेको विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको २४ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २० करोड र बलेफि हाइड्रोपावरको १४ करोड रुपैयाँबढीको कारोबार भयो ।
बिहीबार १३ उपसमूहमध्ये एउटाको मात्र परिसूचक बढेको छ बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। आज निर्जीवन बिमा उपसमूहको परिसूचक ०.१४ प्रतिशतले बढेको हो। अन्यको कारोबारमा १ प्रतिशतभन्दा कमले गिरावट आएको छ ।
प्रकाशित: ५ भाद्र २०८२ १५:४३ बिहीबार





