१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

पर्यटक आगमन: पर्यटक आगमनमा मध्यपूर्वको बाछिटा

एशियाली मुलका पाहुना बढे, अमेरिकी र यूरोपियन घटे

मध्यपूर्वका मुलुकमा जारी तनावका बीच नेपालमा यो मार्च महिनामा मात्र १ लाख २० हजार ५ सय १६ जना विदेशी पाहुना भित्रिएका छन्। मार्च महिनामा भित्रिएका विदेशी पाहुनामध्ये दक्षिण एशियाली र अन्य एशियाली मुलुकका पाहुनाको आगमन बढेको छ। मध्यपूर्वका मुलुकमा जारी तनावका कारण अन्य अन्य (यूरोपियन र अमेरिकन) मुलुकका पाहुनाको आगमन भने प्रभावित भएको छ।  

पर्यटन बोर्डका अनुसार यो मार्चमा मात्र दक्षिण एशियाली मुलुकका पाहुनाको आगमन ४२ हजार ६ सय ६८ रहेको छ। यो कुल आगमनको ३५ प्रतिशत हो। सन् २०२५ मार्चमा दक्षिण एशियाली मुलुकबाट ३५ हजार २ सय ८७ जना (२९ प्रतिशत) पाहुना भित्रिएका थिए। सन् २०२४ मार्चमा भने आगमन संख्या ४० हजार ७ सय २७ (३२ प्रतिशत) थियो।  

बोर्डका अनुसार अन्य यो मार्चमा अन्य एशियाली मुलुकबाट भित्रिएका पाहुनाको आकार ३३ हजार ४ सय ३६ रहेको छ। यो कुल आगमनको झन्डै २८ प्रतिशत हो। २०२५ मार्चमा एशियाली मुलुकबाट भित्रिएका पाहुनाको संख्या ३१ हजार ३ सय ५१ (२६ प्रतिशत) रहेको थियो। त्यही आगमन २०२४ मार्चमा भने २८ हजार ६ सय ४८ (२२ प्रतिशत) रहेको थियो।  

बोर्डका गण्डकी प्रदेश कार्यालयका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘मध्यपूर्वका मुलुकमा जारी तनावले यूरोपियन र अमेरिकी पाहुनाको आकार बढ्न सकेन। दक्षिण एशियाली र एशियाली मुलका पाहुनाको आकार बढेको छ,’ उनले भने, ‘मध्यपूर्वको तनावले एशियाली र दक्षिण एशियाली मुलका पाहुनालाई खासै असर गरेन।’  

बोर्डको तथ्यांक अनुसार मार्चमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतबाट २५ हजार ७ सय २८ जना नेपाल आएका छन्। त्यस्तै चीनबाट ११ हजार २ सय २०, श्रीलंकाबाट १० हजार ७ सय ५९ जना पाहुना भित्रिएका छन। म्यानमारबाट ६ हजार २० जना पाहुना भित्रिएका छन। बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन्। जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत आगमन वृद्धि भएको छ।  

अमेरिकाबाट भने यो मार्च महिनामा जम्मा ७ हजार ९ सय ७४ जना पाहुना भित्रिएका छन्। यो गत फेब्रअरीको भन्दा पनि कम आगमन हो। गत फेब्रअरीमा नेपालमा अमेरिकाबाट ९ हजार ७ सय १० जना पाहुना भित्रिएका थिए। त्यसैगरि मार्च महिनामा बेलायतबाट ४ हजार ८ सय १४ जना पाहुना भित्रिएका छन्। यो आगमन गत फेब्रुअरीमा ५ हजार ६ सय १८ जना पाहुना आएका थिए। अमेरिका र बेलायत सहितका मुलुकबाट भित्रिने पाहुनाको आगमन भने प्रभावित भएको बोर्डको भनाई छ।

‘पर्यटकीय हिसाबले यो बेला मुख्य सिजन हो। यो सिजनमा पदयात्राका पर्यटक आउँछन्। तर, यो पटक पदयात्रामा रमाउने यूरोपियन र अमेरिकी पाहुना प्रभावित भए,’ लामिछानेले भने, ‘एशियाली मुलका पाहुनाका कारण पर्यटन क्षेत्रले केही राहत महसुस गरेको छ।’ मध्यपूर्वका मुलुकमा जारी तनावका कारण यूरोपियन र अमेरिकी पाहुनाको आगमन बढ्न नसकेको पनि उनले बताए।  

‘सिजनको पर्यटन प्रभावित भएको छ। यो बेला पदयात्राका लागि आउने पाहुना रोकिए। कतिपय पाहुना बीचबाटै फर्किन बाध्य भएका छन,’ लामिछानेले भने, ‘मध्यसिजनमा पर्यटन क्षेत्रमा देखिनुपर्ने उत्साह यो पटक जाग्न सकेन।’ 

अहिलेको पाहुना अभावलाई पुरा गर्नका लागि अब दक्षिण एशियाली मुलुकमै प्रवर्द्धन गर्नमा जोड दिनुपर्ने पनि बताए। ‘एशियाली मुलुक र छिमेकी मुलुकमै पर्यटन प्रवर्द्धन गर्न जरुरी छ। अब पर्यटन बोर्ड र व्यावसायीले प्रवर्द्धनको योजना केही बदल्नुपर्ने हुन्छ।’

तथ्यांक अनुसार गत फेब्रुअरीमा मात्र नेपाल भित्रिएका दक्षिण एशियाली मुलुकका पाहुनाको संख्या ३५ हजार ३ सय ४८ (३३.५प्रतिशत) रहेको थियो। अन्य एशियाली मुलुकबाट भने २९ हजार ८ सय ५७ (२८.३ प्रतिशत) पाहुना भित्रिएका थिए। यूरोपियन मुलुकबाट भित्रिने पाहुनाको संख्या १७ हजार ४ सय ९३ (१६.६ प्रतिशत) थियो। त्यो संख्या अमेरिकी पाहुनाको संख्या ११ हजार ८ सय १५ (११ प्रतिशत) रहेको थियो।  

पर्यटन व्यावसायी पनि अहिलेको सिजन मध्यपूर्वका मुलुकमा जारी तनावले प्रभावित भएको बताउँछन्। होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘हामी सिजनको मध्य समयमा छौं। तर, पाहुना सोचेजस्तो भित्रिन सकेनन। यसले पर्यटन क्षेत्रमा चिन्ता पलाएको छ,’ उनले भने, ‘पर्यटक भित्रिने समयमा सोचेजस्तो पाहुना आएनन। अघिल्लो सिजन जेनजी आन्दोलनले प्रभावित भएको थियो, यो पटक मध्यपूर्वका मुलुकमा जारी तनावले प्रभावित भएको छ।’  

प्रकाशित: १८ चैत्र २०८२ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App