जेनजी आन्दोलनले महिनादिन नाघिसकेको छ। आन्दोलन नहुँदो हो त यो बेला पर्यटन क्षेत्र चम्किएको हुन्थ्यो। विदेशी पाहुनाको भीडले पर्यटन क्षेत्रका व्यावसायीलाई आतिथ्यतामा व्यस्त बनाउँथ्यो। तर, अहिले त्यस्तो छैन। पर्यटकीय सिजनको मुखैमा आन्दोलन हुँदा त्यसको मार पर्यटन क्षेत्रमा पर्यो।
पर्यटन क्षेत्रले आन्दोलनको क्रममा ठूलो आकारमा भौतिक क्षति पनि बेहोर्यो। त्यत्ति मात्र नभई यो सिजनमा नेपाल घुम्न आउने भन्दै विदेशी पर्यटकले गरेको अग्रिम बुकिङ एकाएक रद्द भयो। भ्रमण रद्द गरेका पाहुना अब नेपाल आउँछन वा आउँदैनन् भन्ने टुंगो छैन। नेपालको यात्रा रोकेर कतिय पाहुना अन्यत्रै डाइभर्ट भईसकेको व्यावसायीको अनुमान पनि छ।
सिजनको बेला पाहुनाविहीन बनेको पर्यटन क्षेत्र यतिबेला के र कसो गर्ने भन्ने अन्योलमा छ। पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा कसरि फर्काउन सकिन्छ भन्ने दोधारमा व्यावसायी छन। मुख्य पर्यटकीय सिजन गुजारेको एकमहिना बितिसक्दा अब कसरी अघि बढ्ने वा पर्यटक भित्र्याउन के गर्ने भन्ने योजना व्यावसायीले बनाउन सकेका छैनन। अहिलेको सिजन यत्तिकै खेर जाने भयो भन्नेमा चिन्तित रहेका व्यावसायीलाई अब कसरी अघि बढ्ने भनेर कसैले तत्कालै ‘गाइड’ समेत गरेको छैन।
व्यावसायी भन्छन, ‘अन्योलमा गुज्रेको पर्यटन क्षेत्रलाई अब कसरी पार लगाउने भन्ने यकिन छैन। पर्यटन क्षेत्र अन्योलको भूमरीमा परेको छ।’ विदेशी वा स्वदेशी पाहुना भित्र्याउनका लागि के कस्तो रणनीति बनाउने भन्ने पनि अझै यकिन नभएको उनीहरु बताउँछन। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)गण्डकीका अध्यक्ष कृष्ण आचार्य भन्छन, ‘जेनजी आन्दोलन भएको एकमहिना कटिसक्यो। अहिलेसम्म पर्यटनमन्त्री पनि नियुक्त गरिएको छैन। पर्यटन क्षेत्र नितान्त अभिभावकविहीन बनेको छ। यस्तो अवस्थामा पर्यटन प्रवर्द्धनले गति लिन सक्दैन। हामी नै अभिभावकविहीन बन्यौ।’
पर्यटनलाई सरकारले उत्तिसारो प्राथमिकता नदिएको गुनासो उनको छ। राज्यको आम्दानीको महत्वपूर्ण हिस्सा ओगटेको र हजारौंलाई रोजगारी दिएको पर्यटन क्षेत्रका लागि अहिले सरकारको ध्यान नपुगेको उनको भनाई छ।
‘जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा चोट लागेको छ। त्यो चोटमा मल्हम लगाउनुपर्ने जिम्मेवारी सरकारको हो,’ उनले भने, ‘पर्यटकीय संरचना ध्वस्त पारिएको छ। तोडफोड र आगजनीका कारण पर्यटन क्षेत्रले करोडौं रुपैयाँ नोक्सानी खेप्नुपरेको छ नेपालको यात्रा असुरक्षित भन्दै पर्यटकहरु आउन डराएका छन। यस्तो अप्ठेरो अवस्थाबाट गुज्रेको पर्यटनलाई कसरि माथि उठाउने भनेर सरकारले ध्यान दिएको देखिएको छैन।’
जेनजी आन्दोलनपछि नेपालबारे अन्तर्राष्ट्रिय बजारमा नराम्रो सन्देश प्रवाह भएको उनले बताए। ‘नेपाल घुमघाम सुरक्षित छैन भन्ने सन्देश प्रवाह भएको छ। सिंगो देशबारे नराम्रो सन्देश फैलिएको छ। नेपालबारे फैलिएको गलत सन्देश तत्काल चिर्नुपर्छ,’ आचार्यले भने, ‘नेपालबारे फैलिएको गलत सन्देश चिर्नका लागि सरकारको भूमिका महत्वपूर्ण रहन्छ। हामी व्यावसायीले मात्र गलत सन्देश चिर्न सक्दैनौं। त्यसैले सरकार चाहिएको हो।’
पर्यटन क्षेत्रमा बादल लागे वा पानी परे पनि असर गर्ने भएकोले नेपालबारे हरेक दृष्टिकोणबाट गलत सन्देश प्रवाह भएको उनले बताए। ‘जेनजी आन्दोलन मात्र नभई केहीदिन अघिको विपत्को प्रवाभले पनि नकारात्मक सन्देश फैलिएको थियो। तर, त्यो सन्देश समेत सच्चाउने प्रयास कतैबाट भएको छैन,’ उनले भने, ‘पर्यटन व्यावसायी सबैतिरबाट मर्कामा छन। पर्यटन क्षेत्र अभिभावकविहीन भएको छ। यसले हामीलाई पनि अन्योल बनाएको छ।’
पर्यटन क्षेत्रमा आइपरेको अप्ठेरोलाई पार लगाउनेबारे व्यावसायीबीच आन्तरिक छलफल भएपनि त्यसले उत्तिसारो परिणाम निकाल्न नसक्ने उनले बताए। ‘पर्यटनमाथिको अहिलेको अप्ठेरोले अर्कोवर्ष पनि असर पर्छ। अहिले राम्रो नभएकोले अर्काेवर्ष आउने तयारीमा रहेका पर्यटक पनि अन्यत्र डाइभर्ट हुन सक्छन,’ टान अध्यक्ष आचार्य भन्छन, ‘पर्यटकले कम्तिमा एकवर्ष पछिको योजना बनाएर बल्ल घुम्न आउने हुन। आगामि वर्षका लागि अहिले नै तयारी गर्नुपर्छ। त्यसैले यो बेला सकारात्मक सन्देश प्रवाह गर्न जरुरी छ।’ त्यसका लागि सरकारले प्रवर्द्धनका रणनीति बनाउने, अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपालबारे फैलिएको गलत सन्देश चिर्न पहल गर्नुपर्ने उनको भनाई छ।
पर्यटन क्षेत्र सुरक्षित रहेको र पाहुनालाई कुनै समस्या नरहेको भनेर अहिले नै सकारात्मक सन्देश प्रवाह गर्न नसक्ने हो भने आगामि वर्षमा पनि पाहुना भित्र्याउन सहज नहुने उनले बताए। ‘जेनजी आन्दोलनपछि प्रदेश सरकार र स्थानीय तहको भूमिका झनै कमजोर देखिएको छ। प्रदेश सरकारको भूमिका कतै भएन,’ उनले भने, ‘नकारात्मक सन्देश प्रवाह भएको छ। त्यसलाई चिर्न जरुरी छ। त्यसका लागि पर्यटन बोर्ड, संघीय, प्रदेश र स्थानीय सरकार सहित पर्यटन व्यावसायी सबैको भूमिका रहन्छ।’ अहिले पर्यटन बोर्ड सहित सरकारी निकाय सुस्ताएको ले उनले बताए। व्यावसायीको मात्र भूमिकाले नपुग्ने उनको भनाई छ।
व्यावसायीले अहिले सुस्ताउन पुगेको पर्यटन क्षेत्रलाई उकास्न अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन सहित नेपालबारे फैलिएको गलत सन्देशलाई सच्चाउन जरुरी रहेको बताउँदै आएका छन। विभिन्न मुलुकले नेपालको यात्रामा आउन चाहेका आफ्ना नागरिकलाई सचेत बनाउँदै ट्राभल एड्भाइजरी जारी गरेकोले पनि अहिले पाहुना आउन डराएकोमा अब त्यो सन्देश सच्चाउनुपर्ने उनीहरु बताउँछन।
‘ट्राभल एड्भाईजरी जारी गर्दै विभिन्न मुलुकले नेपालको यात्रामा निस्केका पर्यटकलाई सचेत बनाएका छन। त्यसको प्रभाव स्वरुप अहिले यूरोपियन मुलका पाहुना आएका छैनन,’ पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन, ‘जेनजी आन्दोलन भएपनि नेपालको यात्रा सुरक्षित रहेको सन्देश फैलाउनुपर्छ। यसका लागि सरकार देखि व्यावसायीको भूमिका रहन्छ।’
पर्यटन बोर्डका गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने पर्यटन मन्त्रालय मार्फत पर्यटन सम्बद्ध कामहरु नियमित भईरहेको बताउँछन। ‘मन्त्री नहुँदैमा पर्यटन प्रवर्द्धनका कार्यक्रम रोकिने भन्ने हुँदैन। नियमित गतिविधि भएका छन पर्यटन मन्त्रालय मार्फत काम भईरहेको छ,’ लामिछाने भन्छन, ‘पर्यटनलाई कसरी उकास्ने भन्ने विषयमा बोर्ड गम्भिर छ। जस्तोसुकै अप्ठेरो अवस्था पनि सहजै सहन सक्ने क्षमता नेपालको पर्यटनमा भएपनि आगामि दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भईरहेको छ।’
नेपाल सुरक्षित गन्तव्य नै हो भनेर अन्तर्राष्ट्रिय मिडियामा प्रचार गर्ने, विभिन्न इन्फ्लुयन्सरलाई नेपाल भित्र्याएर प्रवर्द्धन गर्ने योजना बोर्डले बनाईरहेको उनले बताए। ‘पोखराले पनि क्षति भोगेको हो। तर, अहिले लेकसाइड क्षेत्र सुरक्षित रहेको भन्ने आभाष दिलाउन ठाउँठाउँमा सिसिटिभी जडान गरिएको छ। त्यसैले मन्त्री नहुँदैमा काम रोकिँदैन,’ उनले भने। उनले पनि विभिन्न मुलुकले जारी गरेका ट्राभल एड्भाईजरीलाई सच्चाउन जरुरी रहेको बताए। ‘नेपाल सुरक्षित गन्तव्य हो भनेर भन्न सकिन्छ। पोखरा अझ बढी सुरक्षित छ भन्ने देखाउने प्रयास भईरहेको छ,’ उनले भने।
प्रकाशित: २८ आश्विन २०८२ १५:४७ मंगलबार




