जेन-जी प्रदर्शनको प्रभावले देशभर पर्यटन, व्यापार र उद्योग क्षेत्रमा ठूलो क्षति पुगेको छ। युवा व्यवसायी प्रबल जंग पाण्डेले यो अस्थिरताले आर्थिक गतिविधि ठप्प भएको तर्क गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै अहिले देशमा तोडफोड र विरोधबाहेक सबै बाटो बन्द भएको भन्दै गुनासो पोखेका छन्।
पाण्डेले लेखेका छन्, ‘हायत होटल, हिल्टन होटल र पोखराका केही होटल बन्द भएका छन्। पर्यटक आगमन रोकिएको छ, आधाभन्दा बढी भाटभटेनी स्टोर बन्द छन्, चन्द्रागिरी केबलकारको सञ्चालन ठप्प छ। धेरै कलकारखाना माग घटेका कारण पहिल्यै बन्द थिए भने ३० ठूला उद्योगको विद्युत महसुल विवादमा प्राधिकरणले लाइन काटेर सञ्चालन रोकिएको छ।’
उनले अगाडि लेखेका छन्, ‘खुला छ त केवल राजनीतिक दल दर्ता, कार्यकर्ता भर्ती, गाली र विरोध गर्ने मुख, अनि व्यक्तिगत र सार्वजनिक सम्पत्ति जलाउने हात।’ जेन-जी प्रदर्शनमा परेका हायतसहित अन्य होटल बन्द हुँदा पर्यटन र व्यापारमा हजारौँको रोजगारी जोखिममा परेको छ।
प्रकाशित: ८ कार्तिक २०८२ १२:३९ शनिबार




-600x400.jpg)
