आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा २ लाख ७८ हजार १ सय १३ जना विदेशी पाहुना घुम्न गए। ती सबै पर्यटक एउटै रुटमा घुम्न भने गएका होइनन्। अन्नपूर्ण क्षेत्रभित्र मात्र मुख्य १८ वटा पर्यटकीय रुट चल्तीमा छन्, जहाँ स्वदेशी तथा विदेशी पर्यटकले घुमघामको क्रममा फरक प्रकृति र अनूभव बटुल्न पाउँछन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले तिनै १८ वटा रुटलाई मुख्य पदमार्गको रुपमा प्रवर्द्धन र सम्बर्द्धन पनि गर्दै आइरहेको छ। एक्याप प्रमुख रविन कडरियाका अनुसार १८ वटा रुटमा कुनैपनि बेला र मौसममा घुमघामका लागि जान सकिन्छ। १८ वटा रुटको पदयात्राका क्रममा पर्यटकले फरकफरक अनुभूति बटुल्न पाउँछन। ग्रामिण बस्तीदेखि उच्च हिमाली भेगसम्मको पदयात्रा गर्न पाइने यी रुट सुरक्षित पनि रहेको कडरिया बताउँछन्।
‘अन्नपूर्ण क्षेत्रभित्र सानातिना गरेर धेरै रुट छन। तर, मुख्य पदयात्राको रुपमा भने १८ वटालाई पहिचान गरिएको छ, जहाँ वर्षमा हजारौंको संख्यामा आन्तरिक र बाह्य पर्यटक घुमघामका लागि जान्छन,’ उनले भने, ‘अन्नपूर्ण क्षेत्रभित्रका १८ वटा रुटको पहिचान फरक छ। फरक गाउँका फरक बासिन्दा भेट्न पाउनेदेखि फरक सांस्कृतिक पहिचान पनि यही क्षेत्रभित्र देख्न पाइन्छ।’ प्रकृति र संस्कृतिका हिसाबले भिन्न भएपनि चल्तीमा रहेका यी १८ वटा रुट सबै मौसमका लागि घुमघामका लागि उपयुक्त रहेको उनले बताए।
.jpg)
१८ मध्ये पदयात्रामा जाने पर्यटकहरु सबैभन्दा बढी उचाईको थोराङला भञ्ज्याङको ५ हजार ४ सय १६ मिटरसम्म जान सक्छन। एक्यापका अनुसार मनाङमा मात्र चारवटा रुट अब्बल छन्। अन्नपूर्ण फेरोको पदयात्रा मनाङको मुख्य पहिचान हो। अन्नपूर्ण फेरोको पदयात्रामा जाने पर्यटक ५ हजार ४ सय १६ मिटरको थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ ओर्लिन पाउँछन।
त्यस्तै मनाङको अर्काे साहसिक रुट हो नार फू ट्रेक हो। नार फू हुँदै काङला पासको ५ हजार ३ सय २० मिटरसम्म पर्यटक उक्लिन पाउँछन। त्यस्तै मनाङमै रहेको अर्काे चल्तीको रुट भिमथाङ हुँदै लार्केपाससम्मको हो। मनाङमै रहेको चल्तीको अर्काे रुट हो तिलिचो पदमार्ग, जहाँ ४ हजार ९ सय १९ मिटर उचाईको तिलिचो तालसम्म उक्लिन सकिन्छ।
अर्काे हिमाली जिल्ला मुस्ताङभित्र पनि तीनवटा रुटलाई एक्यापले मुख्य पदमार्गको रुपमा प्रवर्द्धन गरिरहेको छ । मुस्ताङको ठिनी हुँदै तिचिलो तालसम्मको रुट यसैमा पर्छ। त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ पनि यहीभित्र समेटिएको छ। अर्काे रुट मुक्तिनाथसम्मको छ। मुक्तिनाथ धार्मिक पर्यटकीय गन्तव्य हो, जहाँ वर्षमा हजारौं भारतीय र स्वदेशी पाहुना दर्शन गर्न पुग्छन।
एक्यापले म्याग्दीमा तिनवटा रुटलाई मुख्य मानेको छ। खोप्राट्रेकको खयरलेकसम्मको रुट चल्तीको छ। त्यस्तै नर्थ अन्नपूर्ण आधारशिविर (एबिसी) पदयात्रा पनि यसैमा समेटिएको छ। नर्थ एबिसीको पदयात्रा अन्नपूर्णको ४ हजार १ सय ९० मिटरसम्म जान सकिन्छ। घोरेपानी–पुनहिल पदमार्ग पनि यही भित्र पर्छ। घोरेपानी–पुनहिल पदमार्ग आन्तरिक पदयात्रीमाझ पनि निकै नै लोकप्रिय रहेको छ।
.jpg)
कास्कीमा भने पाँचवटा रुटलाई मुख्य मानिएको छ। एक्यापका अनुसार किर्कुपास रुटमा ४६ सय मिटरसम्म उक्लिन सकिन्छ। मर्दि हिमालको ४५ सय मिटरसम्म पुग्न सकिन्छ। त्यस्तै हिडनलेक ट्रेक पनि चल्तीमा छ। अन्नपूर्ण आधारशिविर कास्कीमा सबैभन्दा बढी परिचित रुट हो। जहाँ वर्षमा हजारौं पर्यटक उक्निले गर्छन। घलेखर्क–सिक्लेस–कपुचे–कोरी पनि पछिल्लो समय चल्तीको पदमार्ग बनेको छ। खुमई पदमार्गको कोर्चनसम्मको पदमार्गले पनि पहिचान बनाएको छ।
लम्जुङमा भने घलेगाँउ–दुधपोखरी–मनाङ हुँदै नामुनपाससम्म पनि जान सकिन्छ। यो रुटमा भने बढीजसो क्याम्पिङ पर्यटन चल्ने एक्यापको भनाई छ। भुजुङ–सिक्लेस–क्वहोलासोथारसम्मको रुटमा पनि पछिल्लो समय चल्तीमा पर्न थालेको छ। ‘अन्नपूर्ण क्षेत्रभित्र धेरै रुट छन, तर, १८ वटालाई एक्यापले मुख्य रुट मानेको छ। यी रुटहरु सधैंको पदयात्राका लागि अब्बल पनि मानिएका छन,’ कडरिया भन्छन, ‘सर्वाधिक धेरै संख्यामा पर्यटक पुग्ने रुट पनि यिनै हुन।’
कडरियाका अनुसार हिउँद वा वर्षायाम कुनैपनि सिजनमा यी रुटमा पदयात्रा गर्न सकिन्छ। आक्कल झुक्कल हिमपात र बाढीपहिरोले अप्ठेरो पारेपनि अधिकांश समय यी रुटमा पाहुना जाने गरेको उनले बताए। ‘वर्षायाम र हिउँदताका समेत नरोकिने रुटहरु छन। लोमान्थाङ, सिक्लेस–कपुचे–खोप्रा लगायतका रुटमा वर्षयाममा पनि जान सकिन्छ,’ उनले भने, ‘पर्यटकले फरक रुटमा फरक अनुभूति बटुल्न पाउँछन। पाहुनाले रुची अनुसार पदयात्रा गर्न सक्छन।’
.jpg)
१८ वटा रुट भएकोले ती रुटको पदयात्रा गर्दाखेरी अनुभव पनि फरक बटुल्न पाइने उनले बताए। त्यसबाहेक ती रुटमा खानबस्नको असुविधा पनि छैन। सुरक्षाको पनि अब्बल व्यवस्था रहेको एक्यापको भनाई छ। ‘अन्नपूर्ण क्षेत्रभित्र एउटा रुटमा मात्र घुम्न गएर पुग्दैन, फरक अनुभूति बटुल्ने हो भने फरक रुटमा जानैपर्छ,’ प्रमुख कडरिया भन्छन्, ‘समय अनुसार पदमार्गमा रमाउने बस्तुमा पनि भिन्नता पाइन्छ। मौसम अनुसार पर्यटकले फरक प्रकृति नियाल्न पाउँछन।’
उनका अनुसार फरक ठाउँमा पदयात्रा गर्दा फरक समुदायसँग साक्षात्कार गर्न सकिन्छ। पदयात्रा गर्दा फरक जातीय समुदायसँग भेटघाट गर्न पाइने भएकोले पनि पर्यटकका लागि नौलो हुने गरेको छ। कडरियाका अनुसार १८ वटै रुटमा फरक समुदाय, वातावरण, बोटविरुवा, वन्यजन्तु, मौसम अनुसारको फूल देख्न सकिन्छ।
‘वर्षायाममा कपुचे–कोरीको रुटको पदयात्रामा जाने हो भने बुकीफूलको रमाइलो देख्न सकिन्छ। यो बेला अन्नपूर्ण आधारशिविरमार्गमा पनि त्यस्तै फरक फूलको दृष्यमा रमाउन पाइन्छ,’ उनले भने, ‘अन्नपूर्ण क्षेत्रभित्रका रुटमध्ये एउटै मात्र पर्याप्त छैन। अघाउन्जेल पदयात्राका लागि फरक रुटमा जानैपर्छ।’ साहसिक देखि प्राकृतिक सुन्दरतासँग साक्षात्कार गर्नका लागि पर्यटक फरक पदमार्गमा जानुपर्ने कडरियाको भनाई छ।
पर्यटन व्यावसायी पनि अन्नपूर्ण क्षेत्रभित्रका पदमार्गले पाहुनालाई कहिल्यै विचलित नबनाउने बताउँछन। समय र मौसम अनुसार पाहुनाले अन्नपूर्ण क्षेत्रभित्र फरक प्रकृतिक नियाल्न र अनुभव गर्न पाउने उनीहरुको भनाई छ। अन्नपूर्ण आधारशिविर (एबिसी) मा पर्यटन व्यावसाय संचालनको साढे तीनदशक लामो अनुभव बटुलेका होटल व्यावसायी जगनराज गुरुङ भन्छन, ‘जति नै समय आधारशिविरमा बसेपनि मन अघाउँदैन। हिउँद वा वर्षा बाह्रैमास त्यहाँको मौसम र प्राकृतिक दृष्यले ४१ सय ३० मिटर उचाइँको आधारशिविरमा पाहुनालाई लोभ्याउँछ।’
उनका अनुसार वर्षायामको यो बेला हरियाली र फूलेको फूलले त्यहाँ पाहुनालाई लोभ्याएको छ। हिउँदताका हिउँले सेताम्य हुने भएकोले दृष्य लोभलाग्दो हुन्छ। अहिले हरियालीले उक्त क्षेत्र ढाकेको छ। खोलानाला, झरनाको आवाज, पदमार्गमा फुलेका रंगीचंगी पुल, ठाउँठाउँमा भेटिने भेँडाको बथानले उक्त क्षेत्रमा जाँदा पर्यटकले रोमाञ्चक अनुभव गर्न पाउने उनले बताए। ‘फरक समयमा फरक अनुभव गर्नका लागि पाहुना पनि दोहोरिएर आउन थालेका छन। एउटै पाहुना बारम्बार दोहोरिएर आउनुको कारण पनि यही हो,’ उनले भने।
प्रकाशित: १५ भाद्र २०८२ १८:०४ आइतबार





