अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रमा घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई कुनै किसिमको दुःख नदिने, तर संगठित तस्करीविरुद्ध कडा रूपमा प्रस्तुत हुने सरकारको नीति रहेको बताएका छन्।
रास्वपा पार्टी मुख्यालय वनस्थलीमा आयोजित ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तर्क्रियामा बोल्दै वाग्लेले लामो समयदेखि एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर लाग्ने व्यवस्था रहेकोमा सरकारले त्यसको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्याएको बताए।
उनले सीमा क्षेत्रका सर्वसाधारणले घरायसी प्रयोजनका लागि खरिद गरेर ल्याउने साना–तिना सामानमा अनावश्यक दुःख दिन नहुने बताए। “सीमा रक्षक मधेशका दाजुभाइ तथा दिदीबहिनीलाई नाकामा कुनै पनि किसिमको दुःख हुन दिँदैनौँ, तर तस्करविरुद्ध भने निर्मम छौँ,” उनले भने।
वाग्लेले सीमामा कडाइ गरेपछि नेपालतर्फका बजार चलायमान भएको र व्यवसायीहरू उत्साहित भएको दाबी गरे। तर, संगठित तस्करीका कारण राजस्व चुहावट र अन्य आपराधिक गतिविधि बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।
अर्थमन्त्री वाग्लेले भने,'लामो समयदेखि आर्थिक ऐनमा एक सय रुपैयाँभन्दा बढीका वस्तुविदेशबाट आयात गर्दा कर लाग्ने नियम थियो। यो नियम रास्वपा सरकारमा आएपछि वा बालेन शाह प्रधानमन्त्री भएपछि बनेको होइन।
एक सय रुपैयाँले के नै आउँछरु एक किलो चिनी, एउटा साबुन, एउटा मन्जन, वा कापी(कलम पारीबाट ल्याउँदा कर असुल्नु अस्वाभाविकै हो। त्यसैले यसलाई हामी सरकारमा आएपछि बढाएर पाँच सय रुपैयाँ पुर्यायौँ।
यसलाई अझ बढाउने कि भन्ने पनि कुरा उठ्यो। एक हजार, दुई हजार वा पच्चीस सय रुपैयाँ पुर्याउने कि भन्ने विषयमा पनि छलफल भयो, तर यहाँ दुईवटा नीतिको विषय अगाडि आयो।
त्यो के भयो भने, नेपालतर्फका बजारहरू सुकेका थिए। हामीले पारीबाट सामान ल्याउन थोरै कडाइ गर्दा नेपालतर्फका बजारहरू पछिल्लो समय गुल्जार भएका छन्, चलायमान भएका छन्। व्यापार फर्कियो, व्यापार तंग्रियो भन्दै नेपालतर्फका व्यापारीहरू खुसी छन्।'
उनले सशस्त्र प्रहरीलाई समेत सीमामा रहेका सिधासाधा नागरिक र तस्करीमा संलग्न व्यक्तिबीच फरक छुट्याएर व्यवहार गर्न आग्रह गरिएको बताए। साथै, सीमा क्षेत्रमा देखिएका समस्या र भन्सार तथा प्रहरी प्रशासनलाई थप जनमैत्री बनाउन नागरिकबाट सुझाव आवश्यक रहेको उनले बताए।
प्रकाशित: ५ भाद्र २०८३ १९:०४ शुक्रबार





