म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन्। आवाजको भरमा मान्छे चिन्छन्। हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ। शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन्। कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाए। विदेशमा सोचेजस्तो सफलता मिलेन।
विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो। आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन्। ‘विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए पनि हिम्मत हारिन”, उनले भने, ‘खेतालाहरूलाई आइडिया दिएर काम गराइरहेको छु।’
कृषि पेसाबाटै आत्मनिर्भर बनेका इन्द्रप्रसाद र उहाँकी श्रीमतीले सञ्चालन गरेको इन्द्रदेवी कृषि फार्मले पाँच जनालाई आंशिक रोजगारी दिएको छ। कृषि फार्मबाट भएको आम्दानीले घरव्यवहार चलाउने र छोरीलाई काठमाडौँमा विज्ञान विषयमा स्नातक तह अध्यापन गराएका छन्।
तरकारी बेचेर भएको आम्दानी उनले आँखाको उपचारमा खर्चिए पनि सफल भएको छैन । इन्द्रप्रसादका अनुसार आँखाको समस्या नै पहिचान नहुँदा ठूला अस्पताल र नेत्ररोग विषेशज्ञहरूकहाँ पुगे पनि उपचार सफल नभएको हो । इन्द्रप्रसादलाई कामदार खोज्न भौतारिनु पर्दैन ।
कामदार काम खोज्दै घरमै आउँछन् । घरवरपरको २० रोपनी पाखोबारीमा सुन्तला बगैँचा छ । हुर्कँदै गरेका सुन्तला बगैँचाभित्रको जमिनलाई सदुपयोग गरेर अन्तरेबालीको रूपमा बन्दा, काउली र अदुवाखेती गरेका छन्। नजिकै ३० रोपनीमा व्यावसायिक आलुखेती गरेका छन्।
गत वर्ष रु चार लाख मूल्य बराबरको ८० क्विन्टल आलु बिक्री भएको इन्द्रप्रसादले बताए। मौसमी र बेमौसमी तरकारीबाट थप आम्दानी हुन्छ । भँैसी र बाख्रा पनि पालेका छन्। गाउँमै कच्ची सडक पुगेको हुँदा उत्पादन भएको तरकारी बजार पुर्याउन समस्या छैन । फोनमार्फत माग सङ्कलन गरेर बेनी, कुश्मा र बागलुङका व्यापारीलाई तरकारी पठाउछन्। व्यापारीले खातामै पैसा पठाउँछन्।
शारीरिक रूपमा अशक्त भए पनि हिम्मत नहार्ने हो भने सफलता हात पार्न सकिने सन्देश इन्द्रप्रसादले दिनुभएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए। ‘आँट र साहस हुने तथा परिवारका सदस्यले साथ दिने हो भने व्यवसाय र उद्यम गर्न शारीरिक अशक्तता बाधक बन्दैन भन्ने उदाहरण इन्द्रप्रसाद हुन् ’, उनले भने, “गाउँपालिकाले उहाँलाई खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ ।’
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले सुन्तलाखेतीका लागि बिरुवा खरिद, खाडल खन्न, उपकरण खरिद र पोखरी निर्माण गर्न ५० प्रतिशत अनुदान सहयोग गरेको उपाध्यक्ष आचार्यले बताए। रासस
प्रकाशित: १४ कार्तिक २०८२ ०६:५० शुक्रबार





