समयमा वर्षा नभएकाले अन्नको भण्डार तराईमा रोपाइँ हुन सकेको छैन। यतिबेला मधेस प्रदेशमा करिब ५१ प्रतिशत मात्र रोपाइँ भएको छ। जबकि रोपाइँ सकिनुपर्ने बेला हो यो। एकातर्फ पर्याप्त रोपाइँ भएको छैन भने रोपिसकेको खेतमा पनि सिँचाइ सुविधा नहुँदा धाँजा फाटेको छ। मधेस प्रदेशमा सिँचाइको व्यवस्था नभएको र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण किसानले धान रोप्न पाएका छैनन्।
मधेस प्रदेशका सर्लाही, महोत्तरी, सिरहा, धनुषा, सप्तरी जिल्लामा रोपाइँमा समस्या देखिएको कृषि विभागले जनाएको छ। मधेस प्रदेशमा करिब ५१ प्रतिशत मात्र रोपाइँ भएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए। ‘मधेसको धान रोपाइँ हुने तीन लाख ७२ हजार हेक्टरमा अहिलेसम्म एक लाख ९२ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ,’ सञ्जेलले भने, ‘रोपेको खेतमा पनि धाँजा फाटेको छ।’
कृषि विभागका अनुसार सर्लाहीमा ५६ प्रतिशत, महोत्तरीमा ३५, सिरहामा ३८, धनुषामा ३५, सप्तरीमा ३७ प्रतिशत मात्र रोपाइँ भएको छ। मुख्य धान उत्पादन हुने जिल्लामा रोपाइँ नहुँदा किसान चिन्तित छन्। मधेसकै बारा र पर्सामा भने सन्तोषजनक रहेको छ। बारामा ८० प्रतिशत र पर्सामा ८१ प्रतिशत रोपाइँ भएको छ।
वर्षा नहुँदा, भएका नहर पनि राम्रो मर्मत–सम्भार नहुँदा, बोरिङ, डिप ट्युबवेल पनि राम्रोसँग सञ्चालन नहुँदा धान रोप्न नसकिएको हो। ‘बोरिङ र ट्युबवेल सञ्चालन गर्न पनि विद्युत्को समस्या छ,’ सञ्जेलले भने। रोपाइँ ढिलो हुँदा र खेतमा सिँचाइ नहुँदा यो वर्ष धान उत्पादनमा ठुलो गिरावट आउने देखिएको छ। मधेसमा आर्थिक वर्ष २०८१/८२ मा करिब १५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो।
यो वर्ष अहिलेसम्म आधा मात्र रोपाइँ भएको छ। रोपेको खेत पनि धाँजा फाटेकाले उत्पादनमा धेरै गिरावट आउने निश्चित छ। रोपाइँ नभएर खेत बाँझै रहँदा मधेसमा खाद्य संकटको जोखिम निम्तिन सक्ने विज्ञहरूले बताएका छन्।
धान रोपाइँ नहुँदा साना र सीमान्तकृत किसानमा खाद्य संकटको जोखिम बढेको पूर्वकृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले बताएका छन्। ‘धेरै धान उत्पादन हुने तराईमा आधा मात्र रोपाइँ हुनु चिन्ताको विषय हो,’ कार्कीले भने, ‘धानको उत्पादनमा भारी गिरावट आउने भएकाले तराईमा खाद्यान्न अभाव हुन्छ।’
धान रोपाइँ हुन नसके वैकल्पिक खेतीको विषयमा तीनै तहका सरकारले सोच्नुपर्ने कार्कीले बताए। कृषिले मुुलुकको जिडिपीमा पनि ठुलो योगदान रहेकाले त्यसको असर अर्थतन्त्रमा पनि पर्ने उनले बताए। ‘अब पानी परे पनि ६०/६५ प्रतिशत भन्दा बढी रोपाइँ हुने सम्भावना छैन,’ कार्कीले भने, ‘रोपेको ठाउँमा सिँचाइ नहुँदा र बुढो बेर्ना रोप्दा उत्पादनमा पनि गिरावट आउँछ।’
रोपाइँ भएको क्षेत्रमा पनि धाँजा फाटेका कारण उत्पादन प्रभावित हुने सरकारी अधिकारी बताउँछन्। अझै १५/२० गतेसम्म सिँचाइको व्यवस्था गर्न सके आशा गर्ने ठाउँ बाँकी रहेको सरकारी अधिकारीहरूको दाबी छ। सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।
मधेसमा पानी नपरेका कारण सिँचाइलगायत समस्याको अध्ययन गर्न सरकारले सिँचाइ मन्त्रालय सहसचिव सुशील आचार्यको संयोजकत्व टिम खटाएको थियो। आचार्य संयोजकत्वको टोली मधेस प्रदेशका जिल्लामा पुगेर अध्ययन गरेर काठमाडौं फर्केको छ। ‘कसरी पानीको उपलब्धता गराउन सकिन्छ भनेर सरकारलाई लिखित प्रतिवेदन बुझाउँदै छौं,’ कृषि विभागका महानिर्देशक सञ्जेलले भने, ‘१५/२० गतेसम्म पनि पानी परेन भने धानको सट्टा अर्को बाली लगाउने विषयमा सोच्नुपर्छ।’
वैकल्पिक सिँचाइको व्यवस्था गर्नुपर्ने बताए पनि तत्काल त्यो पनि सम्भावना देखिएको छैन। विद्युत् आपूर्ति व्यवस्थित गरे केही ठाउँमा बोरिङ र ट्युबवेल चलाउन सक्ने सम्भावना भने रहेको सरकारी अधिकारी बताउँछन्।
शुक्रबार मधेस प्रदेशको निरीक्षणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा तत्काल समस्या समाधानका लागि पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा त गरेका छन् तर अब बोरिङ जोडेर धान रोपाइँका लागि यो वर्ष सिँचाइको व्यवस्थामा चुनौती रहेको छ।
अब १० दिनभित्र बोरिङ किसानसम्म पु¥याएर जडान गरी पानी तान्ने व्यवस्था गर्न कठिन देखिने सरकारी अधिकारीहरू बताउँछन्। खडेरीको कारण सिँचाइ मात्र नभएर पिउने पानीको पनि समस्या भएको छ। खोला, कुवा, इनार र चापाकल सुक्दै गएपछि मधेसका स्थानीयले सिँचाइसँगै पिउने पानीको संकट झेलेका छन्।
प्रकाशित: ११ श्रावण २०८२ ०६:४३ आइतबार





