१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारको राजस्व बढ्यो

आर्थिक वर्ष २०८१-०८२ मा विराटनगर भन्सार कार्यालयको राजस्व  अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले  बढेको छ । आर्थिक वर्ष ०८१-०८२मा कार्यालयले ३३ अर्ब ६२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।  

अघिल्लो वर्ष ३० अर्ब ३४ करोड रुपैयाँमात्रै राजस्व असुली गरेको थियो । राजस्व संकलनमा बृद्धि भए पनि लक्ष भने हाँसिल गर्न नसकेको कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष विराटनगर भन्सार कार्यालयले ४१ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष लिए पनि ३३ अर्ब ६२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको देखिएको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म जम्मा ७३ अर्ब ४१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने  २ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ बढीको आयात भएको  छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३० अर्ब ८ करोड रुपैयाँ मात्र थियो । यसरी निर्याततर्फ १ सय ३८ प्रतिशतको वृद्धि देखिएको छ । जुन पछिल्लो केही वर्षयताकै उच्च वृद्धिदर हो । यद्यपि आयातको वृद्धिदर पनि २५ प्रतिशतभन्दा बढी देखिएको छ । 

आयातीत बस्तुहरूमा  भटमासको कच्चा तेल, पोलिथिन दाना, एचआर सिट, एलपिजी ग्यास, सूर्यमुखीको कच्चा तेल, शुद्ध फलाम, तारजन्य सामग्री, पेट्रोल, कपर वायर, बटुमिनस कोइला आदि मुख्य रहेकाछन् ।  भटमासको कच्चा तेल २३ करोड लिटरभन्दा बढीको आयातबाट १ अर्ब ४५ करोडभन्दा बढी राजस्व संकलन भएको छ । यसैगरी पोलिथिन दाना बाट  १ अर्ब ७१ करोडभन्दा बढीको राजस्व प्राप्त भएको छ ।

एचआर सिटको आयातबाट १ अर्ब ६९ करोडभन्दा बढीको राजस्व संकलन भएको छ । एलपिजी  ग्यासको आयातबाट १ अर्ब ५८ करोड बराबरको राजस्व संकलन भएको छ । विशेष गरी माघ, फागुन, चैत र असार महिनाहरूमा राजस्व संकलन उच्च देखिएको छ । 

निर्याततर्फ पनि विविधता देखिएको छ । खयर काठ, जुटका बोरा, तयारी कपडा, शुद्ध भटमासको तेल, फर्निचरका सामग्री, फाइबर, कोइला, प्लास्टिकका बनेका झोला, विभिन्न औद्योगिक सामग्री तथा प्रसोधित खाद्यान्नहरू प्रमुख निर्यात सामग्रीमा रहेका छन् । 

प्रकाशित: ६ श्रावण २०८२ १९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App