यो वर्ष सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्क अनुसार वर्षको सुरुवात अर्थात् २०८२ वैशाख २ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
तर, उतारचढावका बीच वर्षको अन्तिम दिन (सोमबार) सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम छ।
यसबिच माघ १५ गते सुनले ऐतिहासिक रेकर्ड बनाउँदै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको उच्चतम विन्दु चुमेको थियो। यो मूल्य नेपाली सुनचाँदी बजारको इतिहासमै हालसम्मकै उच्च हो।
सुनको मूल्यमा यस प्रकारको अस्वाभाविक वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजार र विश्व राजनीति जिम्मेवार रहेको देखिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार विश्वमा बढ्दो भू-राजनीतिक द्वन्द्व, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीति र अमेरिकी डलर कमजोर हुनु लगायतका प्रमुख कारणहरूले गर्दा नेपाली बजारमा सुनको मूल्य अकासिएको हो।
विश्व राजनीतिक तनाव र व्यापारिक अनिश्चितताको समयमा लगानीकर्ताहरूले सुनलाई सबैभन्दा सुरक्षित सम्पत्तिको रूपमा लिने गर्छन्। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढ्न पुग्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापारमा व्यापक ट्यारिफ घोषणा गरेपछि व्यापारिक तनाव सिर्जना भएको महासंघको बुझाइ छ। यसका साथै, अन्तर्राष्ट्रिय बजारमा ब्याजदर घट्ने अपेक्षा र राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भको स्वतन्त्रतामाथि दिएको दबाबलाई सुनको मूल्य वृद्धिका मुख्य कारण मानिएको छ।
मूल्यमा उछाल
वर्षको सुरुवातदेखि नै सुनको मूल्यले उकालो लाग्ने र ओरालो झर्ने क्रम सुरु गरेको थियो। वैशाख महिनामा मूल्यमा तीव्र उतारचढाव देखियो।
वैशाख ९ गते सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड ब्रेक गरेको थियो। त्यसपछि घटबढ हुँदै वैशाखको अन्तिम दिन मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँमा झर्यो।
जेठ महिनाको पहिलो दिन मूल्य घटे पनि त्यसपछिका दिनहरूमा निरन्तर उकालो लाग्दै जेठ मसान्तमा प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भयो।
असार महिनामा भने सुनको मूल्यमा केही गिरावट आयो। ओरालो लाग्ने क्रममा १ लाख ८८ हजार १ सय रुपैयाँसम्म झरेको सुन असारको अन्तिम दिन १ लाख ९२ हजार रुपैयाँमा कारोबार भयो।
साउन महिना सुरु भएसँगै सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाउन थाल्यो। उकालो लागेको मूल्य साउनमा प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँसम्म पुग्यो भने अन्तिम दिन १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भयो।
भदौ महिनामा सुनको मूल्यले दैनिक जसो नै नयाँ रेकर्ड कायम गर्यो। निरन्तरको वृद्धिसँगै भदौको अन्तिम दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुग्यो।
नयाँ रेकर्ड बन्ने यो क्रम असोज महिनामा पनि यथावत् रह्यो र असोज अन्तिम दिन सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा पुगेर रोकियो।
कात्तिक महिनामा भने मूल्य केही ओरालो लागेर महिनाको अन्त्यमा २ लाख ४२ हजार ८ सय रुपैयाँमा झरेको थियो।
मंसिर महिनामा विवाहको लगन सुरु भए पनि मूल्यमा दैनिक नयाँ रेकर्ड बनेका कारण बजारमा व्यापार भने सन्तोषजनक हुन सकेन। मंसिरमा उकालो लागेको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो। पुस महिनामा पनि वृद्धि रोकिएन र अन्तिम दिन सुनको मूल्य २ लाख ७८ हजार रुपैयाँ कायम भयो।
माघ महिना सुन बजारका लागि सबैभन्दा महँगो महिना साबित भयो। दैनिक रेकर्ड ब्रेक गर्दै माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो।
त्यसपछि बिस्तारै ओरालो लागेर माघको अन्तिम दिन ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भयो। फागुन महिनामा फेरि उकालो लागेर ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको मूल्य चैत महिनामा भने निरन्तर ओरालो लाग्दै वर्षको अन्तिम दिन २ लाख ९६ हजार ७ सय रुपैयाँमा झरेको छ।
यसरी समग्र वर्षको समीक्षा गर्दा सुनको मूल्यमा तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ।
मूल्य आकासिँदा आन्तरिक कारोबार न्यून
निरन्तर बढेको मूल्यले नेपालको आन्तरिक सुनचाँदी व्यवसायमा भने नकारात्मक असर पारेको व्यवसायीहरू बताउँछन्। महासंघको तथ्याङ्क अनुसार हाल देशभर २२ हजार सुनचाँदी पसल सञ्चालनमा रहेका छन् भने यस क्षेत्रमा प्रत्यक्ष रूपमा साढे दुई लाख कर्मचारी र कालिगडहरू कार्यरत छन्।
मूल्य अकासिएपछि बजारमा सुनको कारोबार दिनप्रतिदिन घट्दै गएको महासंघले जनाएको छ। कारोबार घटेर २० प्रतिशतमा मात्र सीमित हुँदा सुनचाँदी व्यवसायमा काम गर्ने श्रमिक तथा व्यवसायीलाई ठुलो आर्थिक मार परेको छ।
सरकारले बजारको माग धान्न दैनिक २५ किलो सुन आयात गर्ने व्यवस्था गरेको छ। तर, व्यापार नभएपछि हाल बैंकहरूमा ४० किलो सुन मौज्दात नै रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भन्छन्, ‘खासमा सरकारले नै दैनिक २५ किलो सुन आयात गर्दै आएको छ। तर पुरानै ४० किलो सुन बैंकमा मौज्दात छ। अब विवाहको लगन पनि सुरु हुन्छ, त्यसपछि माग बढ्छ होला। पहिला बैंकमा थन्किएका सुन सकिएपछि मात्रै अरु किन्छौं।’
मूल्य किन ओरालोतर्फ ?
माघ महिनामा उच्चतम विन्दुमा पुगेको सुनको मूल्य फागुन र चैतमा बिस्तारै घट्न थाल्यो। विगतमा युक्रेन र गाजा युद्धका साथै अमेरिका र विभिन्न देशहरूसँगको व्यापार टकरावका बीच सुनको भाउ निकै बढेको थियो। विश्वव्यापी राजनीतिक तनाव बढिरहँदा अमेरिकी डलरप्रतिको विश्वास ह्वात्तै घटेपछि लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनमा आकर्षित भएका थिए।
तर पछिल्लो समय परिस्थितिमा केही परिवर्तन आएको छ। मूल्य घट्नुको कारण सुनाउँदै अध्यक्ष रसाइली भन्छन्, ‘रुस–युक्रेन, इरान–अमेरिका–इजरायल द्वन्द्व, ट्रम्पको विदेश नीति, डलर कमजोर हुँदै गएपछि तेलको मूल्य पनि घटेकाले पनि सुनको मूल्य घट्दै गएको हो।’
नेपालमा कसरी हुन्छ मूल्य निर्धारण ?
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यमै आधारित रहेर निर्धारण हुने गरेको व्यवसायीहरू बताउँछन्।
महासङ्घका पूर्व अध्यक्ष एव सुनचाँदीको भाउ निर्धारण समितिका पूर्व संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, डलरको विनिमय दर र सरकारले लगाउने करको आधारमा नेपालमा अन्तिम मूल्य निर्धारण गरिन्छ।
त्यसैले अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा नेपालमा पनि घट्ने र बढ्दा बढ्ने गर्छ।
कर र मार्जिनको गणित सुनाउँदै महासङ्घका पूर्व अध्यक्ष एव सुनचाँदीको भाउ निर्धारण समितिका पूर्व संयोजक शाक्यले भन्छन्, ‘सुन ल्याउँदा सरकारले १० प्रतिशत कर लगाउँछ। त्यसपछि आयात गर्ने बैंक र थोक विक्रेताहरूको ०.५ र ०.५ प्रतिशत गरी अर्को १ प्रतिशत मार्जिन थपिन्छ।’
यसका साथै नेपाल राष्ट्र बैंकले तोकेको निश्चित कोटाभित्र रही वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्ने गरेका छन्। आयातकर्ता बैंकहरूले लिने अतिरिक्त शुल्कबारे शाक्यले भन्छन्, ‘बैंकले सुन ल्याउँदा प्रिमिअम चार्ज लगाउँछन्। त्यो कहिले ०.२५, कहिले ०.५ त कहिले ०.७ प्रतिशतसम्म पनि हुन्छ। त्यो पनि जोडिन्छ।’
महासङ्घका अध्यक्ष रसाइलीका अनुसार यी कर र मार्जिनबाहेक पनि केही प्रशासनिक तथा व्यवस्थापकीय खर्चहरू सुनको मूल्यमा थपिँदा अन्तर्राष्ट्रिय मूल्य र नेपालको मूल्यमा केही फरक पर्न जान्छ।
उनले भने, ‘अरू केके खर्च भएका छन्, ती चिजहरू निकालेर मूल्य राख्ने हो। अन्तर्राष्ट्रिय मूल्यभन्दा नेपालको मूल्य फरक हुनुको मुख्य कारण चाहिँ भन्सार दर हो।’
नेपालमा सुनचाँदीको दैनिक मूल्य निर्धारण महासङ्घले नै गर्ने भए तापनि यसको समग्र नियमन भने नेपाल राष्ट्र बैंकले गर्दै आएको छ।
मूल्य निर्धारणको अन्तिम प्रक्रियाबारे अध्यक्ष रसाइलीले भने, ‘सुन ल्याउने ब्याङ्कहरूले आफ्नो मार्जिनसमेत जोडेर व्यवसायीहरूलाई भाउ दिइसकेपछि त्यसलाई आधार बनाएर विनियम दरअनुसार तय गर्छौँ।’
प्रकाशित: ३० चैत्र २०८२ १५:०१ सोमबार





