तिहारमा प्रयोग हुने विद्युतीय सामग्री झिलीमिली बत्तीको व्यापार घटेको छ। तिहारको समयमा घरआँगन झिलीमिली बनाउने विद्युतीय सामग्रीको व्यापार घटेको हो। बर्सेनि झिलीमिली बत्तीको व्यापार व्यवसाय घट्दै गइरहेको व्यापारीहरू बताउँछन्।
नयाँ बानेश्वरमा रहेको हनुमान इलेक्ट्रिकल सपका सञ्चालक शशिप्रसाद चौधरी भन्छन्, ‘व्यापार शून्य छ। केही पनि व्यापार छैन। होलसेल पसलतिर व्यापार होला तर हामी जस्तो खुद्रा पसलमा त छैन’।
गत वर्ष त यो बेला अलि–अलि व्यापार भएको बताउँदै उनले यस वर्ष त त्यस्तो व्यापार नभएको दुखेसो गरे।
उनले भने, ‘तिहार नजिकिँदै छ। अब अलि–अलि व्यापार हुन्छ कि भने आस छ’। अनलाइन व्यापारले गर्दा पनि व्यापार व्यवसायमा समस्या आएको उनको भनाइ छ।
नवप्रभात इलेक्ट्रिकलका सञ्चालक प्रभाकर पुरी पनि बजारमा झिलिमिली बत्ती किन्नेहरूको भिडभाड विगत जस्तो नभएको बताउँछन्।
पहिले भन्दा यस वर्ष झिलिमिली बत्तीको व्यापार व्यवसाय न्यून रहेको उनले बताए। उनका अनुसार जेनजी आन्दोलनले गर्दा पनि मानिसमा त्रास सिर्जना भएकाले चाडपर्वलाई उत्साहजनक तवरले नमनाउँदा त्यसको असर व्यापार व्यवसायमा परेको छ।
उनले भने, ‘अहिले देशमा सबै कुराको मूल्य बढिरहेको छ, आर्थिक मन्दीका कारण मानिसहरूसँग पैसा छैन, दैनिकी कसरी चलाउने भन्ने अवस्था छ।’
झिलिमिली बत्ती त मानिसको पहिलो आवश्यकतामा पर्दैन, दोस्रो आवश्यकतामा पर्ने हुँदा मानिसहरूले यस वर्ष झिलिमिली बत्ती कम प्रयोग गरेको पुरी बताउँछन्। बजारका मुख्य शहरहरूमा झिलिमिली बत्ती बाल्न सुरु भए पनि अन्य ठाउँहरूमा भने त्यति चहलपहल नभएको उनले बताए।
उनका अनुसार झिलिमिली बत्ती एकपटक किनेपछि लामो समयसम्म टिक्ने हुनाले पनि अघिल्ला वर्ष किनेका बत्तीहरू बाल्ने गरेका छन्। त्यसले गर्दा पनि पसलमा नयाँ बत्ती किन्नेहरू कम आइरहेका छन्।
घर, आँगन, पसल सजाउने, रमाइलो गर्ने भनेको युवाहरू हुन्, पछिल्लो समय धमाधम युवाहरू विदेश पलायन हुँदा व्यापार बिजनेसले गति लिन नसकेको उनको भनाइ छ।
बिजुली संसारका सञ्चालक श्रीलाल श्रेष्ठले यस वर्ष झिलिमिली बत्तीको व्यापार ७५ प्रतिशतले घटेको बताए। उनले भने, ‘गतवर्ष यतिबेलासम्ममा हामीले सामान बेचेर करिब करिब सकिसकेका हुन्थ्यौं। यस वर्ष भने हालसम्म आधा व्यापार पनि भएको छैन। बजारमा अन्य पसलहरूमा व्यापार भयो भने न रोटेसन हुँदै सबै व्यापार हुने हो।’
कुनै पनि पसलमा राम्रो व्यापार नभएको कारण यसको प्रभाव बिजुली पसलमा पनि देखिएको उनको भनाइ छ।
प्रत्येक वर्ष व्यापार व्यवसाय खस्किँदै गइरहेको उनले बताए। उनका अनुसार आर्थिक मन्दिका कारण कोरोना कालको समयमाभन्दा पनि अहिले व्यापार कम भएको छ।
उनले भने, ‘अघिल्ला वर्षहरूमा दसैं सकिएलगत्तै उपभोक्ताले घर, बगैंचा, कार्यालय, व्यापारिक मललगायतका स्थानमा विभिन्न रङमा बल्ने बत्तीहरू झुन्ड्याएर झिलिमिली पारिसकेका हुन्थे। यस वर्ष भने आर्थिक मन्दीका कारण उपभोक्तामा उत्साह नदेखिएपछि बत्तीको व्यापार पनि कम भएको हो।’
उनका अनुसार चीनसँगको नाकाबाट सहज रूपमा सामान आयात नहुँदा पनि समस्या भइरहेको छ।
उनले धेरै व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्थालाई विचार गर्दै सरकारले आवश्यक नीति लिएर समस्या सम्बोधन गर्नुपर्ने बताए।
नेपाल विद्युतीय व्यवसाय महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले झिलिमिली बत्ती धेरै जस्तो चीनबाटै आयात हुने गरेको बताए। वर्षमा २५ करोडदेखि ३० करोड रुपैयाँसम्मको बत्ती चीनबाट मात्रै आयात हुने गरेको उनले बताए। उनका अनुसार ९५ प्रतिशत जति बत्ती चीनबाट र पाँच प्रतिशत जति बत्ती भारतबाट आयात हुने गरेको छ।
देशभरमा पाँचदेखि सात हजारसम्म विद्युतीय सामान बिक्री गर्ने व्यवसायी रहेको उनको भनाइ छ। अहिले व्यापार व्यावसाय घट्दै गइरहेको बताउँदै उनले राजनीति अस्थिरतालगायत युवा जनशक्ति बाहिर गएकाले पनि व्यापार घट्दै गएको बताए।
उनका अनुसार मानिसहरूको आम्दानीमा कमी आइरहेकाले दैनिक उपभोग्य वस्तुबाहेक अन्य उपभोग्य वस्तुमा खर्च नहुँदा व्यापार व्यवसायमा पनि कमी आइरहेको छ।
‘पहिले साधारण बल्बवाला बत्ती आउँथे, अहिले एलइडी बल्बवाला। ती बत्ती एक वर्षमै बिग्रँदैनन्, त्यसैले झिकेर सुरक्षित राखेपछि अर्को वर्ष पनि त्यही प्रयोग गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले व्यापार बढ्न पाएको छैन।’
बजारमा फरक–फरक खालका झिलिमिली बत्तीहरू फरक–फरक मूल्यमा उपलब्ध छन्। न्यूनतम प्रतिगोटा एक सय ५० देखि पाँच हजार पाँच सय रुपैयाँसम्म पर्ने बत्तीहरू तिहारका लागि आयात हुने गरेको छ।
प्रायः बल्ने–निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैंचा, कार्यालय, बिजनेस मल लगायतको सजावट गर्न यसको अत्यधिक प्रयोग गर्छन्।
पछिल्लो समयमा विभिन्न मूल्यका क्लब (डिस्को) तथा रोटर लाइटहरू पनि तिहारका लागि प्रयोग हुन थालेका छन्। यस्तै देवी–देवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समयमा धेरै हुन्छ। इलेक्ट्रिक दियोवाला बत्ती पनि आउन थालेका छन्।
यसैकारण वर्षैपच्छे तिहारमा यस्ता बत्तीको माग बढिरहेको छ। लोडसेडिङको समस्या समाधान भएकाले पछिल्ला वर्षहरूमा तिहारमा यस्ता बत्तीको माग दोब्बर भएको व्यवसायी बताउँछन्। एक पटक किनेपछि पछिल्ला केही वर्षसम्म त्यही प्रयोग गर्न सकिने भएकाले अब माग नबढ्ने देखिएको छ।
प्रकाशित: ३ कार्तिक २०८२ १०:४१ सोमबार


-600x400.jpg)


