३० कार्तिक २०८२ आइतबार
image/svg+xml ६:१४ पूर्वाह्न
अर्थ

पोखराबाट भारतीय सहरसम्म उडानको पहल गरिदिन व्यावसायीको आग्रह

<br>

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि पर्यटन व्यावसायीले सरकारको पुनः ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखराको टोलीले हालैमात्र प्रधानमन्त्री सहित अर्थमन्त्री र युएईका राजदूतलाई भेटेर नियमित उडानका लागि पहल गरिदिन आग्रह गरेको हो।  

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म सिधा उडानको पहलका लागि अनुरोध गरेका हुन। पोखराबाट भारतीय सहरमा सिधा हवाई उडान संचालन गर्न सकिए ठूलो संख्यामा भारतीय पाहुना सिधै पोखरा आउने व्यावसायीको भनाई छ।  

‘प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरसम्म सिधा उडानको पहल आवश्यक छ,’ व्यावसायीले भनेका छन, ‘सिधा उडान संचालन भएमा यसले पर्यटनमा राहत मिल्नेछ।’

यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालनका लागि आफ्ले सक्दो पहल गर्ने अर्थमन्त्री पौडेलले बताएको होटल संघका केन्द्रिय सदस्य एवं होटल संघ पोखराका सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए।

चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्याउन समेत अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको पराजुलीले जानकारी दिए। यसैगरी संघको टोलीले काठमाडौंस्थित संयुक्त अरव इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखराबाट दुवईसम्म सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो।

सो अवसरमा राजदूत अब्दुल्लाले पोखरा–दुवई उडानका लागि आफूले फ्लाई दुवईसँग प्रस्ताव राख्ने आश्वासन दिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। पोखराको पर्यटन प्रवद्र्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा समेत राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए।  

पछिल्लो केही समयदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु् र ल्हासासम्म उडान भएका छन। तर, चिनियाँ सहरबाहेक पोखराबाट अन्यत्रका कुनैपनि अन्तर्राष्ट्रिय सहरलाई पोखराले सिधा हवाई उडानमार्फत जोड्न सकेको छैन। पर्यटन व्यावसायीले पोखराबाट भारतका विभिन्न सहरमा उडानका लागि बारम्बार सरकारी पदाधिकारीलाई गुहार्दै आएका छन।

अर्थमन्त्रीसँग भेटको क्रममा पोखरा–नयाँपुल सुरुङमार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी मन्त्री पौडेलले संघको टोलीलाई गराएको संघका अध्यक्ष सुवेदीले जानकारी दिए। उक्त मार्गको डीपीआर तयार भइसकेको र चालु बजेटमा केही रकम समेत छुट्टिएको जानकारी पौडेलले गराएको अध्यक्ष सुवेदीले बताए। नारायणगढ बुटवल सडक स्तरोन्नतीको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तिव्रता दिन पनि मन्त्री पौडेलसँग संघको टोलीले आग्रह गरेको थियो।  

प्रकाशित: ११ श्रावण २०८२ १८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App