६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
कार्यालयका प्रवक्ता हृमराज अर्यालका अनुसार आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए।
आयोजनाको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्कासमेत आह्वान भइसकेको प्रवक्ता अर्यालले जानकारी दिए। निर्धारित समयमै विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माण प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
यसैबीच, पत्रकार सम्मेलनमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएका २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी पनि दिइएको छ।
त्यस्तै, निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई रायपरामर्श उपलब्ध गराइएको र सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आएको जनाइएको छ।
प्रवक्ता अर्यालले हेलो सरकारमा पछिल्लो १० दिनमा ३ हजार ५१ वटा गुनासा प्राप्त भएकोमा २ हजार ७ सय ५४ वटा फर्छ्योट गरिएको र २३४ वटा गुनासा सम्बोधन गरिएको पनि जानकारी दिए।
प्रकाशित: ११ मंसिर २०८३ १६:५७ शुक्रबार





