२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

माइतीघरमा किसानको प्रदर्शनपछि कृषिमन्त्रीसँग वार्ता, माग सम्बोधन गर्ने आश्वासन

कृषि उपजको उचित मूल्य नपाएको भन्दै किसानहरूले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उत्पादनको लागतसमेत नउठ्ने गरी बजार मूल्य निर्धारण भएको, बिचौलियाको प्रभाव बढेको र सरकारले किसानका समस्याप्रति बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनपछि कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले आन्दोलनरत किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। मन्त्रालयमा भएको छलफलमा किसानहरूले कृषि उपजको उचित मूल्य निर्धारण, बजार व्यवस्थापन र किसानमैत्री नीति कार्यान्वयनलगायतका माग राखेका थिए।

किसानका गुनासा सुनेपछि मन्त्री चौधरीले उनीहरूको मागप्रति सरकार गम्भीर रहेको बताउँदै समस्याको समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ। उहाँले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न र किसानले भोगिरहेका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

किसानहरूले उत्पादनको मूल्य नपाउँदा खेतीपाती नै संकटमा परेको र कृषि पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको भन्दै सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए।

छलफलपछि किसानका माग सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाउने र सम्बन्धित निकायमार्फत समस्या समाधानका लागि समन्वय गर्ने सहमति भएको कृषि मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ असार २०८३ १८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App