४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

फूलखेतीबाटै मनग्य कमाउँछिन् कैलालीकी सुशीला

फाइल तस्बिर

कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन्।

फार्म दर्ता गरेर दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन्। भाडामा दुई बिघा जग्गा लिएर फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक २० लाख रूपैयाँसम्मको कारोबार हुने गरेको बताइन्।

आम्दानी राम्रै हुन्छ। कामदार लगायत सबै खर्च कटाएर वार्षिक आठ लाख रूपैयाँसम्म बचत हुन्छ। बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र १० लाख रूपैयाँ बराबरको कारोबार भएको उनले बताइन्।

उनले भनिन्, “मूल्य समयअनुसार फरकफरक हुन्छ। फूल प्रतिकिलो एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला ६० देखि एक सय रूपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ।”

उनले भनिन्, “चार जनाको परिवार छ। यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ। बचत पनि राम्रै हुन्छ। स्वरोजगार बनिएको छ।”

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेती सम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारी लगायतका फूल उत्पादन गर्दै आएको बताइन्।

उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताइन्। उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताइन्।

फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताइन्। फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताइन्।

प्रकाशित: ३० कार्तिक २०८२ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App