२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

सुप्रिम सहकारी प्रकरण: रवि र छविको मुद्दामा जिल्लाको मिसिल झिकाउन उच्चको आदेश

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती  रबि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपूर बुटवल इजलासले जिल्ला अदालतको आदेश र सुरुवाती मिसिलहरु झिकाउने आदेश गरेको छ ।

न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले जिल्ला अदालतको आदेशसँगै सुरुवाती मिसिलहरु मगाउने आदेश गरेको हो । सहकारी ठगी मुद्दामा बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसी मुद्दा लड्न पाउँ भनी लामिछाने र जोशीले दिएको निवेदन उपर विहीबार भएको बहसमा मिसिल अपुग भएकाले जिल्ला अदालतबाट झिकाएर साथै राख्न आदेश दिइएको हो ।

छविलाल जोशीका तर्फबाट अधिवक्ताहरु अपूर्व अतिवडा, रोचक जोशी र लामिछानेका तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे, बाबुराम पाण्डे, राजेन्द्र थापा र डा. नारायण खड्काले बहस गरेका थिए । बिहीबारको बहसका क्रममा न्यायाधीशले मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएर मात्रै अर्को पेशी चढ्ने र सुनुवाइ हुने निर्णय सुनाएको अदालतको सूचना शाखाले जनाएको छ ।

यसअघि थुना बाहिरै बसेर मुद्दा लड्न पाउँ भनेर लामिछानेले दिएको निवेदन उपर मिलनकुमार राइ र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीको पनि फाइल पेश गर्न आदेश दिएको थियो । त्यसपछि कात्तिक १३ गतेकालागि पेशी तोकिएको थियो । तर १३ गते जोशीका वकिलहरुले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछाने र जोशी सहितका प्रतिवादीहरुलाइ १० करोड ९९  लाख ३६ हजार रुपैँया सामुहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरीएको छ । सोही मुद्दामा पुर्पक्षकालागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरी बाहिरै बसेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । उनले २ करोड ७४ लाख ८४ हजार रुपैँयाको बैंक जमानत निवेदनको साथमा पेश गरेका थिए । तर जिल्ला अदालतेले उनको निवेदन उपर सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरिदियो ।  

जोशीले पनि त्यती नै बराबरको बिगो  वापतको जमानत पेश गरेका थिए । तर अदालतले प्रतिवादीको हकमा उनीहरुको भागमा कति बिगो कायम हुने भन्ने यकिन नभएकाले रिहा गर्न नमिल्ने भन्ने एकै खालको आदेश गरीदियो । त्यसपछि लामिछानेले उच्चमा निवेदन दर्ता गराएका थिए ।

जोशी र लामिछाने अहिले पुर्वक्षकालागि  कारागारमा छन । लामिछाने नख्खुमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।

प्रकाशित: २० कार्तिक २०८२ २१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App