२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

सिल्भर ट्रयांगलः पोखरा–भरतपुर–लुम्बिनीलाई पर्यटन यात्रामा जोड्ने प्रयास

तीनवटा नगरबीच सहकार्यको सम्झौता

पोखरा, भरतपुर र लुम्बिनीका स्थानीय तहका पदाधिकारीहरु सिल्भर ट्रयांगल रुटको पर्यटन प्रवर्द्धन सम्बन्धि सम्झौता गरेपछि देखाउँदै। तस्बिरः नागरिक

पर्यटकीय राजधानी पोखरा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र चितवनको भरतपुरले पर्यटनको माध्यमबाट एकअर्कासँग सहकार्य गर्नेगरि सम्झौता गरेका छन्। तीनवटा पर्यटकीय गन्तव्यलाई पर्यटन यात्रामा जोड्न सकेमा तीनवटै गन्तव्यमा पर्यटकको आउजाउ बढ्ने र त्यसबाट पर्यटन क्षेत्रले लाभ लिने सरोकारवालाको भनाई छ।  

पोखरा–लुम्बिनी–भरतपुरलाई पर्यटनका दृष्टिकोणले सिल्भर ट्रयांगल नामले पहिचान दिने गरिएको छ। तीनवटै नगरबीच सहकार्य गर्नेगरि त्यहाँका स्थानीयतहले हालै समझदारी गरेका छन्। पोखरामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन यात्रामा सहकार्य गर्नेगरि त्रिपक्षीय समझदारी भएको हो। १२ बुँदे समझदारीमा पर्यटकलाई एउटा सहरबाट अर्को सहर पुग्न सहज हुने गरी कनेक्टिभिटीमा जोड दिइएको छ।

तीनवटा नगरबीच पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदानप्रदान तथा पारस्परिक सहकार्य गर्न सिल्भर ट्रयाङगल सम्बन्धि सम्झौता गरिएको पर्यटन क्षेत्रको भनाई छ। त्रीपक्षीय सम्झौता गरेका स्थानीय तहले आफ्नो वार्षिक नीति, योजना तथा बजेटमा सिल्भर ट्रयाङगलको प्रवर्द्धन र विकासलाई समावेश गर्ने उल्लेख गरेका छन्। त्यस्तै सिल्भर ट्रयाङगल सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष आलोपालो प्रणालीमा तीनै स्थानीय तहले गर्नेछन्। हरेक वर्ष पालैपालो  सिल्भर ट्रयाङगल पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने पनि सम्झौतमा उल्लेख छ।  

त्यसैगरि आवश्यकता अनुसार नियमित रुपमा व्यावसाय–देखि–व्यवसाय (बिटूबी) तथा सरकार–देखि–सरकार (जीटूजी) बैठक तथा सहकार्य सञ्चालन गर्नेपनि सम्झौतामा उल्लेख छ। तीनैवटा पक्षको संयुक्त पहलमा सिल्भर त्रिकोणको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तार अभियान सञ्चालन गर्ने सम्झौतामा उल्लेख गरिएको छ।  

प्रत्येक सहरले अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्य समेट्ने डिजिटल सूचना बोर्ड स्थापना गर्ने, तीनैवटा गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटन प्याकेज विकास गर्ने, संयुक्त पर्यटन प्रचार सामग्री निर्माण तथा वितरण गर्ने, पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने पनि सम्झौतमा उल्लेख छ।

पर्यटन प्रवर्द्धन गर्ने क्रममा सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धनका लागि तीनवटै पक्षले संयुक्त रुपमा स्थानीय, प्रदेश तथा संघ सरकार, नेपाल पर्यटन बोर्ड, विकासका साझेदार संस्था लगायतसँग आवश्यक समन्वय गर्ने, अन्तरप्रदेशीय कनेक्टिभिटीमा विशेष जोड दिने पनि सम्झौतामा उल्लेख गरिएको छ।  

संघीय सरकारले यसअघि पनि यो पर्यटकीय रुटको विकासलाई प्राथमिकता दिएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारले पनि यही रुटको विकास गर्ने गरि प्राथमिकता दिने बताएको छ। व्यवासायीले लामो समयदेखि यो रुटमा व्यक्तिगत पहलमा पाहुना ल्याउने र लैजाने गर्दै आएपनि तीनवटा स्थानीय तहले संयुक्त रुपमा भने सहकार्यमा चाँसो दिएका थिएनन।  

यो सम्झौताले पोखरा, भरतपुर र लुम्बिनीका पर्यटनलाई एउटै सर्किटमा जोडेर अन्तर्राष्ट्रियस्तरमा संयुक्त रुपमा बजारीकरण गर्ने बाटो खोलेको सरोकारवालाको भनाई छ। सम्झौतापछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सिल्भर ट्रयांगलको साझेदारी नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम भएको बताए।

‘पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सर्किटका रुपमा विकास गर्न सकेको खण्डमा त्यसले पर्यटकलाई पनि विविधताको अनुभूति दिनेछ। एकै यात्राका पाहुनाले फरक अनुभूति गर्न पाउनेछन,’ उनले भने, ‘त्यसले नेपाल भित्रिएका विदेशी पाहुनाको बसाई अवधि पनि बढाउन सघाउनेछ।’  

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले भरतपुरको प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई लुम्बिनी र पोखरासँग जोडेर पर्यटन प्रवर्द्धन गर्न सकेमा त्यसले तिनवटै सहरलाई पर्यटनका हिसाबले लाभ दिने बताए। तीनवटै गन्तव्यका व्यावसायी र सरोकारवाला मिलेर पर्यटन प्याकेज निर्माण गरेर लागु गर्न सकेमा प्रभावकारी हुने उनले बताए। ‘एक्लो प्रयासले मात्र सफल हुँदैन। तीनवटै स्थानीय तहले यसका लागि सहकार्य गर्दा पर्यटन क्षेत्रमा पक्कै सफल भईनेछ,’ उनले भने, ‘यसको लाभ स्थानीय तह र सम्बन्धित सहरले मात्र नभई राज्यले नै लिनेछ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका हिसाबले फरक अनुभव लिन खोज्ने पाहुनाका लागि यो गतिलो अवसर भएको बताईन। ‘लुम्बिनीको आध्यात्मिक शान्ति, भरतपुरको वन्यजन्तु र पोखराको साहसिक पर्यटन एकै यात्रामा अनुभव गर्न पाउँदा पाहुना पक्कै पनि खुसी हुनेछन,’ उनले भनिन, ‘पर्यटन क्षेत्रको प्रवर्द्धनमा यो महत्वपूर्ण कदम हो। यसलाई पूर्ण रुपमा कार्यन्वयन गरेमा तीनवटै सहरले पर्यटनबाट अहिले भन्दा बढी लाभ पाउँछन्।’  

पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले नेपालमा मात्र नभई विकसित मुलुकमा पनि फरक सहरलाई जोडेर संयुक्त रुपमा पर्यटन प्रवर्द्धन गर्ने अभ्यास रहेको बताए। ‘फरक फरक अनुभव पाहुनाले यात्राको क्रममा लिन सक्नेछन्। अध्यात्म देखि वनजंगल र साहसिक पर्यटनको हिसाबले फरक गन्तव्य जोड्नेगरि चालिएको यो महत्वपूर्ण कदम हो। यसले पाहुनाको बसाई अवधि र उनीहरुले गर्ने खर्चको आकार बढाउनेछ,’ लामिछानेले भने, ‘अहिलेको बसाई अवधि निकै नै कमजोर छ। तीनवटै सहरमा एकैपटक घुमाउन सकियो भने पाहुनाको बसाई अवधि थपिनेमा आशंका छैन।’  

पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले यो सहकार्यले गन्तव्य जोड्ने बाहेक नेपालका तीनवटा प्रदेशबीचको सहकार्यलाई पनि बलियो बनाउने बताए। एकठाउँ आएका पाहुनालाई अन्य सहरमा पु¥याउन सकियो भने त्यसको लाभ सबैले लिन सक्ने उनले बताए। ‘पाहुनाको चाहना अनुसार गन्तव्यमा लगेर उनीहरुलाई फरक अनुभुति दिलाउन सकियो भने त्यसले फरक चाहनाका पाहुना तान्न पनि सघाउँछ,’ उनले भने। व्यावसायीका अनुसार यो सहकार्यले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सघाउनेछ।

प्रकाशित: २७ जेष्ठ २०८३ १८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App