पर्यटन प्रबर्द्धन र विकासका लागि यहाँको साकेला गाउँपालिकालाई सौन्दर्यकरण गर्ने कार्यमा तीब्रता दिइएको छ । गाउँ विकासको मुख्य पाटो पर्यटनलाई मान्दै साकेलाका विभिन्न प्राकृतिक तथा ऐतिहासिकस्थलहरुको संरक्षण, विकास र प्रबर्द्धन गर्दै त्यसमा कृतिम सौन्दर्यकरण थप्ने काम भईरहेको हो ।
यसका लागि स्वयं गाउँपालिका अध्यक्ष रविप्रकाश राई विगत ३ वर्षयता अविछिन्न रुपमा लाग्दै आएका छन् । गाउँपालिकाको समग्र सौन्दर्यकरण, पहिचान र दिगो विकास गर्न राईले बहुआयामिक विकासका कार्यहरु तीव्रताका साथ अघि बढाउन लागिरहेका छन् । गाउँलाई प्राकृतिक सुन्दरता, साँस्कृतिक मौलिकतासँगै आधुनिक संरचनाको संयोजनमार्फत विकास र प्रबर्द्धनलाई निरन्तरता दिएसँगै डेढवर्षयता साकेलाको चित्र फरक देखिन थालेको छ ।
‘सुसँस्कृत र संबृद्ध साकेला’को नारा लिएर अघि बढेको साकेला पृथक र आकर्षक पहिचान बनाउँदै अग्रगामी यात्रामा अघि बढेको छ । पर्यटक आकर्षणका लागि गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा स्काईवाल्क, अत्याधुनिक बसस्टप, स्वागत द्वारलगायत विभिन्न आकर्षक धार्मिक, साँस्कृतिक चित्रकलाहरू बनाइएको छ । प्रवेशद्वारमै यस्ता आकर्षण अवयवले साकेला छिर्ने जो कोहीलाई छुट्टै आन्दको अनुभूति दिलाउने गरेको छ ।
प्रवेशद्वारदेखि स्थानीय र फरक पहिचान झल्काउने चित्रकलाहरू हरेक सीमा नाकाका भित्ता र पहराहरुमा देख्न सकिन्छ । यस्तो दृष्य गाउँपालिका प्रवेश गर्ने पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै नाकादेखि सुरु भई मुकाम मानेभञ्ज्याङसम्मै निर्माण गरिएको छ । साकेलाको इतिहास, सँस्कृति र सभ्यतालाई जीवन्तरूपमा प्रस्तुत गर्न चित्रकलाहरु बनाइएको हो ।
चित्रकलाबाहेक सडक आसपास र बसस्टपहरुमा स्थानीय भूगोल र वातावरणसँग मेल खाने प्रकृतिमैत्री संरचनाहरू निर्माण गरिएका छन् । यसले गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेख्य परिवर्तन ल्याएको महसुस पर्यटकहरु गर्न सक्छन् । यी सबै कृतिम संरचनाहरुले प्रकृतिसँग संयोजन मात्र गराएको छैन, विकास निर्माण केवल कागजमा सीमित नगरि प्रत्यक्ष अनुभव गर्नेगरि कार्यान्वयन गर्नुपर्छ भन्ने हेक्का सबैलाई गराउँछ । साकेलाको यस्तो शैली अन्य धेरै स्थानीयतहलाई उदाहरण दिने मानक बन्नसक्ने स्थानीय बताउँछन् ।
केहीदिनअघि पहिलोपटक साकेला प्रवेश गरेका सप्तरी हनुमाननगरका भोला चौधरीलाई यो शैली नौलो र अनौठो लाग्यो । व्यापारको सिलसिलामा धेरै पहाडी भेग चाहारिसकेका अधवैंशे चौधरीले साकेलाले पर्यटक आकर्षणको लागि अपनाएको तरिकालाई नौलो मात्र ठानेनन्, मनमोहक र आनन्द दिने माध्यम पनि माने । ‘मेरो पेशा नै डुल्ने घुम्ने हो, धेरै पहाड, तराई, मधेस घुमेको छु’ उनले अनुभव सुनाए ‘तर, साकेला छिर्दै बडो अनौठो र आनन्दित महसुस गरायो । नयाँ मान्छेलाई यो ठाउँ छिर्दा अलग्गै रमाईलो हुनेरहेछ ।’
पछिल्लो समय साकेला घुम्न आउनेहरु पर्यटकीय आकर्षणप्रति मख्ख पर्ने गरेका छन् । यो तरिकाले साकेलालाई अन्य स्थानीयतहभन्दा फरक र अनुकरणीय बनाएको निश्कर्ष उनीहरु सुनाउँछन् । साथी भेट्न साकेला पुगेका ओखलढुङ्गा नेचासल्यानका मनोज राई चित्रकला र संरचनाहरु देखेर दङ्गै परे । ‘साकेलाले पर्यटन प्रबद्र्धनमा धेरै मेहनेत गरेको देखियो’ राईले आफ्नो गाउँपालिकालाई पनि यस्तै बनाउन सुझाए ‘हाम्रोतिरका जनप्रतिनिधिले पनि यस्तै गरे हुन्थ्यो, गाउँ फर्केपछि उनीहरुलाई सुझाव दिन्छु ।’
साकेला आफैमा पर्यटन संभावना बोकेको ऐतिहासिक स्थानीयतह भएको गाउँपालिकाका सूचना अधिकारी डिएम चामलिङ बताउँछन् । कुल जनसङ्ख्याको ४२ प्रतिशत हिस्सा किराती समुदाय बसोबास गर्ने यो गाउँपालिकामा किराती धार्मिक÷साँस्कृतिक तथा ऐतिहासिकस्थल ‘साकेला थान’बाट नामाकरण गरिएको हो । हरेकवर्ष उधौली उभौलीमा टाढाटाढाका भक्तजन र तीर्थयात्रीहरु यहाँ आउने गरेको सूचना अधिकारी राई बताउँछन् ।
त्यसबाहेक धार्मिक ऐतिहासिक धन्नेश्वरी गुफा, सहिदपार्क, चिन्डो आकारको वाबु पोखरी, आकर्षक टेम्के डाँडा, मुन्दुम ट्र्ेलसँग जोडिएको चखेवाभन्ज्याङसम्म सीमा फैलिएको साकेलामा पर्यटकीय आकर्षणका दर्जनौँ स्थानहरु छन् । सूचना अधिकारी राईका अनुसार पछिल्लो दुईवर्षयता निर्मित यी सबै विकास निर्माण र संरचनागत गतिविधिमा अध्यक्ष राईले निकै मेहनेत गरेका छन् । ‘यो डेढदुईवर्षको अवधिमा जे जति परिवर्तन आएको छ, यसमा स्वयं गाउँपालिका अध्यक्ष रविप्रकाश राईको प्रत्यक्ष नेतृत्वमा भएको हो’ सूचना अधिकारी राई भन्छन् ‘अध्यक्षज्यु चोक, गल्ली, नागी र बसस्टपहरुमा चित्र कोर्ने, सरसफाई गर्ने, ठाँटी, फलैचा र बिसाउनीजस्ता गाउँको सौन्दर्यकरण कार्यमा निरन्तर लाग्दै आउनुभएको छ । हरेक दिनजसो केही कर्मचारी साथ लिएर आफै श्रमदान पनि गर्नुहुन्छ ।’
अध्यक्ष नै गाउँपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन निरन्तर सक्रिय भएर मैदान उत्रिएपछि अन्य जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयबासीलाई सकारात्मक ऊर्जा थपिदै साथ सहयोग गर्न खुव जाँगर चल्ने गरेको छ । गाउँपालिकाले विगत एकवर्षयता ‘श्रम साकेला अभियान’को नीति लिएको छ । जनश्रमदानलाई विकासको मुख्य आधार मानेर थालिएको श्रमदान अभियानकै कारण गाउँपालिकाभित्रका बाटाघाटा सफा, व्यवस्थित र सुन्दर भएका छन् भने नागी, डाँडापाखा, चोक र सार्वजनिस्थलहरु आकर्षक बनेका छन् ।
लगातार मेहनेतकै कारण अहिले साकेलालाई खोटाङका १० स्थानीयतहमध्ये अग्रपङ्तिमा उभ्याएको दावी गाउँपालिकाले गरेको छ । गाउँपालिकाभित्रका विभिन्न सार्वजनिक सम्पदाहरूको संरक्षण, धार्मिक तथा पर्यटकीय महत्व बोकेका ठाउँको नियमित सरसफाई, सडक पूर्वाधार विकास र संरचनागत कार्यमा अध्यक्ष राई दिनरात नभनि सक्रिय हुँदै आएका छन् ।
उनको बुझाई छ ‘विकास भनेको केवल भौतिक संरचना मात्र होईन, साँस्कृतिक संरक्षण र सामुदायिक सहभागिता पनि हो भन्ने चेतना छर्नु विकासको अर्को महत्वपूर्ण पाटो हो ।’ यही लक्ष्यका साथ सबैलाई सँस्कार, सँस्कृति, धर्म, परम्परा, सामाजिक सद्भावसँग जोड्दै अघि बढ्नु साकेलाको मुख्य विशेषता बनाउने योजना अध्यक्ष राईको छ ।
उनको यही स्पष्ट नेतृत्वदायी दृष्टिकोण, निरन्तर श्रमदान र योजना र चरणबद्ध विकास निर्माणमा लाग्ने स्वभावका कारण साकेला गाउँपालिका अहिले सुन्दर, सफा र पर्यटकीय सम्भावनायुक्त गन्तव्यको रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन् । अध्यक्ष राईको सक्रिय नेतृत्वले नै साकेलालाई समृद्ध, आकर्षक र नमूना गाउँपालिकामा रूपान्तरण गर्ने स्थानीयको अपेक्षा छ ।
क्याप्सनः साकेला प्रवेशद्वारमा निर्मित चित्रकला र श्रमदानमा खट्दै अध्यक्षलगायत । तस्विरः महेश्वर
प्रकाशित: २९ पुस २०८२ १६:१३ मंगलबार





