२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

पौने दुई अर्ब लगानीमा रोयल टुलिप लक्जरी होटल सञ्चालन

करिब पौने दुई अर्ब रुपैयाँको लगानीमा चितवन रत्ननगर नगरपालिका– ५ जनकौली सामुदायिक वन कार्यालय अगाडि नै केटिएम हस्पिटालिटी ग्रुपले रोयल टुलिप चितवन लक्जरी होटल सञ्चालनमा ल्याएको छ। रिसोर्ट अन्तर्गत १३ वटा एकतल्ले, पाँचवटा दुईतल्ले, तीनवटा तीनतल्ले र एउटा चारतल्ले गरी २२ वटा भिल्ला रहेका छन्। यी भिल्लामा सुइटलगायत विविध सुविधासहितका ६५ कोठा छन्।  

सौराहामा सामान्य गेष्ट हाउसदेखि प्रसिद्ध होटलका चेन होटलहरू धमाधम थपिएका छन्। मन फुकाएर खर्च गर्ने ‘हाई एन्ड’ पर्यटकलाई लक्ष्य गरी सौराहमा लुब्र होटलअन्तर्गत एक सुविधा सम्पन्न पाँच तारे होटल थपिएको छ। विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्सअन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्वबजारमा अझ प्रवद्र्धन गर्न सहयोग पुग्ने बताइएको छ। 

केटिएम हस्पिटालिटी ग्रुपका अध्यक्ष रामेश्वरप्रसाद साहका अनुसार निकुञ्जभित्रका सात वटा रिर्सोटहरू बन्द भएपछि ‘हाई एन्ड’ टुरिष्टहरू आउँनै बन्द भयो। बाहिरबाट आउने पर्यटकलाई फेरि फर्काएर ल्याउने र चितवनको विकासमा टेवा पुर्‍याउने उद्देश्यले पाँचतारे होटल सञ्चालनमा ल्याएको उनले बताए।  

चितवनमा एउटै पनि पाँचतारे होटल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटल मात्र चल्ने र खुल्ने गरेकाले फरक खालको अन्तर्राष्ट्रिय चेन होटल सञ्चालन गर्न आफूले लगानी गरेको उनको भनाइ छ। नेपालको अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन क्षेत्र कोरोना कहरका कारण थला परेको पर्यटनले अब गुणस्तरीय सेवामार्फत विदेशी पर्यटकलाई आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान पुर्‍याउने विश्वास लिइएको साहले बताए।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको मध्यभागमा पर्ने सौराहा भन्ने बित्तिकै वन्यजन्तु अवलोकनका लागि पनि प्रसिद्धि कमाएको ठाउँ हो। यहाँका जंगलमा हात्ती, गैंडा, बाघ, मृग, जरायो, मयुर, चित्तल, विभिन्न प्रजातिका चराचुरुंगी, बँदेललगायतका वन्यजन्तुको साझा बासस्थान पनि हो। 

होटलले स्थानीय उत्पादनको उपयोगलाई प्राथमिकतामा राखेको छ। होटलमा प्रयोग भएका अधिकांश सामग्री उपलब्ध भएसम्म नेपाली नै प्रयोग भएको छ भने कर्मचारी पनि सिनियर लेबलका सीमितबाहेक सबैजसो नेपाली नै छन्। हाल होटलमा ९४ जना कर्मचारीले सेवा दिएका छन् भने हरेक डिपार्टमेन्टमा पाँच/छ जनासम्म इन्टर्न रहेका छन्। 

कलजेमा पढ्ने विद्यार्थीका लागि पनि आफूहरूले रोजगारी सिर्जना गरेको अध्यक्ष साहले बताए। अत्याधुनिक सुविधासहितका कोठाहरूमा नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्री प्रयोग गरी निर्माण भएको उनले बताए। 

होटलका लागि आवश्यक जनशक्ति यहीँबाट उत्पादन हुँदै जाने विश्वास पनि लिएको अध्यक्ष साहको भनाइ छ। होटल परिसरमा क्यासिनोको समेत तयारी भइरहेकाले क्यासिनो सञ्चालनपछि होटलमा भन्दा धेरै कर्मचारीले रोजगारी पाउने अध्यक्ष साहको दाबी छ। 

लोकल कृषकले उत्पादन गरेको सामग्री आफूहरूले खरिद गरिदिने भनेर कृषकहरूसँग समझदारी गरेको उनले बताए। होटलमा प्लास्टिको बोतल प्रयोग नगर्ने भन्दै पूरै सिसाको बोतल प्रयोगमा आइरहेको बताउँदै अध्यक्ष साहले होटलमा हेलिप्याड समेत निर्माण गरिएको बताए। 

होटलमा वाटर भिल्ला, होटल परिसरमित्रै १.८ किलोमिटरको पदयात्रा गर्न सकिने सुविधा, बच्चाहरूको लागि खेल्ने ठाउँ, रेष्टुरेन्ट, जिम, फिटनेस सेन्टर, हेलिप्याड, हेल्थ क्लब, स्विमिङ पुल, पार्किङको सुविधा छ। होटलमा पाँच सय जना जनासम्मको लागि विवाहका पार्टी दिन मिल्ने सुविधा छ।

होटलमा सुपेरियरदेखि मचानसम्मका सुविधा सम्पन्न कोठा छन्। होटलमा रहेका सुपेरियर कोठामा बस्न एक रातको १७ हजार रुपैयाँ लाग्छ भने सबैभन्दा महँगो मचानमा बस्न एक लाख रुपैयाँ लाग्छ। 

मचान तीन तलाको छ। यसको टप फ्लोरमा रहेका कोठामा ग्राहकले रात बिताउन सक्छन्। होटलमा तीन वटा वाटर–भिल्ला छन्। पानीमाथि बनेका यी भिल्लामा बस्न प्रतिरात ७५ हजार रुपैयाँ शुल्क तोकिएको जानकारी होटलले दिएको छ।
होटलमा रहेका कोठाहरूलाई जोडी, परिवार, हानिमुन मनाउन आउने, फुर्सदको सदुपयोग गर्दै रमाउन आउने ग्राहकदेखि ट्राभलरहरूसमेतलाई ध्यान दिँदै बस्ने खाने सुत्ने सुविधा उपलब्ध छ। होटलमा सुपेरियर, डिलक्स, प्रिमियम, पुल भिल्ला, वाटर भिल्ला र मचान हाउस क्विन सुइटका कोठाहरू छन्।

होटलमा सेमिनारको लागि ५० जनासम्मको लागि ध्यान सदन, एक सय २० जनासम्मको लागि ज्ञान सदन र पाँच सय जनासम्मको लागि भेदा सदन छन्। होटलभित्रका संरचनालाई मालिस घर, शिशु कुन्ज, धुनी घरसहितका नेपाली नामबाट परिचित गराइएको छ। जसले होटलमा मौलिकता र नेपालीपनाको झझल्को दिन्छ।

होटलमा पिउने पानीका लागि बोटलिङ प्लान्टसमेत जडान भएको छ। जहाँ होटलको लागि आवश्यक दैनिक पाँच सय बोटल पानी त्यहीँ तयार हुन्छ। होटलमा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरिएको छ। पानीको लागि वातावरण मैत्री प्रविधि अपनाइएको छ भने सिसाको बोटलको प्रयोग हुन्छ।

क्षेत्रीय होटल संघ चितवनका पूर्व अध्यक्ष सुमन घिमिरेले यस क्षेत्रमा एउटा पाँच तारे होटलको आवश्यकता रहेसँगै होटल सञ्चालनमा आउँदा होटलले आफ्नो व्यापार व्यवसायसँगै सौराहकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास लिएको बताए।

सौराहमा आउने पर्यटकले सुविधासम्पन्न महँगो होटलमा बस्न खोज्दा होटल नै नपाइरहेको अवस्थामा यस्तो सुविधा सम्पन्न होटल खुल्दा यसलाई आफूहरूले सकारात्मक तवरले लिएको उनले बताए। सौराह क्षेत्रमा अझै दुई/तीन वटा सुविधा सम्पन्न होटल सञ्चालनमा आउन सकेमा अझै पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उनको भनाइ छ। 

प्रकाशित: ९ मंसिर २०८२ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App