विश्वप्रसिद्ध होटल समूह मेरियट इन्टरनेसनल र सिजी हस्पिटालिटी ग्लोबलबिच नेपालमा दुई नयाँ अल्ट्रा–लक्जरी होटल सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ स्थापना गरिनेछ । दुवै होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । होटलको लागत करिब १० करोड अमेरिकी डलर रहेको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै कम्पनीका उच्च अधिकारीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। परियोजनाले मेरियटको अन्तर्राष्ट्रिय पोर्टफोलियोमा करिब ३०० नयाँ ‘की’ थप्नेछ भने रिट्ज–कार्लटन र वेस्टिनजस्ता विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम ब्रान्ड पहिलो पटक नेपाली बजारमा प्रवेश गर्नेछन्।
यी होटलहरू चौधरी ग्रुपअन्तर्गतको सिजी हस्पिटालिटी ग्लोबल, आइइजी ग्रुप, आइजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुने जनाइएको छ । सम्झौताले मेरियट इन्टरनेसनल र सिजी हस्पिटालिटीबिचको सहकार्यलाई थप विस्तार गर्दै नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
सम्झौतापछि मेरियट इन्टरनेसनलका एसिया प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेननले नेपाल उच्च सम्भावना भएको पर्यटन बजार भएको जनाउँदै विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्न चौधरी ग्रुपसँगको सहकार्यलाई थप सुदृढ बनाउन पाएकोमा खुसी व्यक्त गरे । उनका अनुसार यी परियोजनाले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछन्।
सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले मेरियटसँगको सहकार्य नेपाल र दक्षिण एसियाको हस्पिटालिटी उद्योगलाई नयाँ उचाइमा पु¥याउने यात्राको अर्को महत्त्वपूर्ण अध्याय भएको बताए । उनले परियोजनाले अन्तर्राष्ट्रिय स्तरका सेवा, स्थानीय संस्कृति र दिगो विकासलाई एकसाथ अघि बढाउने विश्वास व्यक्त गरे।
ठमेल क्षेत्रमा निर्माण हुने द रिट्ज–कार्लटन काठमाडौंमा १५० कोठा रहनेछन्, जसमध्ये ३० वटा सुइट हुनेछन् । होटलमा पाँचवटा रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, रिट्ज–कार्लटन स्पा तथा एक हजार १०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको सम्मेलन तथा कार्यक्रमस्थल रहनेछ । होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलोमिटर दूरीमा रहनेछ।
यस्तै, द वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट रहनेछन् । होटलमा तीनवटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा, रूफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक तथा बैंक्वेट सुविधा रहने जनाइएको छ । वेस्टिन ब्रान्डले स्वास्थ्य र सन्तुलित जीवनशैलीमा केन्द्रित सेवा प्रदान गर्नेछ।
प्रकाशित: २५ जेष्ठ २०८३ ०९:१६ सोमबार



-600x400.jpg)

