ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउन बागलुङ बजार झरेका थिइन्। गाउँबाट बजार झरेकी रिममायालाई सुरुमा घुलमिल हुन गाह्रो भएको थियो। बिहान-बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपर्थ्यो। दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन।
आफू बस्ने ठाउँ वरपरका स्थानीयले व्यावसायिक तरकारीखेती गरेको देखेपछि उनलाई बारीमा काम गर्ने इच्छा जाग्यो। त्यसपछि जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्न थालिन्। अहिले उनी बजारमा उत्कृष्ट महिला किसानका रूपमा परिचित छन्। बागलुङ नगरपालिका–४ ओढारचौरमा बुढाथोकीले तरकारीखेती सुरु गरेको चार वर्ष भयो। बजार नजिकै तरकारी फलाउने हुँदा बिक्री नहुने समस्या छैन। उनको बारीमा बाह्रै महिना तरकारी फल्छन्।
बुढाथोकीले तरकारीसँगै पोहोर सालदेखि च्याउखेती पनि सुरु गरेका छिन्। विसं २०७५ मा श्रीमान् र छोराछोरीसँग बागलुङ झरेकी बुढाथोकीले बागलुङ नगरपालिका–४ मा १५ रोपनी जमिन वार्षिक रु ८३ हजार भाडा तिर्नेगरी लिजमा लिएर चारवटा च्याउ र तीनवटा टमाटरका टनेल निर्माण गरेकी छन्। च्याउ, टमाटर, लौका, घिरौला, बोडी, सिमी, खुर्सानी, धनियाँ, साग, भेन्टा र विभिन्न तरकारीसँगै बुढाथोकीको बारीमा मसलाजन्य अदुवा र बेसार पनि उत्पादन हुन्छ। अहिलेसम्म रु २५ लाखभन्दा बढी लगानी गरेको उनले बताइन्।
बुढाथोकीले भनिन्, ‘सुरुमा दिन कटाउन गाह्रो भएको थियो, अहिले दिनभर बारीमा काम गर्दा कति छिटै साँझ पर्छ पत्तै हुँदैन, यत्तिकै बस्नुभन्दा केही उद्यम गर्दा राम्रो हुन्छ भन्ने हिसाबले तरकारीखेती गर्न थाले, अहिले राम्रो हुँदै गएको छ, बजार यहीँ भएको हुँदा बिक्री वितरणमा समस्या छैन, कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्छन्।’
बुढाथोकीले तरकारीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको सुनाइन्। तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गरेकी छन्। मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिएको उनले जानकारी दिइन। रिममायालाई श्रीमान् कपिल र छोराछोरीले पनि समय-समयमा सघाउँछन्।
उनले तरकारीखेती विस्तार र व्यवस्थापन गर्न समय-समयमा विभिन्न निकायबाट सहयोग पनि प्राप्त गरेकी छन्। यसै वर्ष उद्यमशीलता कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट च्याउखेतीका लागि टनेल व्यवस्थापन गर्न रु चार लाख सहयोग प्राप्त गरेकी थिइन्। अनुदान पाएपछि उत्पादन वृद्धि गर्न सहज भएको उनको भनाइ छ। तरकारीको बजार व्यवस्थापनमा समस्या नभए पनि पानीको अभाव हुँदा उत्पादन बढाउन समस्या भएको उनले सुनाइन्।
अघिल्लो वर्ष कृषि ज्ञान केन्द्रबाट दुईवटा टमाटर टनेल र यस वर्ष मसला बाली व्यवस्थापनका लागि प्रविधि सहयोग प्राप्त गरेको उनले सुनाइन्। बागलुङ नगरपालिकाबाट समेत तीन वर्ष पहिले सहयोग प्राप्त गरेको बुढाथोकीको भनाइ छ। सिँचाइका लागि पानीको सुविधा नहुँदा समस्या भोग्नुपरेको उनले गुनासो गरिन्।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले किसानलाई प्रोत्साहन गर्न अनुदानसहित प्राविधिक सहयोग गर्दै आएको बताए। समय-समयमा फार्ममै पुगेर परामर्श प्रदान गर्ने गरेको उनको भनाइ छ। बजार क्षेत्रमै राम्रो तरकारी उत्पादक किसानको छवि बनाएकी बुढाथोकीलाई आवश्यक तालिम र उपकरण पनि दिने प्रमुख सिलवालले बताए। पछिल्लो समय बागलुङमा धेरै किसान तरकारीखेतीतर्फ आकर्षित भइरहेको उनी बताउँछन्। यहाँ उत्पादन भएको तरकारीले बजार नपाउने समस्या नभएको सिलवालको भनाइ छ। रासस
प्रकाशित: २ कार्तिक २०८२ ०७:०१ आइतबार





