१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा लाग्ने अतिरिक्त ढुवानी खर्च उपभोक्ताबाट लिन आग्रह

'एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिन्डर २ हजार १६५ कायम गर्नू'

नेपाल एलपी ग्यास उद्योग संघले बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा लाग्ने अतिरिक्त ढुवानी खर्च उपभोक्ताबाट लिन आग्रह गरेको छ।

संघका अध्यक्ष दिवानबहादुर चन्दद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण पृथ्वी राजमार्गको केही खण्डमा सडक कटान भई यातायात अवरुद्ध हुँदा काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यासको बिक्री–वितरण चुनौतीपूर्ण बनेको उल्लेख छ।

नेपाल आयल निगम र संघबीच भएको छलफलपछि काठमाडौं उपत्यकामा बजारीकरण गरिरहेका ग्यास उद्योगलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषालगायतका क्षेत्रमा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं ल्याउन दिने निर्णय भएको संघले जनाएको छ।

संघका अनुसार हेटौंडाबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा थप ढुवानी खर्च लाग्ने भएकाले निगमले तोकेको मूल्यमा प्रतिशिलिन्डर रु. १०५.३५ थप गरी बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिन्डर रु. २ हजार १६५.३५ भन्दा बढी नलिन संघले ग्यास उद्योगहरूलाई आग्रह गरेको छ। निगमले तोकेको मूल्य प्रतिसिलिन्डर रु. २ हजार ६०० रहेको र त्यसमा अतिरिक्त ढुवानी खर्च जोडिएको संघले जनाएको छ।

संघले विषम परिस्थितिको फाइदा उठाउँदै नयाँ सिलिन्डरको बजारीकरण नगर्न–नगराउन समेत ग्यास उद्योगी तथा विक्रेताहरूलाई अनुरोध गरेको छ। साथै उपभोक्तालाई पनि तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न आग्रह गरिएको छ।

प्रकाशित: १९ भाद्र २०८३ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App