३० असार २०८३ मंगलबार
image/svg+xml
अर्थ

रेमिटेन्स पौने ६ खर्ब बढ्यो

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब ८० करोड

मुलुको अर्थतन्त्रका आन्तरिक गतिविधि अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ। वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषण (रेमिटेन्स) ले मुलुकको अर्थतन्त्रलाई धानेको छ। पोहोरको तुलनामा रेमिटेन्स पौने ६ खर्ब रुपैयाँले बढेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (जेठ मसान्तसम्म) विप्रेषण आप्रवाहले नयाँ कीर्तिमान कायम गर्दै २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ। रेमिटेन्स आप्रवाह पोहोरको सोही अवधिको तुलनामा पाँच खर्ब ८६ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ११ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्रै वृद्धि भएको थियो।

गत आवको ११ महिनामा विप्रेषण आप्रवाह १५ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ थियो। एक वर्षमा करिब पाँच खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढी थप विप्रेषण भित्रिएको छ। जेठमा मात्रै दुई खर्ब तीन अर्ब ८९ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको जेठमा यस्तो रकम एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ थियो। विप्रेषण वृद्धिले विदेशी मुद्रा सञ्चिति बढाउन, आयात धान्न र बाह्य क्षेत्र स्थायित्व कायम गर्न महŒवपूर्ण योगदान दिएको छ। पछिल्लो समय नेपालको अर्थतन्त्रको प्रमुख आधार नै विप्रेषण बनेको छ।

विप्रेषण वृद्धिको प्रत्यक्ष प्रभाव विदेशी विनिमय सञ्चितिमा देखिएको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ जेठ मसान्तमा ४०.३ प्रतिशतले बढेर ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा विदेशी मुद्रा सञ्चिति १० खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँले बढेको हो।

अमेरिकी डलरमा समेत सञ्चिति बढेको छ। २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति २०८३ जेठ मसान्तमा २४ अर्ब ६८ करोड अमेरिकी डलर पुगेको छ। एक वर्षको अवधिमा डलर सञ्चिति २६.५ प्रतिशतले बढेको हो। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तको २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँबाट बढेर यो वर्षको जेठ मसान्तमा ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यसैगरी बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति दुई खर्ब ६३ अर्ब चार करोड रुपैयाँबाट बढेर चार खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

विदेशी विनिमय सञ्चिति पर्याप्ततामा पनि सुधार देखिएको छ। राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको छ। गत वर्षको तुलनामा सञ्चितिको अनुपात पनि बढेको छ। जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.५ प्रतिशत पुगेको छ। गत असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत थियो।

बाह्य क्षेत्र बलियो हुँदा नेपालको चालु खाता र शोधनान्तर स्थिति पनि उल्लेख्य बचतमा छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता आठ खर्ब दुई अर्ब ६ करोड रुपैयाँले बचतमा छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता बचत तीन खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ मात्रै थियो। अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा दुई अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता चालु आवमा बढेर पाँच अर्ब ५३ करोड डलर बचतमा पुगेको छ। त्यस्तै शोधनान्तर स्थिति पनि नौ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा छ। गत वर्षको सोही अवधिमा यस्तो बचत चार खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ थियो।

रेमिटेन्स बढे पनि वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको संख्या भने घटेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ६७ हजार २११ छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या चार लाख ५२ हजार ३२४ थियो। अर्थात् नयाँ श्रम स्वीकृति लिनेको संख्या एक वर्षमा ८५ हजारभन्दा बढीले घटेको छ। तर पुन: श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा पुन: श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५५ हजार सात सय ३५ पुगेको छ। गत वर्ष यस्तो संख्या तीन लाख ८ हजार ६७ थियो।

रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्रका सूचकले अर्थतन्त्रलाई राहत दिए पनि आन्तरिक अर्थतन्त्र भने अझै चुनौतीपूर्ण अवस्थामा छ। निजी क्षेत्रको लगानी विस्तार, उद्योग व्यवसायको विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा अपेक्षित सुधार हुन सकेको छैन। आयातमा आधारित उपभोग र वैदेशिक आम्दानीमा निर्भर आर्थिक संरचनाले दीर्घकालीन आर्थिक स्थायित्वमा प्रश्न उठ्दै आएको छ। रेमिटेन्सले तत्कालका लागि अर्थतन्त्रलाई धानेको भए पनि चुनौती कायम छन्। स्रोतलाई उत्पादन, उद्योग, कृषि र रोजगारी सिर्जनामा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने सरकारको दायित्व छ। नेपालको अर्थतन्त्रको बाह्य आधार बलियो बनेको अवस्थामा आन्तरिक संरचनागत सुधार गर्न सके मात्र आर्थिक वृद्धि दिगो बन्ने विज्ञहरू बताउँछन्।

मुद्रास्फीति बढ्यो

बाह्य सूचक सकारात्मक रहे पनि मूल्यवृद्धिको दबाब भने देखिएको छ। २०८३ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। गत वर्षको जेठमा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत छ। तर ११ महिनाको औसत मुद्रास्फीति भने घटेको छ। चालु आवको ११ महिनामा औसत मुद्रास्फीति २.८९ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यो ४.२४ प्रतिशत थियो।

प्रकाशित: ३० असार २०८३ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App