विकासे विभागहरूले पूर्वाधार निर्माणसँग सम्बन्धित कामको नेतृत्व गर्दै आए पनि सहरी विकास तथा भवन निर्माण विभागको प्रगति भने निकै कमजोर देखिएको छ।
चालु आव २०८१/८२ को असार २५ गतेसम्म विभागको प्रगति ५१.२२ प्रतिशत मात्र छ। यसअघिका वर्षहरूलाई हेर्दा आव २०८०/८१ मा विभागको प्रगति ७०.२८ प्रतिशत थियो। यसैगरी आव २०७९/८० मा ५९ प्रतिशत, आव २०७८/७९ मा ६९.७६ तथा आव २०७७/७८ मा विभागको प्रगति ७८.७१ प्रतिशत पुगेको थियो। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भवन विभागको प्रगति बढाउन सुरुदेखि नै चासो राखेका थिए।
यस विषयमा उनले मन्त्रालयमा उच्च पदस्थ कर्मचारीहरूसँग पटक–पटक बैठक गरेका थिए। विभागको प्रगति नभएकोमा उनले कर्मचारीहरूसँग आक्रोश पोखेका थिए। गत जेठको पहिलो साता उच्च पदस्थ कर्मचारीहरूसँग भेट गरी तीन दिनभित्र प्रगति बढाउने गरी कार्ययोजना पेस गर्न सिंहले विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि विभागीय प्रमुखहरूले मन्त्रीसमक्ष कार्ययोजना पेस गरेका थिए। कार्ययोजना पेस भएपछि पनि मन्त्रालयको प्रगतिमा खासै सुधार हुन सकेन। गत जेठ ५ गतेसम्म विभागको प्रगति २९ प्रतिशत थियो। दुई महिनामा विभागको प्रगति २९ बाट ५१ प्रतिशत पुगेको छ।
सहरी विकास तथा भवन निर्माण विभाग कमजोर प्रगति गर्ने अड्डामा दरिएको भए पनि प्रमुख तीन विकासे अड्डाहरू (सडक विभाग, भवन विभाग र खानेपानी विभाग) को प्रगति विवरण हेर्दा यस वर्ष सबैभन्दा बढी प्रगति खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको पाइएको छ।
खानेपानी विभागका उपमहानिर्देशक राजेन्द्र सापकोटाका अनुसार विभागले यस वर्ष गरेको प्रगति इतिहासमै सबैभन्दा बढी हो। उनका अनुसार आव २०८१/८२ मा खानेपानीको वित्तीय प्रगति ८० प्रतिशत नाघेको छ। ‘यो भनेको इतिहासमै सबैभन्दा बढी प्रगति हो। यस्तो प्रगति यसअघिका वर्षहरूमा कहिले पनि भएको थिएन।’
विगतका वर्षहरूमा खानेपानी विभागको प्रगति कमजोर हुने गथ्र्यो। अघिल्लो वर्ष आव २०८०/८१ मा विभागको प्रगति जम्मा ६३ प्रतिशत मात्र थियो। विभाग मातहतका देशभरिका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरू छन्। तीमध्ये म्याग्दी, इलाम र जुम्ला आयोजना कार्यालयले अन्यको तुलनामा बढी प्रगति गरेको विभागको भनाइ छ।
जनकपुर आयोजना कार्यालयले भने सबैभन्दा कमजोर प्रगति गरेको छ। उपमहानिर्देशक सापकोटाले भने, ‘प्रगति बढाउन हामीले सुरुदेखि नै मेहनत गरेका छौं। यस वर्ष खानेपानीका नयाँ ८० वटा आयोजनाहरूको काम अघि बढाएका छौं। पुराना आयोजना पनि पूरा गर्न प्रयास ग¥यौं।’
यस वर्ष सडक विभागले पनि पोहारभन्दा बढी प्रगति गरेको छ। चालु आव सकिनै लाग्दा गत जेठमा विभागको नेतृत्व परिवर्तन गरिएको थियो। विभागका महानिर्देशक डा. विजय जैशीका अनुसार असार २५ गतेसम्म विभागको प्रगति ७६ प्रतिशत नाघेको छ। असार मसान्त सकिँदासम्म प्रगति अझै बढ्न सक्ने अनुमान उनले गरे। ‘यस वर्ष प्रगति बढाउन हामीले धेरै मेहनत गरेका छौं। सडक निर्माणको कामलाई तीव्रता दियांै। प्रगति बढाउन म आफैं सक्रिय भएर लागें’, जैशीले भने।
विभागको प्रगति आव २०८०/८१ मा ७० प्रतिशत हाराहारी थियो। आर्थिक वर्ष सकिनै लाग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागको नेतृत्व फेरेको थियो। यस वर्ष पनि त्यो परम्परा कायमै रह्यो। मन्त्रालयले पोहर सालझैं यस वर्ष पनि सडक विभागको प्रगति बढाउन नेतृत्व फेरेको दाबी गरेको छ।
गत जेठको पहिलो सातासम्म सडक विभागको प्रगति ४२ प्रतिशत पुगेको थियो। दुई महिनामा विभागको प्रगति ४२ प्रतिशतबाट ७६ प्रतिशत पुग्नु सकारात्मक विषय भएको विभागका उच्चपदस्थ कर्मचारीहरू बताउँछन्।
विभागअन्तर्गत देशभरि चार वटा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र ३३ वटा सडक डिभिजन कार्यालय रहेका छन्। यसैगरी आठ वटा हेभी इक्विपमेन्ट डिभिजन, आठ वटा मेकानिकल कार्यालय र एक यान्त्रिक तालिम केन्द्र कार्यरत छन्। संगठन संरचना अनुसार विभाग मातहतका पाँच मुख्य महाशाखा छन्। चालु आवमा विभागको बजेट एक खर्ब १७ अर्ब रुपैयाँ रहेको छ।
प्रकाशित: २७ असार २०८२ ०८:१६ शुक्रबार





