घर जग्गा कारोबारबाट पुस महिनामा मात्रै पाँच अर्ब १७ करोड राजस्व संकलन भएको छ।
भूमि व्यवस्थापन विभागका आइटी अधिकृत बलराम काफ्लेका अनुसार यो रकम चालु आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा उच्च हो। ‘मंसिर महिनाको तुलनामा पुस महिनामा ६.७ प्रतिशतले घर जग्गा कारोरबारबाट राजस्व संकलनमा वृद्धि भएको पाइएको छ, ‘काफ्लेले भने, ‘जब कि मंसिर महिनामा घर जग्गा कारोबारबाट चार अर्ब ८४ करोड २१ लाख राजस्व संकलन भएको पाइएको छ।’
काफ्लेका अनुसार पुसमा देशभरिका मालपोत कार्यालयहरूमा एक लाख ६२ हजार आठ सय ७७ वटा घरजग्गा सम्बन्धी कुल कारोबार भएका छन्।
विभागका कर्मचारीहरूका अनुसार जेन–जी आन्दोलनपछि सुस्ताउँदै गएको घरजग्गाको कारोबार मंसिर लागेपछि ह्वात्तै बढेको छ। गत कात्तिकको तुलनामा मंसिर महिनामा घरजग्गा कारोबार ३०१ प्रतिशतले वृद्धि भएको छ।
विभागका अनुसार देशभरिका १३५ वटा मालपोत कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा गत कात्तिक १ देखि १५ गतेसम्म घरजग्गासम्बन्धी २० हजार ५३९ वटा कारोबार भएकोमा मंसिर १ देखि १५ गतेसम्म यो संख्या बढेर ८२ हजार ४२७ पुगेको छ।
विभागले हरेक महिना घर जग्गा कारोबारको विवरण वेबसाइटमा राख्छ। तथ्यांकअनुसार गत साउन १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा भदौ १ देखि १५ गतेसम्म १६ प्रतिशले बढेको छ।
भदौ १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा असोज १ देखि १५ गतेसम्मको कारोबारमा भने ४० प्रतिशतले कमी आएको छ। त्यस्तै असोज १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा कात्तिक १ देखि १५ गतेसम्मको कारोबारमा पनि ३७ प्रतिशतले कमी देखिएको छ। ‘मंसिर लाग्नेबित्तिकै कारोबार ह्वात्तै बढेको पाइएको छ’, काफ्लेले भने।
घरजग्गा कारोबार बढेसँगै सम्बन्धित व्यवसायी पनि उत्साहित भएका छन्। सरकारको राजस्व पनि बढेको छ। विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा कारोबार निकै निराशाजनक थियो। भदौमा केही सुधार देखिए पनि असोज र कात्तिकमा सुधार हुन सकेन। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार जेन–जी आन्दोलनका क्रममा २२ वटा मालपोत तथा १४ वटा नापी कार्यालयमा आगजानी तथा तोडफोड भएको थियो।
जसमध्ये पाँच वटा मालपोत कार्यालय पूर्ण र १७ वटा आशिंक रूपमा क्षति भएका थिए। आगजानी भएका नापी कार्यालयमध्ये आठ वटा पूर्ण रूपमा र ६ वटा आशिंक रूपमा क्षति भएका थिए। आगजनी तथा तोडफोडबाट क्षति भएका मालपोत तथा नापी कार्यालयहरू सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ।
विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०८०/८१ को साउन महिनामा भएको घरजग्गा कारोबारको तुलनामा आव २०८२/८३ को सोही अवधिमा कारोबार घटेको छ।
गत आवमा साउनमा देशभरि एक लाख २७ हजार दुई सय ६ वटा जग्गासम्बन्धी कारोबार भएका थिए। चालु आवको साउनमा भने एक लाख चार हजार दुई सय १८ वटा मात्र कारोबार भएको छ। अघिल्लो अवको साउनको तुलनामा चालु आवको साउनमा २० प्रतिशतले जग्गाको कारोबार घटेको यसबाट देखिन्छ।करिब पाँच सय स्थानीय तहले अझै पनि जग्गाको वर्गीकरण गरेका छैनन्।
जग्गा वर्गीकरण नभएका स्थानीय तहमा कित्ता काटमा कडाइ गरिएको छ। यति हुँदाहुँदै पनि मंसिर लागेपछि घरजग्गासम्बन्धी कारोबार बढ्नु सुखद् विषय भएको मन्त्रालयका कर्मचारी बताउँछन्। साउनमा बैंकबाट ऋण लिने प्रक्रिया अलि लामो हुन्छ।
बैंकहरूले असार महिनामा कारोबार टुंग्याउने भएकाले साउनमा नयाँ प्रक्रिया सुरु हुन्छ। साउनबाट प्रक्रिया सुरु गरेपछि भदौमा ऋण पाउने सम्भावना हुन्छ। भदौमा भएको जेन–जी आन्दोलनपछि ऋण लिने प्रक्रियामा अवरोध उत्पन्न भयो। त्यसैले साउन, भदौ र असोज महिनामा घरजाग्गासम्बन्धी कारोबार घटेको हुन सक्ने विभागका कर्मचारीको अनुमान छ।
असोज र कात्तिकमा ठुला पर्वका कारण सार्वजनिक बिदा धेरै भएकाले कारोबार घटेको अनुमान उनीहरूको छ। विभागका अनुसार समग्रमा अहिले देशमा महिला जग्गाधानीको संख्या ४४ लाख ८३ हजार पाँच सय ३१ छ। यो भनेको ३९ प्रतिशत हो। सहरी क्षेत्रमा भने महिला जग्गाधनीको प्रतिशत ५० प्रतिशत हाराहारीमा पुगेको छ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा पुरुष र महिलाका नाममा जग्गासम्बन्धी कारोबार करिब–करिब बराबर भएको देखिन्छ। आव २०८०/८१ मा जग्गा कारोबारमा जोडिएका महिलाको संख्या चार लाख दुई सय ४१ र पुरुषको संख्या चार लाख तीन हजार चार सय ५१ पुगेको थियो।
देशभरि तीन करोड २८ लाख ४७ हजार ६३२ कित्ता जग्गा छन्। जसमध्ये पुरुषका नाममा दुई करोड २० लाख २४ हजार १७० र महिलाका नाममा ९७ लाख ६१ हजार सात सय ९५ कित्ता छन्।
प्रकाशित: ६ माघ २०८२ ०९:०९ मंगलबार





