२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

सिँचाइ नपुग्दा रोपाइँ गर्न समस्या, आधाभन्दा बढी खेत बाँझै

फाइल तस्बिर

असार १५ गते सबैतिर धान दिवस मनाइरहेका छन् । किसानका लागि यो समय मानो रोपेर मुरी फलाउने हो । यस वर्ष सुदूरपश्चिममा अझै मनसुन नभित्रिएका कारण खडेरीले अधिकांश किसान रोपाइँ गर्न नपाएर समस्यामा छन् । जेनतेन पानीको जोहो गरेर रोपाइँ गरेका किसानहरूको पनि रोपेको धान सुक्न थालेको छ । किसानहरू आकाश हेरेर वर्षाको पर्खाइमा बसेका छन् ।

अन्न भण्डार मानिने धान उत्पादनको पकेट जिल्लाका रूपमा रहेका कैलाली र कञ्चनपुरमा पनि अत्यधिक गर्मी र पानी नपरेका कारण अधिकांश खेत रोपाइँ हुन नसकेर बाँझै छन् ।

यसैगरी खडेरीका कारण पहाडी ७ जिल्लामा पनि आधाभन्दा बढी खेतमा किसानले रोपाइँ गर्न सकेका छैनन् ।

खडेरीले बाह्रै महिना पानी बगिरहने खोला–नाला पनि सुकेका छन् ।

“अहिलेसम्म पानी नपरेर खडेरीले खेतमा रोपाइँ भएको छैन,” किसान शेरबहादुर चौधरीले भने, “धान दिवस भने पनि हामीलाई धान रोप्न नपाएर कुनै खुसी छैन, चिन्ता मात्र छ ।”

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निमित्त प्रमुख टिकेन्द्र कुँश्मीले सुदूरपश्चिममा यस वर्ष पानी नपरेकाले विगतको तुलनामा मध्य असारसम्म कम रोपाइँ भएको बताएका छन् । विगतमा मध्य असारसम्म आधाभन्दा बढी धानखेतमा रोपाइँ भइसक्थ्यो । यस वर्ष ४९.८० प्रतिशत मात्र रोपाइँ भएको उनको दाबी छ ।

कैलाली र कञ्चनपुरमा स्यालो ट्युबवेल, बोरिङ र पम्पसेटबाट रोपाइँ भएका ठाउँमा रोपेको धान पनि सुक्न थालेको किसानले बताएका छन् । अत्यधिक गर्मी र पानी नपरेर खडेरीले बोरिङमा पनि पानी घटेको उनीहरू बताउँछन् ।

विगतका वर्षमा पम्पसेटबाट खोलाको पानी तानेर रोपाइँ गर्ने किसानले पनि यस वर्ष अधिकांश खोला–नाला सुकेकाले रोपाइँ गर्न नपाएको बताएका छन् । स्यालो ट्युबवेल, बोरिङ र पम्पसेटमा खडेरीले पानी घटेको छ ।

पानी नपर्दा रोपाइँका लागि राखेको धानको बेर्ना जोगाउन पनि मुस्किल भएको किसानको दुःखेसो छ ।

सुदूरपश्चिम प्रदेशमा करिब १ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा आधाजति खेतमा अझै सिँचाइ नपुग्दा आकाशको पानीकै भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ । कृषिप्रधान देश भनिए पनि किसानहरू आवश्यक सिँचाइको अभावले समयमा धानखेती गर्न नपाएर समस्यामा छन् । समयमा रोपाइँ हुन नसक्दा धान उत्पादन पनि घट्ने गरेको विज्ञहरू बताउँछन् ।

प्रकाशित: १५ असार २०८३ १९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App