जिल्लाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ।
गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ६० लाखको लागतमा भण्डार निर्माण भएको हो। प्रारम्भमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण एक सय टन क्षमताको भण्डार निर्माण गरिएको चापाकोट–८ का वडाध्यक्ष टोपलाल न्यौपानेले जानकारी दिए।
विशेषगरी व्यावसायिकरूपमा आलु उत्पादन हुने रत्नपुरमा शीत भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन्। अब आलु भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा र पुतलीबजारसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। एक बोरा आलु ती भण्डार केन्द्रमा पुर्याउँदा किसानले रु ५०० सम्म खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि अन्त्य भएको छ।
प्रकाशित: २५ श्रावण २०८३ ११:०१ सोमबार





