यूरोपियन र अमेरिकी पाहुना भित्रिनमा मध्यपूर्वको तनाव बाधक बनेको बेला पोखरालाई भने भारतीय पाहुनाले साथ दिएका छन्। पोखराका अधिकांश होटलमा अहिले भारतीय पाहुना छन्। भारतीय पाहुनाको आगमन बढ्दा मध्यमदेखि उच्चवर्ग सम्मका होटललाई लाभ पुगेको छ। पोखरामा आन्तरिक पछिको आगमन आकार भारतीय पाहुनाको बढि हुने गरेको पनि व्यावसायीको भनाई छ।
व्यावसायीका अनुसार यो बेला भारतीय सहरमा गर्मी बढ्ने हुँदा गर्मी छल्नका लागि अघिल्ला वर्ष पनि यो सिजनमा यस्तै संख्यामा पोखरामा भारतीय पाहुना आउने गर्दथे। अहिले पनि भारतीय पाहुनाको आगमन सन्तोषजनक रहेको उनीहरुको भनाई छ। पोखराको पर्यटनले आन्तरिक पाहुनापछि भारतीय पाहुनाबाट बढि लाभ लिएको पर्यटन क्षेत्रका जानकारहरुको भनाई छ।
पर्यटन बोर्डका अनुसार नेपालमा हरेक महिना हवाई माध्यमबाट भित्रिने विदेशी पाहुना मध्ये २५ प्रतिशत हाराहारीमा भारतीय पाहुना हुने गर्छन। तर, पोखराका हकमा भने त्यो आकार अझै बढि हुने गरेको छ। भारतीय पाहुनाका लागि पोखरा नजिक र सहजताको गन्तव्य भएकोले पनि आगमनको आकार बढि रहेको बोर्डका अधिकारी बताउँछन्।
पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने भन्छन्, ‘पोखराले भारतीय पर्यटनबाट पर्याप्त लाभ लिएको छ। यतिबेला त झनै बढी भारतीय पाहुना पोखरामा छन। अहिले पोखराका अधिकांश होटलमा भारतीय पाहुनाको बाहुल्यता छ।’ उनका अनुसार पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा ५० प्रतिशत हाराहारीमा रहँदा त्यसपछिको हिस्सा भारतीय पाहुनाले ओगट्ने गरेको छ।
‘अहिले पनि पोखराको पर्यटनको कम्तिमा ३५ प्रतिशत हिस्सा भारतीय पर्यटनले लिएको छ। यो सिजनमा त झनै बढि भारतीय पाहुना आउँछन,’ उनले भने, ‘कोरोना भाइरस संक्रमणपछि भारतीयको नेपाल आगमन ह्वात्तै बढेको हो। त्यो आगमन त्यसपछि घटेको छैन। कहिलेकाँहीका घटनाक्रमले निश्चित समयका लागि आगमन प्रभावित भएपनि त्यो क्षणिक हुने गरेको छ।’
पोखरासम्मको आगमन सहज भएको, बाटो छोटो रहेको, स्थलमार्गबाट पनि आउजाउ गर्न सकिने भएकोले पोखरामा भारतीयको आगमन बढिरहेको उनले बताए। ‘मुक्तिनाथ जान चाहने भारतीयका लागि पोखरा प्रवेशद्वार नै बन्यो। त्यसबाहेक उखरमाउलो गर्मी छल्नका लागि आउनेको संख्या अधिक रहेको छ,’ उनले भने, ‘पोखराका होटल देखि पर्यटन आवद्ध सबैखाले व्यावसायीले लाभ लिएका छन्।’ छोटो अवधिका बिदामा पनि आउजाउ गर्न सहज भएकोले पोखराले भारतीय पाहुना बढि पाउने गरेको उनले बताए।
पछिल्लो समय चिनियाँ पाहुना आगमन सोचेजस्तो नभएको बेला पोखराले भारतीय पाहुनबाट बढि लाभ पाएको उनले बताए। ‘भारतीय पाहुनाको त्यही आगमनलाई देखेर नै पर्यटन बोर्ड र पोखरा क्षेत्रका व्यावसायीले पनि भारतीय सहरमा प्रवर्द्धनका कार्यक्रम निरन्तर गरिरहेका छन,’ लामिछानेले भने, ‘चलिए पोखरा’ पोखरा अभियानले भारतीय पाहुनालाइ पोखरा भित्र्याउन सहज भएको छ।’ चिनियाँ पाहुनाको आगमन कमजोर बनेको बेला भारतीय भित्रिँदा व्यावसायलाई साथ मिलेको उनले सुनाए।
यहाँका पर्यटन व्यावसायीले भारतीय पर्यटकलाई लक्षित गर्दै भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान चलाएर भारतीय पाहुनालाई पोखरामा बोलाउने गरेका छन्। अहिले अमेरिकी र यूरोपियन मुलका पाहुनाको आगमन कमजोर बनेको बेला भारतीय पाहुनाले गर्दा यहाँको पर्यटन क्षेत्र चलायमान बनेका पनि लामिछानेले बताए।
‘नजिकको दूरी भएकोले निजी सवारीमा घुम्न आउने भारतीय समूह धेरै छन। परिवारका सदस्य नै घुम्न आउने पनि पर्याप्त भेटिन्छन,’ उनले भने, ‘नेपाल प्रवेश गरेको पाँचघण्टामै पोखरा आउन सकिने भएकोले पनि पोखरालाई भारतीय पाहुना भित्र्याउन सहज भएको हो।’
पर्यटन व्यासायी पनि पछिल्लो समय सबैखाले पर्यटन क्षेत्रलाई भारतीय पाहुनाले लाभ दिएको बताउँछन। ‘अहिले सानातिना देखि मध्यमस्तरसम्मका होटलले समेत भारतीय पाहुनाको साथ पाएका छन्,’ होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डेले भने, ‘भारतीय पाहुना पर्यटन व्यावसाय धान्ने बलियो आधार बनिसकेको छ।’ उनका अनुसार पोखरा मात्र नभई सौराहाका होटलमा पनि भारतीय पाहुना पर्याप्त छन्।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि पोखराले यो सिजनमा भारतीय पाहुनाबाट पर्याप्त लाभ लिएको बताउँछन्। ‘नयाँवर्षका बेला देखि नै पोखरामा भारतीय पाहुना भित्रिन थालेका थिए। त्यो आकार अहिले पनि उत्तिकै छ। पोखराले यो पटक भारतीय पाहुनाबाट पर्याप्त फाइदा लिएको छ,’ उनले भने।
यो बेला तेश्रो मुलुकका विदेशीको नेपाल घुमघामको सिजन हो। तर, मध्यपूर्वका मुलुकमा निम्तिएको तनावका कारण यो बेला यूरोपियन र अमेरिकी पाहुना भित्रिन पाएका थिएनन। पदयाात्राको यो सिजनमा आउने पनि रोकिएका थिए। कतिपय पाहुना बीचबाटै फर्किएका थिए। ‘आन्तरिक र भारतीय पाहुनाले गर्दा योपटक नयाँवर्षको सेरोफेरोमा पोखराले पर्याप्त पाहुना पाएको हो। खास यो बेला अमेरिकी र यूरोपियन मुलका पाहुना आउने सिजन हो। तर, मध्यपूर्वको तनावले पाहुना रोकिए,’ उनले भने, ‘तर, भारतीय पाहुनाबाट भने पोखरा र आसपासका क्षेत्रले पर्याप्त लाभ लिन सकेको छ।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोम थापा पनि भारतीय पाहुनाको आगमन यो पटक उत्साहजनक रहेको बताउँछन्। ‘भारतीय पाहुना पनि आउन नपाउने हो भने पोखराको पर्यटन क्षेत्र धराशायी हुन्थ्यो। तर, भारतीय पाहुनाले पर्याप्त साथ दिए,’ उनले भने, ‘अझै केही दिन भारतीय पाहुनाको आगमन राम्रो रहन्छ। भारतीय सहरमा गर्मी हुने भएकोले पनि भारतीय पाहुना यो बेला पोखरा आउन चाहन्छन।’ पोखरा भित्रिएका भारतीय पाहुना आसपासका ग्रामीण क्षेत्रमा पनि घुमघामका लागि जान थालेपछि अहिले सबैतिरका पर्यटकीय गन्तव्यले पाहुना पाएको उनले बताए।
प्रकाशित: ५ वैशाख २०८३ १७:४० शनिबार





