नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विगतका गलत नीतिगत व्यवस्थाले ब्याजदर सस्तो हुँदा पनि ऋण लिन उद्योगी व्यवसायीले आँट गर्न नसकेको बताएका छन्। सोमबार चेम्बरअफ कमर्स मोरङको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटनसत्रमा अध्यक्ष अग्रवालले ऋणको ब्याज सस्तो हुँदा पनि उद्योगी व्यवसायीले ऋण लिएर उद्योग सञ्चालन गर्न आँट नगरेको बताएका हुन्।
उनले विगतमा राष्ट्र बैंकको गलत नीतिका कारण ऋणको ब्याजदर १७/१८ प्रतिशतसम्म पुगेको बताए। ६–७ प्रतिशत ब्याजदरमा ऋण लिने तर केही वर्षमै ब्याजदर दोब्बरभन्दा बढी पुग्ने गरेका कारण ऋण लिनसमेत डराउनुपर्ने अवस्था रहेको अग्रवालको भनाइ छ। उनले भने, ‘सस्तोमा ऋण लिएर उद्योग खोल्यो, उद्योगले उत्पादन थाल्दा नथाल्दै ब्याजदर आकाशिएर ऋण तिर्नै गााह्रो हुने भएकाले नेपालमा ऋण लिन पनि उद्योगी व्यवसायी डराईरहेका छन्।’
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बजारमा माग सृजना हुन नसकिरहेको बताए। उनले बजारमा माग नहुँदा हाल उद्योगहरूले क्षमताको ५० देखि ६० प्रतिशत मात्रै उत्पादन गरिरहेको बताए। सरकारको पुँजीगत खर्च न्यून हुँदा पनि बजार प्रभावित भइरहेको राउतको भनाइ छ। राउतले चोरी पैठारी नियन्त्रण नभई नेपालको व्यापार फष्टाउन नसक्ने स्पष्ट पारे।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले कोशी प्रदेशमा सोचे जसरी उद्योगको विकास गर्न नसकेको बताएका छन्। उनले विराटनगर आउँदा बाटामा विस्कुटको बास्ना आउने गरेकोमा अहिले आउन छाडेको भन्दै नयाँ उद्योग थप्नुको साटो पुरानो पनि जोगाउन नसकेको अवस्था रहेको धारणा राखे। उनले कोशी प्रदेश सरकारले पर्यटन र कृषिलाई विषेश प्राथमिकतामा राखेको बताए। कोशी प्रदेशमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहेको उनको भनाइ छ।
विराटनगरमा भारतर्फ किनमेल गर्न जाने गरेका कारण व्यवसाय सुकेको गुनासो बारम्बार आइरहेको भन्दै उनले आफैँ भारतीय बजारमा किनमेल गर्न जाने अनि गुनासो पनि आफैँ गर्ने प्रवृत्ति ठीक नभएको बताए।
उनले कोशी प्रदेशमा व्यवसायीक वातावरण तयार पार्नका लागि प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सबैखालको सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा विराटनगरका न्यूरो अस्पताल, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, श्रीराम आयल, क्वालिटी रिफाइन गरी लगायतलाई सम्मान गरिएको थियो। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ।
प्रकाशित: २० श्रावण २०८२ ०८:०३ मंगलबार





