अन्नको भण्डार मधेस प्रदेशमा अहिलेसम्म औसतमा ४.३६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। मधेसका जिल्लाहरूमा यो सिजनमा तीन लाख ८२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने कार्यक्रम रहे पनि हालसम्म ४.३६ प्रतिशत अर्थात् १६ हजार सात सय हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको बताइएको छ। मधेसका जिल्लाहरूमा किसानहरूले चैती, भदैया र अगहनी प्रजातिका धानहरू लगाउने गरेका छन्।
खेतखेतमा सिँचाइको व्यवस्था नहुनु, चाहिने बेलामा आवश्यकताअनुसार मलखाद नपाउनु र आकाशे पानीका भरमा किसानहरूले धान रोपाइँ गर्दै आएका छन्। यसपालि सिँचाइ, मलको अभाव र आकाशे पानीका भरमा अलि ढिलो गरी धान रोपाइँ सुरु गरिएको मधेस प्रदेशका कृषि विकास निर्देशानालय नक्टाझिज धनुषाका प्रमुख जितेन्द्र यादवले बताए। उनका अनुसार असारको १२ गतेसम्म पर्सा र रौतहटमा धान रोपाइँ सुरु भएको छैन।
पर्सामा ५३ हजार एक सय ३० हेक्टरमा धान खेती हुन्छ भने रौतहटमा ३५ हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिने रौतहटमा अहिलेसम्म रोपाइँ नै सुरु नभएको बताइएको छ। त्यहाँ पनि अहिलेसम्म रोपाइँ सुरु नगरिएको कृषि विकास निर्देशनालय नक्टाझिज धनुषको तथ्यांकले देखाएको छ। महोत्तरीमा ८ र बारामा ७ प्रतिशत रोपाइँ गरिएको जानकारी आएको उनले बताए। असार १५ गतेपछि मात्रै दिनदिनै धानको रोपाइँ गर्ने क्षेत्रफल बढेर जाने उनले बताए।
सप्तरीमा धान खेती गरिने क्षेत्रफल ६८ हजार एक सय ५० हेक्टर रहेकोमा ५ प्रतिशत अर्थात् तीन हजार चार सय हेक्टरमा मात्र रोपाइँ भएको छ। सिरहामा ५४ हजार हेक्टरमा धान खेती हुन्छ। त्यहाँ दुई हजार सात सय हेक्टरमा मात्र रोपाइँ भएको छ। धनुषामा धान खेती गरिने ४२ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म तीन हजार ५९ हेक्टरमा धान बाली लगाइएको छ। ४० हजार चार सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिने महोत्तरीमा अहिलेसम्म तीन हजार दुई सय ६१ हेक्टरमा मात्र रोपाइँ भएको छ। सर्लाहीमा ४२ हजार नौ सय ९४ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। त्यमध्ये एक हजार ३६ हेक्टरमा धान रोपिसकिएको छ। त्यसैगरी ४५ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गरिने बारामा तीन हजार दुई सय एक हेक्टरमा मात्र धान लगाउने काम सम्पन्न भएको छ।
बारा बेलहियाका किसान अश्रफी साहले गत वर्ष असार १२ गतेसम्म आफूले लगाउने भदैया धान रोपिसकेको बताए। यसपालि भदैया धानका लागि मलको व्यवस्था हुन नसकेका कारण र वर्षा पनि नभएका कारण रोपाइँमा ढिलाइ भइरहेको उनले बताए।
परिवारमा भएको लगभग तीन बिघा धान खेतीका लागि रोपाइँकै दिन युरिया तीन बोरा र डिएपी तीन बोराको अवश्यकता पर्ने गरे पनि अहिलेसम्म एक बोराको पनि जोहो हुन नसकेको साहले बताए। सरकारले अनुदानमा उपलब्ध गराउने मलको प्रतीक्षामा आफू रहेको उनले बताए।
गत वर्ष पर्सामा ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीबाट एक लाख ७२ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन गरिएको थियो। बारामा ४५ हजार एक सय हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीबाट एक लाख ७८ हजार सात सय १० मेट्रिक टन धान उत्पादन गरिएको थियो।
रौतहटमा गत वर्ष एक लाख २७ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो। त्यहाँ ४० हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो। सर्लाहीमा ४९ हजार चार सय ९० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीबाट एक लाख ३७ हजार ६ सय ६७ मेट्रिक टन धान उत्पादन गरिएको थियो। महोत्तरीमा २४ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीबाट ७६ हजार ६ सय ६७ मेट्रिक टन धान उत्पादन गरिएको थियो।
प्रकाशित: १३ असार २०८३ ०८:४१ शनिबार





